भारतमा चिकित्सकको बलात्कारपछि हत्यामा दोषी ठहरिएका युवकलाई आजीवन कारावास

कोलकाता । एक भारतीय चिकित्सकको बलात्कारपछि हत्या गरेको मुद्दामा दोषी ठहर भएका सञ्जय रोयलाई सोमबार आजीवन कारावासको सजाय सुनाइएको छ ।

कोलकातास्थित अदालतका न्यायाधीश अनिर्बान दासले चिकित्सकको बलात्कार र हत्याको अभियोगमा दोषी ठहर भएका रोयलाई आजिवन कारावासको सजाय गर्न आदेश दिएका हुन् ।

भारतीय अदालतले गत शनिबार ३३ वर्षीय रोयलाई चिकित्सकको बलात्कार र हत्यामा दोषी ठहर गरेको थियो । सन् २०२४ अगस्ट ९ मा कोलकाताको एक सरकारी अस्पतालको सेमिनार कक्षमा प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या भएको थियो ।

पीडितको रगताम्य शव फेला परेको थियो । घटनापछि सरकारी अस्पतालका चिकित्सकहरूले थप सुरक्षाको माग गर्दै कलकत्ता र भारतका अन्य ठाउँका हजारौँ नागरिकहरू ऐक्यबद्धता जनाउँदै डाक्टरहरूको विरोध प्रदर्शनमा सामेल भएका थिए । प्रतिवादी रोयको मुद्दा द्रूत गतिमा सुनुवाई अघि बढाइएको थियो भने यस मुद्दामा एक हप्ताअघि मात्र बहस सकिएको थियो ।

अस्पतालका नागरिक स्वयंसेवक रहेका रोयलाई बलात्कार र हत्याको दोषी ठहर गरेपछि न्यायाधीश अनिर्बान दासले सोमबार सजाय सुनाइने बताएका थिए । सुनुवाईका क्रममा रोयले लगातार आफू निर्दोष रहेको र आफूलाई फसाइएको दावी गरेका थिए ।

भारतमा एक चिकित्सकमाथिको अपराधले देशव्यापी आक्रोश निम्त्याएको थियो भने राज्यभरिका चिकित्सकहरूले पीडितलाई न्याय दिन र सरकारी अस्पतालहरूमा कडा सुरक्षा उपायहरूको माग गर्दै लामो समयसम्म विरोध प्रदर्शन गरेका थिए ।

मृतकको शव फेला परेको एक दिनपछि रोयलाई पक्राउ गरिएको थियो । सन् २०१२ मा दिल्लीको बसमा एक युवतीको सामूहिक बलात्कार र हत्याको घटनासँग यस आक्रमणको विभत्स प्रकृतिको तुलना गरिएको थियो ।

प्रतिक्रिया