गाजा । हमासले युद्धविरामका मापदण्ड उल्लंघन गरेको भन्दै इजरायलले घर फर्किरहेका प्यालेस्टिनीहरूलाई अवरोध सिर्जना गरेको छ । हमासले ४ बन्दी तथा इजरायलले जेलबाट २०० जनालाई छाडिसकेपछि यो संकट पैदा भएको हो ।
सर्वसाधारण नागरिक अर्बेल यहुदलाई रिहा नगरेसम्म इजरायलले प्यालेस्टिनीलाई उत्तरी क्षेत्रमा जान नदिने जनाएको छ । हमासले उनी जिउँदा रहेको बताउँदै अर्को साता छाड्ने कुरा उल्लेख गरेको छ । शनिबार अबेर मध्य गाजाका अल रसिद सडकमा बन्दुक पड्काइएको थियो । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार एक व्यक्ति मारिएका छन् भने केही घाइते भएका छन् । इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले धेरै व्यक्तिको भीडमा आफ्नै सेनालाई आक्रमण गर्ने शंकास्पद व्यक्ति भएकाले बन्दुक पड्काइएको जनाइएको छ ।
आइडिएफले सो आक्रमणको लक्ष्य कसैलाई क्षति गर्ने नभई छिन्नभिन्न पार्ने मात्र भएको बताएको छ । भागेर दक्षिणी गाजमा पुगेकालाई फेरि उत्तरमा उनीहरूकै निवासमा लैजानका लागि मध्यस्थता गरीरहेको इजिप्टले सबै भन्दा चासो दिइरहेको छ । तटीय क्षेत्रमा भने इजरायली ट्यांकले अवरोध सिर्जना गरिरहेका छन् ।
शनिबार ४ जना रिहा भए पनि रिहा हुने अपेक्षा गरिएकी यहुद भने इजिप्टलाई बुझाइएको अनुमान गरिएको छ । बीबीसीका अनुसार युद्धविरामको पहिलो चरणअन्तर्गत ६ हप्ताको अवधिमा हमासले कूल ३३ जना बन्धक रिहा गर्ने सम्झौता भएको छ ।
यसरी हमासले बन्धक छाडिरहँदा नेपाली विद्यार्थी विपिन पनि छाडिने आशा उनको परिवारले गरिरहेको छ । ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गरेपछि दुई पक्षबीच युद्ध भइरहेको थियो । हमास आक्रमणमा १२०० इजरायली मारिए भने यस क्रममा २५१ इजरायली नागरिकलाई हमासले बन्धक बनाएको थियो ।
त्यसयता इजरायले गाजामा गरेको आक्रमणमा परी हालसम्म ४७ हजार २०० प्यालेस्टिनीको मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस समयमा १० लाख भन्दा बढी घर विस्थापित भएका छन् । यत्ति मात्र होइन, गाजमा ९० प्रतिसत घर भत्किएका छन् । प्रायले आफ्नो परिवारको निकट कोही न कोही गुमाएका छन । लामो क्षती पछि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा युद्ध विराम भएको हो ।
प्रतिक्रिया