मलाई एमाले हुनपाए भयो : वामदेव गौतम

सहकार्य चाहिँ नयाँ शब्द होला !

काठमाडौँ । एमालेमा मिसिन तम्तयार भएर बसेका राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमलाई एमालेले कहिले भित्र्याउने हो टुंगो भएको छैन । गौतम यतिबेला जसरी पनि एमाले हुन तयार अवस्थामा रहे पनि एमालेको तर्फबाट भने कुनै पनि चासो देखाइएको छैन ।

एक सातादेखि एमाले हुन तयार भएका गौतमले भने, ‘उहाँहरू (एमाले)ले मंगबार सहकार्य गर्ने निर्णय गर्नुभएको छ । कस्तो सहकार्य हो ? कोसँग गर्ने हो हामीलाई कुनै जानकारी छैन ।’ एमाले जस्तो पार्टीले एकता गर्ने भनेर एका एक सहकार्य गर्ने भनी गरेको निर्णयप्रति गौतमले शंका गर्दै ठट्टाको शैलीमा भने, ‘यो राजनीतिमा नयाँ भाषाको प्रयोग होला, मैले पनि बुझ्न सकेको छैन ।’

अघिल्लो हप्तासम्म नेकपा (एकिकृत समाजवादी)सँग एकता गर्ने भनेका गौतमले एकाएक एमालेसँग एकता गर्ने भन्न थालेका थिए । उनी यतिबेला निःशर्त रुपमा एमाले प्रवेश गर्न चाहेका छन् । एमालेसँग एकता कहिले होला त ? भन्ने प्रश्नमा उनले भने, ‘त्यो त मलाई पनि थाहा छैन । कहिले हुन्छ कसरी हुन्छ त्यो उहाँहरूलाई नै थाहा होला ।’ उनका अनुसार यो एकता प्रक्रिया अन्यौलमा देखिएको छ ।

एकताका बारेमा गौतमले भने, ‘एकता गर्ने भनिएको थियो । अहिले सहकार्य गर्ने निर्णय भएछ । म अध्यक्ष हुँ मसँग केही कुरा भएको छैन कोसँग कस्तो सहकार्य गर्न खोज्नु भएको हो ?’ पार्टी एकता गर्ने भनिएकोमा सहकार्यको अर्थ नबुझेको उनले बताए ।

‘एकता आज भोलि नै होला । उहाँहरूले बोलाउनु होला भन्ने सोचेका थियौँ । अब त सहकार्य पो भन्न थाल्नुभयो,’ उनले भने ‘जस्तो अवस्थामा पनि एमाले हुने हो अरु कुरा छैन । बोलाउनु होला भनेर कुरेका छौँ हेरौ ।’ काम गर्न सहज हुने भएकाले पनि एमाले हुन तयार भएको उनले बताए । ‘म एमाले हुने भनेपछि एमाले पंक्तिमा देश भर उत्साह थियो, सबैजसो सञ्चार माध्यमले मलाई पच्छ्यााए’ उनले भने, ‘तर, एमाले त चुपचाप छ केही कुरै गर्देन, के हो के मैले बुझ्नै सकिन ।’

‘हामीले त जे होस होस अब एमाले नै हुने हो भनेको हौँ । तर एमालेले केही दिनदेखि यसबारेमा केही पनि कुरा गरेका छैनन्,’ गौतमले सौर्य दैनिकसँग भने, उहाँहरूको पछिल्लो निर्णय र कुरा सुन्दा मैले पनि केही बुझ्न सकेको छैन । हामी त सबै हिसाबले एमाले हुन तयार छौँ ।’

एकता गर्न एमाले तयार होला भन्ने कुरामा आफू विश्वस्त रहेको उनले बताए । एमालेले जे भनेर वा जस्तो कुरा गरेर भित्र्याउन चाहे पनि एमाले हुने नै हो ? भन्ने प्रश्नमा उनले भने, ‘हो, अब मलाई एमाले हुन पाए हुन्छ, जे सुकौ होस्,’ उनले एमाले हुन हतारिए पनि एमालेले भने गौतमलाई भित्र्याउन त्यति रुचि देखाएको छैन । एकता गर्नका लागि एमालेले समय तोकेपछि आफूहरूलाई दुइ तीन दिनको समय चाहिने गौतमले बताए ।

‘हामी जति उत्साही थियौँ र यसलाई टुंग्याउँ भन्ने पक्षमा थियौँ त्यो गतिमा एमाले देखिएन’ गौतमले भने, ‘पछिल्लो एमालेको शैली हेर्दा राजनैतिक व्यवहार देखिएको छैन । यो कुनै पनि हिसावले राजनैतिक कार्य होइन ।’ उनले मंगलबारको सहकार्य गर्ने एमालेको निर्णयपछि एमालेको तर्फबाट फेरि कुनै पनि कुरा नभएको पनि प्रष्ट पारे ।
गौतमले एमालेमा जाने भनेदेखि नै समाजिक सञ्जालमा एमालेका एउटा पंक्ति उनको बिरोधमा देखिएको छ ।

गौतम एमाले भएर पार्टीलाई उर्जा दिन नसक्ने भन्दै एउटा समुहले उनको बिरोध गरिरहेको छ । मंगलबार बालुवाटारमा बसेको एमाले सचिवालय बैठकले गौतम नेतृत्वको अभियानसँग सहकार्य गर्दै जाने निर्णय गरेको थियो । राष्ट्रिय सभा सांसद रहेको गौतम पनि एमाले फर्कन तयार छन् ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र गौतमबीच गत शुक्रबार बालुवाटारमा भेटवार्ता भएको थियो । त्यसअघि उनीहरूले टेलिफोनमा कुराकानी गरेका थिए । त्यसयता भने एमालेको कुनै पनि तहको नेतासँग कुरा नभएको गौतमको भनाइ छ । एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा गठन भएका बेला गौतम पार्टीमा प्रभावशाली थिए ।

ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अन्तर्विरोध चुलिँदा नेता गौतम प्रचण्डतिर लागेका थिए । उनै गौतमले ओलीलाई ‘एक व्यक्ति एक पद’को मान्यता अनुरूप पार्टी अध्यक्षको पूर्ण भूमिका प्रचण्डलाई हस्तान्तरण गर्न स्थायी कमिटीमा फरक मत नै राखेका थिए । तर नेकपा विभाजनका बेला गौतमले प्रचण्डको साथ छोडे ।

एमाले र माओवादी केन्द्र अलग–अलग अस्तित्वमा फर्कदा एमाले उपाध्यक्षबाट राजीनामा दिएर २०७८ भदौमा गौतमले एकता राष्ट्रिय अभियान गठन गरी त्यसैमा क्रियाशील छन् । एमालेसँग एकता गर्ने उनले देखाएको सक्रियता पछि उनीसँग रहेका पदाधिकारी र बहुमत सदस्यले उनलाई छाडिसकेका छन् ।

प्रतिक्रिया