झापा । झापामा ६ बालबालिकासहित ६६ जना कुष्ठरोगीका नयाँ बिरामी फेला परेका छन् । चालू आर्थिक वर्षको साउनदेखि पुससम्ममा सो संख्यामा नयाँ कुष्ठरोगी फेला परेका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका कुष्ठरोग ‘फोकल पर्सन’ वीरेन्द्र दासका अनुसार १५ पालिकामध्ये सबैभन्दा बढी भद्रपुरमा ११ नयाँ कुष्ठरोगी फेला परेका छन् ।
कनकाई नगरपालिका, मेचीनगर, बुद्धशान्ति र अर्जुनधारामा एक–एक, शिवसताक्षीमा सात, कमलमा तीन, दमकमा १०, गौरादह र गौरीगञ्जमा पाँच–पाँच, झापा गाउँपालिका र बाह्रदशीमा दुई–दुई, बिर्तामोडमा ६, हल्दिबारीमा चार तथा कचनकवलमा आठ नयाँ कुष्ठरोगी फेला परेका छन् ।
आर्थिक वर्ष २०७९–८० मा एक सय ६० तथा आव २०८०–८१ मा एक सय २२ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । जिल्लामा हात्तीपाइले रोगको संक्रमण समेत उच्च रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटी बताउँछन् । जिल्लामा हाल हात्तीपाइले रोगीको संख्या करिब दुई हजार दुई सय रहेको उहाँले बताउनुभयो ।
प्रादेशिक अस्पताल भद्रपुर र दमक अस्पतालमा हात्तीपाइले रोगको निःशुल्क उपचार हुँदै आएको छ । प्रादेशिक अस्पताल भद्रपुरका डा सुजन काफ्लेले आर्थिक वर्ष २०७९–८० देखि अस्पतालमा हात्तीपाइले रोगको उपचारका लागि छुट्टै बहिरंग (ओपिडी) सेवा सुरु भएको बताए ।
‘हात्तीपाइले रोगको उपचारका लागि सरकारले वार्षिक रु दुई लाख उपलब्ध गराउने गरेको छ’, उनले भने । “बिरामीलाई यातायात खर्च दिन्छौँ, रकम पर्याप्त हुँदैन, विपन्न वर्गका धेरै बिरामी छन्, आर्थिक अभावले उनीहरु उपचार गराउन आउँदैनन्’, डा काफ्लेले भने ।
प्रतिक्रिया