हमासले छाड्यो ४ बन्दी, सबै इजायली सैनिक

JPG converted with https://ezgif.com/webp-to-jpg

तेल अभिभ । हमासले शनिबार ४ बन्दीलाई रिहा गरेको छ । रिहा हुनेमा करिना अरिभ, डानियला गिल्बोआ, नामा लेभी र लिरी अल्बाड छन् । इजरायलले पनि यसको बदलामा जेलमा रहेका २०० जनालाई छाडेको छ । गत आइतबार इजरायलमा युद्धविराम लागू भएयता यो दोस्रो पटक बन्दी रिहा भएका हुन् ।

७ अक्टोबर २०२३ का दिन हमासले इजरायलमा हमला परेर २५१ जनालाई बन्दी बनाउनुका साथै १२०० जना भन्दा बढीको ज्यान लिएपछि सुरु भएको लडाइँ गत आइतबारको युद्धविरामसँगै रोकिएको हो । युद्धमा इजरायलले गरेको आक्रमणका कारण करिब ४७ हजारको ज्यान गएको थियो ।
सर्वसाधारण महिला यर्बेद यहुद पनि शनिबार रिहा हुने सूचीमा हुने अनुमान गरिएको थियो । उनलाई अर्कै सशस्त्र समूह प्यालेस्टाइनी इस्लामिक जिहादले नियन्त्रणमा लिएको पनि इजरायली सञ्चारमाध्यमले जनाएका छन् । यो ५ साताको बीचमा अन्य २६ बन्दीका बारे पनि हमासले जानकारी गराउने अपेक्षा गरिएको छ ।

शनिबार रिहा भएका ३ इजरायली गाजा सीमामा रहेको र उनीहरूलाई हमासका बन्दुकधारीले नियन्त्रणमा लिएर हात पछाडि बाँधेर लिएर गएको फुटेज सार्वजनिक गरेको थियो । गाजाको प्यालेस्टाइन चोकमा रेडक्रसको रोहबरमा उनीहरूलाई छाडिएको हो । १५ महिनाको तनावपूर्ण जिन्दगीको अन्त्यपछि उनीहरूले हात हल्लाएर सबैलाई अभिनन्दन गरेका थिए ।

रिहाइको केही समयपछि नै इजरायली डिफेन्स फोर्स (आइडिएफ) का अरबी प्रवक्ता एभिचाइ आडारेले ४ जनालाई संसारको नायिकाका रूपमा व्याख्या गरेका छन् । आइडिएफका प्रवक्ता डानियल हगारीले ७ अक्टोबर पछिको प्रत्याक्रमणको मूल उद्देश्य नै बन्दीहरूलाई घर फर्काउने भएको बताउँदै यसमा आफूहरू सफल भएको बताए । उनले मध्यस्थता गर्न र बन्दीहरूलाई रिहा गर्न कतार, इजिप्ट र अमेरिकाले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका छन् ।

प्रतिक्रिया