प्रतिनिधिसभाको बैठकमा ६ वटा अध्यादेश पेश भए

बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन

काठमाडौं । प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश भएका छन् । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गरे ।

सेवाग्राहीलाई छिटो, छरितो सेवा दिने र सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनका लागि कतिपय ऐनका प्रावधान तत्काल संशोधन गर्नुपर्ने आवश्यक रहेकाले अध्यादेशमार्फत् ती थ्यस्थाहरू संशोधन गर्नुपरेको उनको भनाइ छ ।

त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ संसदमा पेश गरेका छन्।

आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गरेका हुन् ।

बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन

प्रतिनिधिसभाले नियमावली अनुसार सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको नाम अनुमोदन गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको नामलाई सभाले स्वीकृत गरेको थियो । सभाले सांसदहरु ईश्वरीदेवी न्यौपाने, अमृतादेवी अग्रहरी, चन्दा कार्की, दुर्गा राई, बुद्धिमान तामाङ, रामकृष्ण यादव, हेमराज राईको नाम अनुमोदन गरेको हो ।

प्रतिक्रिया