रुपन्देही अदालतमा रविको बयान सकिएपछि कानुन व्यवसायी र श्रीमतीको जिम्मामा छाडियो

काठमाडौं । सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृह मन्त्री रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले कानुन व्यवसायी र श्रीमती निकिता पौडेल लामिछानेको जिम्मा लगाएको छ ।

सभापति लामिछानेको उक्त सहकारी प्रकरणमा रुपन्देही अदालतमा बुधबार बयान सकिएपछि उनका कानुन व्यवसायी र श्रीमती निकिताको जिम्मामा छाड्न आदेश भएको हो । बुधबार न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लामिछानेको बयान भएको हो ।

बहस नसकिएपछि रविलाई श्रीमती निकिता पौडेल र कानुन व्यवसायीको जिम्मा लगाएर पठाएको जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए । उनलाई भोलि (बिहीबार) १० बजे अदालतमा उपस्थित गराउन भनिएको छ । ज्ञवालीका अनुसार भोलि नै बहस सुरु हुनेछ ।

सुप्रिम सहकारी प्रकरणमा अभियोगको प्रतिवाद गर्न बुधबार आफैँ अदालतमा हाजिर भएका लामिछानेलाई न्यायाधीश योगीको इजलासले प्रहरीको हिरासतमा नराखी परिवारको जिम्मा लगाएको हो ।

गत आइतबार लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाएर सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतमा पूरक अभियोगपत्र दर्ता गरिएको थियो । पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८४२ रुपैयाँ बिगो कायम गरिएको छ ।

प्रतिक्रिया