न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका निर्णय असफल र विवादित बनेका छन् । ट्रम्पले जन्मको आधारमा नागरिकता दिने प्रचलन भंग गर्न गरेको निर्णयलाई अमेरिकी जिल्ला न्यायाधीशले तत्कालका लागि रोकेका छन् । राष्ट्रपति ट्रम्पले भने सर्वोच्च न्यायलयमा जाने घोषणा गरिसकेका छन् । बिहीबार भएका २५ मिनेटको सुनुवाइपछि न्यायाधीश जोन कोगेनाउरले ट्रम्पको निर्णयलाई स्पष्ट असंवैधानिक भनेका हुन् ।
अहिले अमेरिकामा ट्रम्पले गरेको जन्मको आधारमा नागरिकता प्रचलनको अन्त्य पछि कानुनी निकाय तथा आप्रवासीको समस्यामा धेरै बहस भएको छ । यो निर्णय पछि सवै कानुनी प्रावधान अन्य १४ दिनका लागि स्थगति भएको छ ।
अमेरिकी भूमिमा जन्मने बित्तिकै नागरिकता दिने चलन सुरुवाती दिनमा संविधानमा थिएन । अमेरिकमा दशकौँ पछि यो प्रावधान आएको हो । सन् १८६८ मा गृहयुद्धको अन्त्यपछि भएको १४ औँ संशोधनले यसलाई स्वीकार गरेको हो । यस अघि नै १३ औँ संशोधनले दास प्रथाको अन्त्य गरेको थियो । यसपछि दासहरूको सन्तानको नागरिक अधिकारको बारेमा बहस सुरु भएपछि १४ औँ संशोधनमा यसमा समावेश गरिएको हो । संशोधनमा यस अघि सन् १८९८ मा अन्तिम पटक बहस भएको थियो । त्यसको १२७ वर्षसम्म यो प्रावधानमा कुनै विवाद र बहस भएको थिएन ।
सिटलका न्यायाधीश कोगेनाउर समक्ष वासिङ्टनका महान्यायाधिवक्ता जनरल निक ब्राउनका साथमा अन्य तीन डेमोक्र्याटको नेतृत्व भएको राज्यको तर्फबाट ट्रम्पको निर्णयको विरुद्धमा न्यायालयमा आवेदन दिएका थिए । ब्राउनले यस निर्णयको स्वागत गर्दै अन्य राज्यको निर्णयलाई पनि पर्खिएको बताए । उनले ट्रम्पको निर्णयका कारण यसै वर्ष जन्मिएका तथा जन्मन आँटेका हजारौँ बालबालिकाको भविष्य संकटमा पारेको जिकिर गरेका छन् ।
तथ्यांक अनुसार सन् २०२२ मा २ लाख ५५ हजार बच्चा कागजात बिनाका आमाबाट जन्मिएका थिए । सिटलको अदाालतले गरेको निर्णयको पक्षमा अन्य जिल्लाका अदालत पनि रहने अनुमान गरिएको छ । ट्रम्पका निजी कानुन व्यावसायीहरुले पनि यो निर्णयको विरुद्धमा सर्वोच्च अदालत रहने अनुमान गरेका छन् ।
केही डेमोक्र्याट सांसदहरुले ट्रम्पको निर्णयले अमेरिकालाई दास प्रथाकै समयमा लगेको आरोप समेत लगाएका थिए । ट्रम्पको यो निर्णयको विरुद्धमा डिसी र सान फ्रान्सिस्को शहर सहित डेमोक्र्याटको पकडमा रहेका १८ राज्यले आपत्ति जनाएका थिए । अमेरिकन सिभिल लिबरटिज युनियन(एसिलियू)ले पनि ट्रम्पको निर्णयको कानुनी कदम उठाएको छ ।
प्रतिक्रिया