सहिदको सपनामाथि निरन्तर बेइमानी

हरेक वर्ष १६ माघमा सहिद दिवस मनाउने गरिन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानको शब्द कोषमा उल्लेख भएअनुसार ‘सहिद’ भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति जीवन बलिदान दिने व्यक्तिलाई बुझिन्छ । छोटो अर्थमा भन्नुपर्दा लोकहितका लागि आफ्नो जीवन बलिदान दिने महामनालाई सहिद भनिन्छ । हाम्रो देश नेपाल अस्तित्वमा आए यता लोकहितका लागि आफ्नो जीवन बलिदान दिनेहरू को को थिए होलान् ? कुनै लेखाजोखा छैन । यी सबैको संझनामा सहिद दिवस मनाइन्छ । १९९७ माघ १० देखि १६ गतेसम्मको घटनालाई मानक बनाएर सहिद दिवस मनाउने गरिएको छ । नेपालमा जनअधिकार बहालीका लागि संगठित विद्रोह १९९३ सालमा नेपाल प्रजापरिषद् नामक राजनीतिक पार्टी स्थापनापछि आरम्भ भएको हो ।
प्रजापरिषदमार्फत जनअधिकार बहालीका लागि संघर्ष गर्नेमध्ये शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गंगालाल श्रेष्ठलाई १९९७ माघ १० देखि १६ गतेसम्म राणा सरकारद्वारा फाँसी दिइयो । राणाशासनको अन्त्यपछि त्यसैको स्मृतिमा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । हुन त राणाविरुद्ध संघर्ष गर्नेक्रममा १९२२ सालमा अछामका बाँकावीर शाह तथा १९३३ सालमा गोरखाका लखन थापामगरले पनि शहादत प्राप्त गरेका थिए । तर यो विद्रोह संगठित थिएन ।

जसका कारण सजिलै दबाउन तत्कालीन शासकहरू सफल भए । १९९७ सालमा भएको विद्रोह भने संगठित थियो । राणाशासन हटाएपछि जनताले आफ्ना लागि आफैँ शासन व्यवस्था निर्माण गर्ने मार्गचित्रका साथ यो विद्रोह भएको थियो । यही विद्रोहको जगमा नेपाली कांग्रेसले २००७ सालको जनक्रान्ति सफल गरेको हो । त्यति मात्रै होइन, त्यस पछिका सबै उपलव्धीको जग भनेकै १९९७ सालको विद्रोह हो ।

सहिद भनेको राज्यद्वारा दिइने अत्यान्त ठूलो सम्मान हो । आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा छौँ । यो शासन व्यवस्था स्थापनाको अवस्थासम्म मुलुकलाई ल्याइपुर्याउन धेरैको योगदान छ । कसैले राजनीतिकदल स्थापना गरेर योगदान पुर्याएका छन् । कसैले समाजमा चेतना फैलाएर योगदान पुर्याएका छन् । कसैले हतियार उठाएर योगदान पुर्याएका छन् । जनतालाई अधिकार सम्पन्न बनाउने संघर्षमा धेरैले आफ्नो प्राणको बलिदान गरेका छन् ।

यो संख्या निकै ठूलो छ । तर व्यक्तिगत स्वार्थसिद्धी गर्ने क्रममा मारिनेहरूलाई समेत सहिदको सूचीमा सामेल गराएर बास्तविक सहिदहरूको हुर्मत लिइएको चर्चालाई पनि नजरअन्दाज गर्न मिल्दैन । आफ्नो निजी स्वार्थका क्रममा मारिएकाहरूलाई पनि राजनीतिक दाउपेचका आधारमा सहिद घोषणा गरिदिने विकृति मुलुकमा बढेर गएको छ । को बास्तविक सहिद हुन् ? कसलाई राजनीतिक दाउपेचका आधारमा सहिद घोषणा गरिएको हो ? भन्ने भेउ नयाँ पुस्ताले पाउन छाडेका कारण सहिद शब्दकै अवमूल्यन भएको छ । सहिद दिवसको गरिमा घटेको छ ।

१९९७ सालका सहिदहरूको सपनाप्रति बेइमानी नभएको भए अरू हजारौँले सहादत प्राप्त गर्ने स्थिति आउने थिएन । तर २००७ सालमा स्थापित प्रजातन्त्र खोसेर २०१७ सालमा तत्कालीन राजाद्वारा फेरि निरंकुश शासनको सुरुआत भयो । पञ्चायती व्यवस्थाका नाममा सुरु भएको निरंकुश शासन ३० वर्षसम्म चल्यो । यो अवधिमा जनअधिकार प्राप्तिका लागि धेरै संघर्ष भए । यस क्रममा धेरैले ज्यान गुमाए । २०४६ सालको जनआन्दोलनद्वारा प्राप्त उपलव्धी २०५९ असोज १८ गते राजाद्वारा पुनः खोसियो । जनताहरू फेरि आन्दोलिन भए । यस क्रममा धेरैले प्राणको आहुति दिए ।

यस हिसाबले नेपालमा सहिदहरूको संख्या निकै ठूलो छ । पञ्चायति व्यवस्था विरुद्धको संघर्षका क्रममा २०२० सालमा प्राण आहुति दिएका दुर्गानन्द झालाई २०७२ सालमा मात्रै सहिद घोषणा गरिएको तितो यथार्थता हाम्रासामु छ । को बास्तविक सहिद हुन् ? को नक्कली सहिद हुन् ? भन्ने वर्गीकरण गर्नु जरुरी छ । बास्तविक सहिदहरू धेरैको अभिलेख गायब छ । धेरैको जीवनी लेखिएको छैन । अहिले पनि लोकतन्त्रका नाममा राज्य सत्तामा सधैँ हुनेखाने वर्गको हालीमुहाली चल्दै आएको छ । जनअधिकार कागजमा मात्रै सीमित छ । सहिद बनाउनेहरू जति दोषी हुन्, सहिदको सपनामाथि बेइमानी गर्नेहरू त्यो भन्दा झन् दोषी हुन् ।

प्रतिक्रिया