काठमाडौँ । पहिलो खो खो विश्वकप प्रतियोगितामा नेपालको महिला र पुरुष टिम उपविजेतामा सीमित भएका छन् । प्रतियोगिताको फाइनल खेलमा महिला र पुरुष दुवै टोलीले आयोजक भारतको सामना गरेका थिए ।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा सम्पन्न फाइनल खेलमा नेपालको महिला टोली भारतसँग ७८–४० अंकले पराजित भयो भने पुरुषतर्फको फाइनलमा नेपाल आयोजक भारतसँग ५४–३६ अन्तरले पराजित भयो ।
भारतले महिला र पुरुष दुवै विधामा उपाधि जित्दा नेपाल भने दुवैमा उपविजेता बन्यो । पहिलो पटक आयोजना भएको खो खो विश्वकपमा दक्षिण एसियाका भारत र नेपालले अन्य राष्ट्रलाई पछि पार्दै फाइनल यात्रा तय गरेका थिए ।
यसअघि शनिबार भएको सेमिफाइनल खेलमा नेपालको महिला टोलीले युगान्डालाई ८९–१८ अंकले पराजित गरेको थियो । क्वार्टरफाइनल खेलमा भने नेपालले इरानलाई १०३–८ अंकको हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
समूह ‘सी’ मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४ अंकले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ अंबले, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० अंकले तथा चौथो खेलमा बङ्गलादेशलाई ८४–२४ अंकले पराजित गरेको थियो । विश्वकपमा महिलातर्फ १९ टोली सहभागी थिए । जसमा नेपालले समूह ‘सी’ मा विजेता बनेर अन्तिम ८ मा पुगेको थियो ।
त्यस्तै, पुरुषतर्फ नेपाल समूह ए को उपविजेता बन्दै क्वाटरफाइनल पुगेको थियो । पहिलो खेलमा भारतसँग ४२–३७ अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा पेरूलाई ८०–३४ ले, तेस्रो खेलमा ब्राजिललाई १३४–८ अन्तरले र चौथो खेलमा भुटानलाई ९८–८ अन्तरले हराउँदै अन्तिम ८ को यात्रा तय गरेको थियो । क्वाटरफाइनलमा बंगलादेशलाई ६७–१८ को अन्तरले हराएको नेपालले सेमिफाइनलमा इरानलाई ७२–२० ले पराजित गर्दै फाइनल पुगेको थियो ।
प्रतिक्रिया