गाजा क्षेत्र खाली गराउने योजनामा ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार गाजा क्षेत्रलाई खाली गर्ने योजना अघि सारेका छन् । शनिबार बोर्ड एयर फोर्स वन्का पत्रकारसँगको कुराकानीमा ट्रम्पले अहिले प्यालेस्टिनीहरूको अवस्था ज्यादै दुःखद् भएका कारण उनीहरूको स्थानान्तरणमा जोर्डन र इजिप्टले सहयोग गर्नुपर्ने बताएका छन् ।
इजरायल–हमास युद्धपछि गाजालाई विध्वंस स्थलको संज्ञा दिँदै ट्रम्पले जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग यस विषयमा कुरा भएको बताए । यसै विषयमा उनले इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग पनि कुरा गरिरहेका छन् ।

‘इजिप्टले गाजामा रहेका आफ्ना मानिसहरूलाई लिएर जाओस् र यसमा जोर्डनका राजाको पनि सहयोगको आशा राख्छु,’ ट्रम्पले भने, ‘तपाईं सायद १५ लाख मानिसहरूको बारेमा चिन्ता व्यक्त गर्दै हुनुहुन्छ । र, हामी त्यो सबै खाली गर्न चाहन्छौँ । तपाईंलाई थाहा छ, शताब्दियौँदेखि यो स्थानमा धेरै संघर्षहरू थिए, मलाई थाहा छैन । तर, त्यहाँ केही हुनुपर्छ ।’

७ अक्टोबर, २०२३ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणपछि सुरु भएको युद्धका कारण गाजाका २४ लाख जनसंख्यामध्ये अधिकांश विस्थापित भएका छन् । ट्रम्पले गाजाका बासिन्दालाई स्थानान्तरण गर्नु अस्थायी वा दीर्घकालीन पनि हुन सक्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले भने, ‘यो वास्तवमै अहिले भत्काइने ठाउँ हो, लगभग सबै ध्वस्त भएको छ र मानिसहरू त्यहाँ मरिरहेका छन् । त्यसैले म बरु केही अरब राष्ट्रहरूसँग वार्ता गर्न चाहन्छु र फरक स्थानमा आवास निर्माण गर्न चाहन्छु, जहाँ उनीहरू परिवर्तनसँगै शान्तिसाथ बस्न सकून् ।’

हमास र इजरायलबीच युद्धविराम लागू भइसकेपछि आएको ट्रम्पको यो अभिव्यक्तिलाई अर्थपूर्ण मानिएको छ । ट्रम्प प्रशासनले इजरायललाई अटुट समर्थन गर्ने वचन दिएको छ भने मध्यपूर्व नीतिको विस्तृत विवरण भने सार्वजनिक गरेको छैन । राष्ट्रपति ट्रम्पले आफ्ना पूर्ववर्ती बाइडेनले रोकेको इजरायलका लागि २ हजार पाउन्ड बराबरको बम पठाउन पेन्टागनलाई आदेश दिएको शनिबार पुष्टि गरेका छन् ।

विगतमा बाइडेन प्रशासनले बम बिक्री गरे पनि प्यालेस्टिनीहरूमाथि अमानवीय व्यवहार भइरहेका कारण यो रोक्न आवश्यक रहेको ट्रम्पले औँल्याए । सन् २०२३ को अक्टोबरमा प्यालेस्टिनी इस्लामी समूह हमासले इजरायलमाथि गरेको आक्रमणपछि इजरायलको प्रतिशोधात्मक आक्रमणले प्यालेस्टिनी भूभागको अधिकांश भाग भग्नावशेषमा परिणत भएको छ भने पूर्वाधारहरू ध्वस्त भएका छन् । संयुक्त राष्ट्रसंघले पुनर्निर्माणमा धेरै वर्ष लाग्ने अनुमान गरेको छ ।

गत अक्टोबरमा आफ्नो चुनावी अभियानका क्रममा ट्रम्पले युद्धग्रस्त गाजालाई ‘सही तरिकाले पुनर्निर्माण गरिएमा मोनाकोभन्दा राम्रो हुने सञ्चारकर्मीसँगको कुराकानीमा बताएका थिए । ट्रम्पका ज्वाइँ तथा ह्वाइट हाउसका पूर्वकर्मचारी जारेड कुश्नरले गत फेब्रुअरीमा इजरायलले गाजालाई सर्वसाधारणको बस्तीका रूपमा खाली गर्न सुझाव दिएका थिए ।

इजरायलले गाजाबासीलाई अन्यत्र जान बाध्य पार्ने कुनै योजना नरहेको बताउँदै आएको छ । इजरायली सरकारका केही अतिदक्षिणपन्थी सदस्यहरूले सार्वजनिक रूपमा गाजाबासीले प्यालेस्टिनी भूमि सामूहिक रूपमा छाड्नुपर्ने विचारको समर्थन गरेका छन् ।

प्रतिक्रिया