यु–१९ महिला विश्वकप क्रिकेट : नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु–१९ महिला विश्वकप क्रिकेट खेलमामा नेपाल आफ्नो तेस्रो खेलमा ८३ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

टस पहिला ब्याटिङ गर्दै अस्ट्रेलियाले नेपाललाई जितका लागि १४० रनको बलियो लक्ष्य दिएको थियो । बलियो लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५६ रन मात्रै जोड्न सक्यो ।

अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रनको योगफल बनाएको थियो । आज अस्ट्रेलियासँग पराजित भएसँगै नेपालको सुपर सिक्स प्रवेशको सम्भावना समाप्त भएको छ ।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक १८ रन जोडिन् । पूजा बाहेक अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । अस्ट्रेलियाका लागि जुलिटि मोर्टोन, लिली बासिङ्थवाइट र हसरत गिलले समान २ विकेट लिए ।

त्यसअघि मलेसियास्थित युकेएम क्रिकेट ओभलमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रनको योगफल तयार गरेको थियो । अस्ट्रेलियाका लागि काओइमे ब्रेले सर्वाधिक ४५ रन जोडिन् । उनले ३४ बलमा ३ चौका र ३ छक्का प्रहार गरिन् ।

एक समय १४ रन जोड्दा ३ विकेट गुमाएर खराब सुरुवात गरेको अस्ट्रेलियाका लागि इलनरा लोरास र काओइमे ब्रेले चौथो विकेटका लागि ७२ रनको साझेदारी गर्दै टोलीलाई बलियो योगफलमा पुर्याए ।

लोरासले ३९ बलमा ३१ रन जोडिन् । हसरत गिलले २१ बलमा नट आउट ३० रन बनाइन् । नेपालका लागि कप्तान पुजाले ३, सिमाना केसीले २ र रिया शर्माले १ विकेट लिइन् ।

पराजित नेपालले समूह चरणमा कुनै जित हात पार्न सकेन । शुक्रबार हुने प्लेअफ खेलमा नेपालले समूह ‘ए’ को चौथो हुने टोलीसँग खेल्नेछ । बिहीबार मलेसिया र वेस्ट इण्डिजबीचको खेलबाट नेपालको प्रतिद्वन्दी तय हुनेछ ।

प्रतिक्रिया