यु– १९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्याण्डसँग पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु–१९ महिला विश्वकपमा आफ्नो दोस्रो खेलमा आज नेपाल स्कटल्याण्डसँग १ विकेटले पराजित भएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले स्कटल्याण्डलाई जितका लागि ७४ रनको लक्ष्य दिएको थियो ।

पहिला ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाउँदै ७३ रनमै समेटिएको हो । जितका लागि ७४ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । यो हारसँगै नेपालले सुपर सिक्समा पुग्ने अवसर गुमाएको छ ।

नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २७ रन बनाइन् । सावित्री धामीले १० रन बनाउनु बाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । स्कटल्याण्डका लागि मैसि म्याकिराले ५, अमि बलडाइ भने नइमा शेखले समान २ तथा क्रिस्टी म्यायाकोलले १ विकेट लिइन् ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो । त्यसैगरी स्कटल्याण्डले पनि पहिलो खेलमा बलियो टोली अस्ट्रेलियासँग ९ विकेटको हार व्यहोरेको थियो ।

दुवै टोलीका लागि तेस्रो खेलका प्रतिद्वन्दीहरु कठिन छन् । त्यस कारण यस खेलमा जित हात पार्दै दुवै टोली सुपर सिक्सको मार्ग सहज बनाउँने लक्ष्यमा रहेका छन् । यो यु–१९ महिला विश्व कपमा १६ देशको सहभागीता रहेको छ । सहभागी १६ देशलाई ४ समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा साविक विजेता भारत, श्रीलंका, आयोजक मलेसिया र वेस्ट इण्डिज छन् । समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका तथा समूह ‘सि’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन् । समूह ‘डी’ मा नेपालसहित स्कटल्याण्ड, बंगलादेश र अस्ट्रेलिया रहेका छन् ।

प्रतिक्रिया