पदभार सम्हालेलगत्तै डोनाल्ड ट्रम्पका दर्जनौँ निर्णय

जन्मका आधारमा नागरिकता नदिनेदेखि अवैध आप्रवासीको बहिर्गमनसम्म

काठमाडौँ । अमेरिकाका ४७औँ राष्ट्रपतिका रूपमा सोमबार पदभार ग्रहण गरेपछि डोनाल्ड ट्रम्पले केही महत्वपूर्ण निर्णय गरेका छन् । ट्रम्पले विश्व स्वास्थ्य संगठनबाट अमेरिका बाहिर आउने निर्णय गरे । सन् २०१९ मा ससारमा कोभिड महामारी फैलिएपछि नै विश्व स्वास्थ्य संगठनसँग ट्रम्पको दुरी बढेको थियो । ट्रम्पले सन् २०२० मा भएको निर्वाचनमा पराजय भोगेपछि परिणाम अस्वीकार गर्दै अमेरिकामा दंगा भड्काएका थिए । सोही दंगामा सामेल भएका १६०० जनामाथि लागेको मुद्दा पनि उनले फिर्ता लिएका छन् ।

ट्रम्पले तेस्रो लिंगीको पहिचानलाई अस्वीकार गरेका छन् । सम्बोधन गर्ने क्रममा उनले ‘अमेरिकालाई शान्ति कायम गर्ने तथा संसारलाई एकजुट बनाउने देश’ का रूपमा व्याख्या गरेका छन् । ‘अमेरिकाको स्वर्णिम दिन अब सुरु भयो,’ उनले भने ।

उनले दक्षिणी सीमामा संकटकालको घोषणा गरेका छन् । साथै त्यहाँ सेना पठाउने घोषणा पनि गरे । उनले पनामा क्यानललाई अमेरिकाको कब्जामा राख्ने बताएका छन् । सो क्यानल अहिले चीनले उपयोग गरिरहेको छ । ट्रम्पले अमेरिकालाई पेरिस सम्झौताबाट बाहिर राख्ने निर्णय पनि गरेका छन् । ट्रम्पले गरेका धेरै निर्णयमध्ये विश्व स्वास्थ्य संगठनबाट बाहिरिने निर्णयले भने धेरैलाई समस्यामा पार्न सक्ने जनाइएको छ । केही अफ्रिकी देशमा यसले चिन्ता छाएको छ । अफ्रिका अहिले विश्व स्वास्थ्य संगठनको सहयोगमा धेरै रोगसँग लडिरहेको छ । यसमा अमेरिकाको आर्थिक हिस्सा धेरै थियो ।

अमेरिकाको यो निर्णयपछि डब्लुएचओका प्रमुख डा. टेब्रोस गेब्रेससले यसलाई दुःखद् भन्दै अमेरिका संगठनमा फिर्ता हुने अपेक्षा रहेको बताए । यसैबीच ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन युद्ध अन्त्यका लागि वार्ता गर्ने बताएका छन् । उनले युक्रेनी राष्ट्रपति भोलाडिमिर जेलेन्स्कीले पनि युद्ध अन्त्य चाहेको बताए । साथै उनले उत्तर कोरियालाई आणविक शक्तिका रूपमा स्वीकार गरे ।

ट्रम्पले गरेका निर्णयमध्ये अर्को महत्वपूर्ण निर्णयमा अमेरिकामा जन्मेको अधारमा नागरिकता दिने प्रावधान हटाइएको छ । ट्रम्पले कागजात नभएका आप्रवासीलाई हटाउन प्रक्रिया तत्काल सुरु गर्ने बताए । उनले टिकटकलाई अहिले प्रतिबन्ध नलागे पनि यो सम्भावना कायमै रहेको भने स्वीकार गरेका छन् । टिकटकले ७५ दिनमा अमेरिकाको सबै कानुनी प्रावधान पूरा गर्ने समय पाएको छ । यस अवधिमा सो प्रावधान पूरा नभए टिकटक पनि बन्द हुनेछ ।

ट्रम्पले मेक्सिको खाडीको नाम फेरेर अमेरिकी खाडी राख्ने घोषणा गरेका छन् । ट्रम्पले पहिले पनि अमेरिकए खाडीको नाम धेरै ‘सुन्दर’ लाग्ने बताएका थिए । अब त्यही नाम राख्नु सही हुने उनको तर्क छ ।

ट्रम्पले अहिलेसम्म अमेरिकाको सरकारले अन्य देशलाई धनी बनाउन आफ्नै देशका नागरिकमाथि कर लगाउँदै आएको बताए । उनले अब यसलाई फेरेर आफ्नो देशका नागरिकलाई धनी बनाउन अन्य देशमाथि कर बढाउने बताएका छन् ।

ट्रम्पले कयौँ पटक अमेरिकाले हरेक वर्ष अन्य देशसँग ठुलो व्यापार घाटा भोग्नुपरिरहेको बताइरहेका छन् । उनले चुनाव जितेपछि ब्रिक्स देशमाथि १०० प्रतिशत कर लगाउने धम्की दिएका थिए । यसका अलावा उनी चीन, क्यानडा र मेक्सिकोमाथि भारी कर लाउने धम्कीमा उत्रिसकेका छन् ।

ट्रम्पले मंगल ग्रहमा आफ्नो झन्डा गाड्न अमेरिका तयार रहेको बताए । उनले मंगल ग्रहमा अमेरिकी झन्डा गाड्न अन्तरिक्ष यात्रीलाई पठाउने पनि बताए । ट्रम्पले अमेरिकामा विदेशी गिरोहलाई निशाना बनाउन विदेशी शत्रु अधिनियम १७९८ लागू गर्ने बताए । यस कानुनी अधिकारको प्रयोग अन्तिम पटक दोस्रो विश्वयुद्धको समयमा जापानी, जर्मन र इटाली मूलका गैरअमेरिकी नागरिकलाई बन्दी बनाउन गरिएको थियो । उनले आपराधिक गिरोहलाई विदेशी आतंकवादी संगठन घोषणा गरिने पनि बताए ।

प्रतिक्रिया