जनकपुरधामको विशिष्टीकृत अस्पताल आफैँ बिरामी

जनकपुरधाम । प्रादेशिक अस्पतालमा भिडभाड बढेपछि वैकल्पिक अस्पतालका रूपमा स्थापना गरिएको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहत रहेको विशिष्टीकृत अस्पताल सुनसान बनेको छ । कोरोनाकालमा कोरोना अस्पतालका रूपमा सञ्चालन गरिएको र अहिले आएर विशिष्टीकृत अस्पतालका रूपमा परिणत गरिएको जनकपुरधामको मुजेलियास्थित मणिपाल अस्पताल सुनसान बनेको हो ।

सो अस्पतालमा दिउँसोको समयमा पुग्दा २ जना कर्मचारीबाहेक अन्य कोही पनि थिएनन् । अहिले उक्त विशिष्टीकृत अस्पतालमा गत २०७७ कात्तिकमा गठन भएको प्रतिष्ठानले चिकित्सा शिक्षा आयोगबाट मान्यता प्राप्त गरी २०७८ मंसिरदेखि ४ विषयको कक्षा सञ्चालन गर्दै आएको छ ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. अंकुर साहले आइसियु सञ्चालन गर्नेलगायत बिहानदेखि बेलुकासम्म त्यहाँ बिएस्सी नर्सिङ, बिपिएच, बिएमएलटी र बिएनएस कक्षा सञ्चालन हुँदै आएको जानकारी दिए । तर, त्यहाँ पुग्दा अवस्था भने बेग्लै थियो । दिउँसो करिब २ बजेकै समयमा प्रशासनिक निकायदेखि सबै कार्यकक्ष सुनसान थिए । १ जना पनि विद्यार्थी त्यहाँ थिएनन् ।

उपकुलपति साहले मणिपाल शिक्षण अस्पतालले स्वामित्व हस्तान्तरण नगरेकाले अस्पताल सञ्चालनमा समस्या भइरहेको जानकारी दिए । उनले मणिपालले आफ्नो भवन पुनः फिर्ता मागिरहेकाले यहाँ अस्पताल सञ्चालनतर्फ प्रदेश सरकारले चासो नदिएको बताए । उपकुलपति साहले भने, ‘आफ्नो स्वामित्वको अस्पताल प्रतिष्ठानसँग छैन, मणिपालले आफ्नो भवन पुनः फिर्ता मागिरहेको छ । यस्तो अवस्थामा यसलाई सञ्चालन गर्न कठिन नै छ ।’

यसअघि मधेस सरकारले २०७८ सालमा मणिपाललाई कोभिड विशेष अस्पताल बनाएको थियो । प्रदेश संकट व्यवस्थापन केन्द्र (पिसिएमसी)ले कोभिड संक्रमितको उपचारका लागि छुट्टै अस्पतालका रूपमा मणिपाललाई तयार गरेको थियो । मणिपाल शिक्षण अस्पतालको जीर्ण भवनलाई मर्मत सम्भार गरेर प्रदेश सरकारले १०० शय्याको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको थियो ।

विशिष्टीकृत अस्पतालका रूपमा लैजाने उद्देश्यसहित सञ्चालन गरे पनि यो अस्पताल अहिले आफैँ बिरामी जस्तै छ । शिक्षण अस्पताल सञ्चालनका लागि सरकारबाट जग्गा लिजमा लिएको मणिपालले दशकौँपछि पनि अस्पताल सञ्चालन गर्न नसके पनि लिज खारेज गराएर सो जग्गा प्रतिष्ठान मातहत ल्याउने पहल भने अहिलेसम्म हुन सकेको छैन ।

मधेस प्रदेशकै ठुलो मेडिकल अस्पताल बनाउने अभिप्रायले निर्माण गर्न लागिएको मणिपाल शिक्षण अस्पताल विभिन्न राजनीतिक कारणले निर्माण अधुरै छाडी बन्द भएको थियो । विगत लामो समयदेखि खण्डहरमा परिणत हँुदै गएको उक्त संरचनालाई कोरोनाकालमा मधेस सरकारले आफू मातहतमा लिएर कोभिड अस्पताल सञ्चालन गरेको थियो ।

प्रतिक्रिया