मगर रीतिरिवाजको गीत ‘सालीज्यू झोर्ले नमस्कार’

काठमाडौँ । मगरहरूको विभिन्न रीतिरिवाजमा आधारित गीत ‘साली ज्यु झोर्ले नमस्कार’ को भिडियो सार्वजनिक भएको छ । मगरहरूको परम्परादेखि चल्दै आएको मामाको छोरी विवाह गर्नुपर्छ भन्ने मान्यतालाई आधार बनाएर अन्य पनि विभिन्न मगर संस्कारलाई प्राथमिकता दिनुपर्छ भन्ने सन्देश दिने उदेश्यले उक्त ‘साली ज्यु झोर्ले नमस्कार’ को गीत र भिडियो ल्याएको भिडियो निर्देशक बुद्ध्या सुनारी मगरले जानकारी दिए ।

उनका अनुसार माघ महिना विवाहको लगनको महिना भएकाले यही माघे संक्रान्तीको अवसर पारेर गीतको भिडियो सार्वजनिक गरिएको हो । पछिल्लो समय मामाको छोरी मात्रै नभइ कुल बाहिरका केटीसँग पनि विवाह गर्ने चलन बढ्दै गएकाले मामाकै छोरीसँग विवाह गर्दा सामाजिक सद्भावको महत्वबारे यस गीत र भिडियोले बुझाउने उनले बताए ।

आफ्नै मामाको छोरीलाई विवाह गर्दा कुलभित्र निकटता र कम खर्चसँगै दाइजो तथा गरगहनामा पनि कुनै शंका उत्पन्न नहुने र मौलिक मगर संस्कारको सृजना र संरक्षणमा सहयोग पुग्ने भएकाले यस ‘साली ज्यु झोर्ले नमस्कार’ गीत र भिडियो निर्माण गरेर सन्देश दिन खोजिएको निर्देशक सुनारीको भनाइ छ ।

‘हाम्रो मगर समुदायमा मामाको छोरी बिहे गर्ने पूरानो चलन हो’, उनले भने, ‘परम्परादेखि चल्दै आएको चलन पछिल्लो समय कतिपयले नबुझ्ने र यही कारण बाहिरका केटीसँग बिहे गर्ने संस्कार बस्दै आएको छ, त्यसैले मामाकै छोरी बिहे गर्दा यी कुराहरूको विकास र संस्कार रहन्छ भन्ने मान्यतालाई मध्यनजर गरेर गीत र भिडियो ल्याएका हौँ ।’

भिडियोमा मगर रीतिरिवाज तथा सम्पूर्ण संस्कार झल्कने गरेर सम्पूर्ण कथा बुनिएको निर्देशक सुनारीले जानकारी दिए । सो गीतमा गायिका मेलिना राई र गायक दिलिप श्रीष मगरले आवाज दिएका छन् भने शब्द र संगीत सुरेश रानामगरको रहेको छ । त्यसैगरी याम थापामगरले संगीत संयोजन गरेका छन् ।

भिडियोमा कलाकारहरू दोना थापा मगर, चाहना राना मगर, अलिजिबा पुन मगर, टिका थापा मगर, सुरेश राना मगर र कविराज थापा (केप्चकी) मगरले अभिनय गरेका छन् । गीतको भिडियो गायक दिलिप श्रीष मगरको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

मगर समाुदायमा विवाह नभए पनि साइनोमा पुरुषले आमाको भदैनिलाई साली नाता पर्ने र महिलाले फुपुको छोरालाई भेना पर्ने भएकाले यही साइनो अनुसार आफन्तमै विवाह गर्दा कुलघरान राम्रो हुने र सम्बन्ध पनि बलियो हुने भिडियो निर्देशक सुनारीले विश्वास व्यक्त गरे । यसअघि पनि आफूले धेरै मगर चलचित्र निर्देशन गर्दै आइरहेको जानकारी दिँदै सुनारीले अब फेरि अर्को मगर चलचित्र निर्माणको तयारी भइरहेको बताए ।

प्रतिक्रिया