पर्वत । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका पर्वतको मोदी गाउँपालिका–४ लेसपारका २११ घरधुरीमा खानेपानी बिस्तार भएसँगै स्थानीयवासी खुसी भएका छन् । पर्यटकीय गाउँको रूपमा रहेको लेसपारमा गाउँ नजिकै खानेपानीको स्रोत भएर पनि सहज रूपमा खानेपानी नपाउँदा समस्या झेल्दै आएका थिए । कादुरी एग्रिकल्चर एड एसोसियट्स ब्रिटिस गोर्खाज नेपालको सहयोगमा त्यहाँका २११ घरधुरी, १ सामुदायिक विद्यालय र ४ वटा सामुदायिक भवनमा धारा बिस्तार गरिएको हो । काम सुरु भएको ६ महिनामै योजना सम्पन्न भएसँगै मंगलबार योजनाको उद्घाटन सम्पन्न भएको छ ।
खानेपानी योजना १ करोड ३६ लाख ५८ हजार ५६० रुपैयाँको लागतमा सम्पन्न भएको आयोजनाका व्यवस्थापक बुद्ध पुनले जानकारी दिए । जसमध्ये १९ लाख ७१ हजार ९०० रुपैयाँ बराबरको स्थानीयले जनश्रमदान गरेका छन् भने संस्थामार्फत १ करोड १६ लाख ८६ हजार ६६० रुपैयाँ खर्चिएको पुनले बताए ।
स्थानीयवासी तथा पूर्व गाविस अध्यक्ष नरसिंह पुनका अनुसार खानेपानी बिस्तारका लागि २ वटा इन्टेक ट्यांकी, २ वटा फिल्टर ट्यांकी, १ वितरण चेम्बर, ५ वटा रिजर्भ ट्यांकी निर्माण गरिएको छ । बस्तीभन्दा माथि रहेको जंगलका लाटाखर्क र सिस्नेरा गरी २ वटा मुहानबाट पानी ल्याइएको छ । कुल ६ हजार ७६२ मिटर पाइपलाइनमार्फत पानी वितरण गरिएको पुनले जानकारी दिए ।
योजनाको कादुरी च्यारिटेबल फाउन्डेसन हङकङका डाइरेक्टर पिटर पउल डि ग्रेट र मोदी गाउँपालिका पर्वतका अध्यक्ष हिरादेवी शर्माले संयुक्त रूपमा उद्घाटन गरे । कार्यक्रममा बोल्दै कादुरी एग्रिकल्चर एड एसोसिएसन नेपालका डाइरेक्टर कर्णेल एन्ड्रिउ मिल्जले लेसपारका स्थानीयवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन पाउँदा खुसी लागेको बताए । उनले कादुरीले नेपालका दूरदराजमा रहेका जनताका लागि स्वच्छ खानेपानी, झोलुंगे पुल र स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको बताए ।
कार्यक्रममा बोल्दै कादुरी एग्रिकल्चर एड एसोसिएन नेपालका प्राविधिक निर्देशक डा.नारायण गुरुङले लेसपारबासीको एकताका कारण ६ महिनामा गुणस्तरीय हिसाबले योजना सम्पन्न भएकोमा प्रशंसा गरे । सोही अवसरमा मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले स्थानीय तहसँग सीमित साधन र स्रोतका कारण ठूला योजना सञ्चालन नभएको र कादुरीमार्फत १ घर १ धारा सञ्चालन हुँदा गाउँपालिकालाई समेत सहयोग भएको बताए ।
घरघरमै खानेपानी सुविधा उपलब्ध भएपछि पानीका लागि खोला, कुवा र खोल्सामा धाउनुपर्ने स्थानीयको बाध्यता हटेको लेसपार १ घर १ धारा खानेपानी उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर पुनले बताए । स्थानीयले खानेपानी उपभोगका लागि मात्र नभएर व्यावसायिक तरकारी खेतीमा प्रयोग गर्दै आएका छन् ।
वर्षाैंदेखि खानेपानीको जोहो गर्न सास्ती खेप्दै आएका स्थानीयवासीको दैनिकीमै परिवर्तन आएको उनले बताए । मगर समुदायको मात्र बसोबास रहेको लेसपार पछिल्लो समय पर्यटकीय गाउँको रूपमा विकास हुँदै गएको छ । अन्नपूर्ण चक्रिय पदमार्गको वैकल्पिक मार्गका रूपमा विकास भएको नयाँपुल–देउपुर–लप्सीबोट–देउराली–लेसपार हुँदै पर्यटक पर्वतको जलजलादेखि म्याग्दीको नागी, पुनहिललगायतका ठाउँमा जानका लागि यो मार्ग प्रयोग गर्दै आएका छन् ।
प्रतिक्रिया