नयाँदिल्ली । गंगा, यमुना र सरस्वती नदीको संगमस्थल प्रयागराजमा हाल विश्वप्रसिद्ध महाकुम्भमेला चलिरहेको छ । भारतको प्रयागराजमा हरेक १२ वर्षमा आयोजना हुने उक्त कुम्भमेलाको पहिलो दिनमै एक करोडभन्दा बढी व्यक्तिले स्नान गरेको भारतको उत्तर प्रदेश पर्यटन विभागले जनाएको छ ।
१ माघदेखि सुरु भई ४५ दिनसम्म सञ्चालन हुने उक्त कुम्भमेलामा हिन्दु धर्मावलम्बीहरूले भारतको सबैभन्दा पवित्र नदी मानिने गगा, यमुना र पौराणिक सरस्वती नदीको संगममा स्नान गर्ने गर्छन् । मेलामा ४५ करोड तीर्थालु भक्तजन आउने विभागले अनुमान गरेको छ । हिन्दु धर्मावलम्बीहरूको पवित्र भूमि प्रयागराजमा महाकुम्भ स्नान गर्न भारत, नेपालसहित विभिन्न मुलुकबाट लाखौँको संख्यामा तीर्थयात्री आउने गरेका छन् ।
उत्तर प्रदेश पर्यटन विभागका महानिर्देशक ईशा प्रियाले १४४ वर्षपछि परेको महाकुम्भमेलाको विशेष महत्व रहेको भन्दै प्रयागराज महाकुम्भको अद्भूत आनन्द लिन सबैमा आह्वान गरे । उनले सीमापार धार्मिक पर्यटन प्रवद्र्धनका लागि महाकुम्भमेला उपयोगी बन्ने विश्वास व्यक्त गरिन् ।
मेलामा स्नान गर्न आउने तीर्थालु भक्तजनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ । मेलालाई दृष्टिगत गर्दै भारत सरकारले २५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ ।
मेलाको आकर्षणका रुपमा इलाहावाद सडकका चोकचोकमा सूचनामूलक ब्यानर, पोष्टर र झिलीमिली बत्तीले झकिझकाउ पारिएको छ । ३ नदीको संगमस्थलमा दायाँ र बायाँ किनारमा तीर्थालु भक्तजनका लागि बासस्थानका निम्ति स्तर अनुसारको सुविधासम्पन्न अस्थायी ‘टेन्ट हाउस’हरु निर्माण गरिएका छन् । रातको समयमा टेन्ट हाउस क्षेत्रमा झिलीमिली बत्तीले मेलाको रौनकलाई थप बढावा दिएको छ ।
मेलामा बास व्यवस्थापनका लागि अस्थायी शिविर, स्वास्थ्य शिविर रहेका छन् । एक लाखभन्दा बढी टेन्ट स्थापना गरिएको छ । मेलामा नागाबाबा, अघोरी बाबाको भिन्न आकर्षण देखिन्छ । मेलाको सुरक्षालाई मध्यनजर गर्दै नदीको पानीमुनि २५ हजारभन्दा बढी सिसी क्यामेरा जडान गरिएका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मेलामा पुग्ने तीर्थालुको सहजताका लागि प्रयागराज विमानस्थलबाट सात हजारभन्दा बढी बसको व्यवस्था गरिएको छ । ५५० सटल बस, १३ हजारभन्दा बढी रिक्सा, १३ हजार ट्रेन, तीन हजार विशेष ट्रेनको व्यवस्था मिलाइएको छ ।
यसैगरी, मेला क्षेत्रमा ४३ अस्थायी अस्पताल स्थापना गरिएका छन् । सरकारी र निजी गरी ६ हजार शैयायाको व्यवस्था छ । एयर एम्बुलेन्ससहित सडक एम्बुलेन्सको व्यवस्था गरिएको छ । हेलिकोप्टरबाट मेलाको अवलोकन गर्ने प्रबन्ध समेत गरिएको छ । भारतीय राष्ट्रपति द्रौपदी मुर्मु तथा प्रधानमन्त्री नरेन्द्र मोदीसमेत महाकुम्भमेला अवलोकन गर्न पुग्ने बताइएको छ ।
प्रतिक्रिया