विगत लामो समयको कुरालाई परै छाडेर वर्तमान स्थितिलाई त्यसमा पनि खास गरी २०६२–६३ को आन्दोलनपछिको स्थितिलाई मात्र हेर्ने र केलाउने हो भने पनि धरै कुरा छर्लंग हुन्छ । हाम्रो देश नेपालमा आज पनि नेपाली जनताको ठुलो हिस्साले कम्युनिस्ट आन्दोलनलाई समर्थन गर्छ । नेपाली जनताको ठुलो समर्थन पाएको यो कम्युनिस्ट आन्दोलन आज अनेक विकृति र विसंगतिले आक्रान्त छ ।
त्यसले गर्दा यस आन्दोलनप्रतिको जनताको समर्थन गुम्ने र आन्दोलनले सही दिशा र गति प्राप्त गर्न नसक्ने गम्भीर खतरा पैदा हुँदै गएको छ । फलतः यस आन्दोलनले नेपाली जनता र राष्ट्रको हितमा काम गर्न सक्ने हो कि होइन भन्ने आज ठुलो सन्देह र गम्भीर प्रश्न पनि खडा भएको छ ।
केवल हुल र भिड जम्मा गरेर जालझेलका आधारमा नेतागिरी गर्ने र त्यसलाई कम्युनिस्ट आन्दोलनको संज्ञा दिने र खोल ओढाउने कार्यले यस आन्दोलनको धेय र उद्देश्य कदापि पूरा हुन सक्दैन । अरूको कुरा छाडेर हाम्रै देशको स्थितिले पनि यो यथार्थ निरन्तर औँल्याइरहेको छ ।
कम्युनिस्ट आन्दोलनको आधारभूत धेय भनेको जनता र राष्ट्रले भोगिरहेका शोषण उत्पीडनका तत्कालीन र दीर्घकालीन तमाम समस्यालाई हल गर्ने दिशामा दृढरूपमा खडा गर्नु हो । त्यसको निमित्त यो आन्दोलन हाक्ने कम्युनिस्ट नेता तथा कार्यकर्ताहरु बैचारिक,सैद्धान्तिक र नीतिगत किसिमले प्रष्ट दृष्टिकोण बनाएर तदनुरुप अघि बढ्न तयार हुनु पर्छ ।
आजको बिश्वको बद्लिदो परिबेश खाशगरी बिश्वमा बिज्ञान र प्रबिधिको क्षेत्रमा आएको र दिनानुदिन आइरहेको क्रान्तिकारी परिवर्तन र त्यसले ल्याउने सामाजिक चेतना तथा जीवन प्रकृयामा आउने परिवर्तनलाई राम्ररी आत्मसात गर्न यो आन्दोलनले सक्नु र सिक्नुपर्छ ।
त्यसका लागि जनता र राष्ट्रका समस्या हल गर्ने अहिलेसम्मको सबैभन्दा बिकसित बैज्ञानिक सामाजिक सिद्धान्त अर्थात माक्र्सबादको आधारभूत ज्ञानको गहिरो र सघन अध्ययन तथा त्यस आधारमा अर्थ–सामाजिक–राजनीतिक स्थितिको विश्लेषण र सश्लेषण गर्ने र सही निचोड निकालेर अघि बढ्ने क्षमता, दक्षता र निपूणता हासिल गर्न सक्नुपर्छ ।
यसको अभावमा केवल हुल हाल जम्मा गरेर जाल झेलका आधारमा नेतागिरी गर्ने र त्यसलाई कम्युनिस्ट आन्दोलनको संज्ञा दिने र खोल ओढाउने कार्यले यस आन्दोलनको धेय र उद्देश्य कदापि पूरा हुन सक्दैन । अरूको कुरा छोडेर हाम्रै देशको स्थितिले पनि यो यथार्थ निरन्तर औँल्याइरहेको छ । वास्तवमा कम्युनिस्ट आन्दोलन जनतालाई जगाउने, संगठितरूपमा उठाउने र उनीहरुका यूगौँदेखिका दुःख कष्टबाट मुक्त गरेर उनीहरुलाई नै अघि बढाउने एउटा उच्च मानबीय, नैतिकतायुक्त र अग्रगामी आन्दोलन हो ।
यसले जनता र देशले भोगिरहनु परेका समस्याहरुको पहिचान गराउँछ र तिनको परिवर्तनको बाटो औँल्याउँदै तिनबाट मुक्ति पाउने आन्दोलनकारी ऊर्जा,उत्साह र शक्ति निर्माण गर्नुपर्ने आवश्यकताको बोध गराउँछ । त्यसैले यस आन्दोलनले समाज परिवर्तनको नियम – बर्ग संघर्ष, उत्पादन संघर्ष र बैज्ञानिक प्रयोगको शतत ज्ञान शोषण उत्पीडनमा परेका जन समुदायलाई अनिवार्यरूपमा हरहमेशा दिइनु पर्ने कुरामा सदा सर्बदा जोड दिन्छ ।
समाज परिवर्तनको मूख्य इञ्जिन (प्राइम इञ्जिन) बर्ग संघर्ष हो भनेर किन भनिएको हो भन्ने कुराको आधारभूत र गम्भीर ज्ञान कम्युनिस्ट नेता कार्यकर्तामा अनिवार्यरूपमा हुनु पर्छ भन्ने कुरा यसले निरन्तर औँल्याइरहेको र दर्शाइरहेको हुन्छ र हुनुपर्छ । समाज र प्रकृतिका तमाम विकास र परिवर्तनहरु त्यस समाज र प्रकृति भित्रका अधिशासित नियम अनुसार परिचालित हुन्छन् । ती कसैको मनोगत इच्छा आकांक्षा र कर बल या जोर जबर्जस्तीले हुने कुरा होइनन् ।
त्यसैले आफूलाई कम्युनिस्ट नेता तथा कार्यकर्ताका रूपमा प्रस्तुत गर्न चाहने कसैले पनि समाज परिवर्तनका यी आधारभूत कुरालाई राम्रोसँग बुझ्न, व्याख्या र विश्लेषण गर्न सिक्नु र सक्नुपर्छ । त्यसैअनुसार समाज कुन चरण या उपचरणबाट किन गुज्रिरहेको छ भन्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय समस्याका कुरा खुट्ट्याउन सक्नुपर्छ र अन्तरविरोधको पहिचान र परिचालन गर्न सक्ने प्रवीणता हासिल गर्न सक्नुपर्छ ।
माक्र्सवादी द्वन्द्वात्मक भौतिकवादी बिश्व दृष्टिकोणले ‘विपरीत तत्वको एकता र संघर्ष’ कसरी हुन्छ भन्ने कुरालाई अघि सार्दछ, परिवर्तनले ‘मात्रात्मकबाट गुणात्मक स्थितिमा फड्को मार्ने’ कुरा कसरी हुन्छ भन्ने परिवर्तनको नियमलाई स्पष्ट पार्दछ र कसरी परिवर्तनको प्रकृयामा ‘निषेधको निषेधको नियम’(ल अफ नेगेसन अफ नेगेसन) लागु हुन्छ भन्ने अत्यन्तै महत्वपूर्ण कुरालाई आत्मसात गर्नुपर्ने आवश्यकताको बोध गराउँछ ।
यी आधारभूत र महत्वपूर्ण कुरा नबुझी नबुझाई कोही पनि कम्युनिस्ट हुन सक्दैन र कसैलाई पनि कम्युनिस्ट नेता कार्यकर्ता बनाउन पनि सकिदैन । तर यति अध्ययनले मात्र पनि पुग्दैन । परिवर्तनका यी आधारभूत नियमलाई सामाजिक ब्यवहारमा कार्यान्वयन गर्न सदा तत्पर र क्रियाशील हुनु अझ बढी कम्युनिस्ट आन्दोलनका अभियन्ताका लागि आवश्यक छ ।
यसले देश र जनताले भोगिरहेका समस्याहरुको गहिरो ज्ञान र ती समस्याबाट बाहिर निस्कने उपायहरुको निमित्त सघर्षको सही बाटो अख्तियार गर्न सक्नुपर्छ भन्ने यथार्थलाई औँल्याउँछ । बर्ग संघर्षलाई सही किसिमले नबुझ्ने, नबुझाउने र सर्बहारा बर्गको अधिनायकत्व किन आवश्यक छ भन्ने कुराको सही अर्थमा बोध नगर्ने कुनै पनि नेता कार्यकर्ता जुनसुकै र जतिसुकै ठुलो पदमा बसेर कम्युनिस्टको बिल्ला लगाए पनि र जतिसुकै कम्युनिस्टको ‘रामनामी’ जपे पनि कीमार्थ कम्युनिस्ट हुन सक्दैन ।
किनभने कम्युनिस्ट बन्नु भनेको एउटा असल आचरण, चिन्तन, चरित्रको अर्को नाम त हुँदै हो, त्यसमा पनि कम्युनिस्टले सबै किसिमका अन्धबिश्वास, कुरीति, पाखण्ड, रहस्य र तिलस्मी किसिमका सबै अबैज्ञानिक कुराहरुको सदा सर्बदा पर्दाफास गरिरहनु पर्छ । त्यो ब्यवहारले देखाइरहनु पर्छ । त्यसो नगरीकन शोषण र अन्यायको बिरुद्ध कम्युनिस्ट आन्दोलन साँचो अर्थमा खडा हुन पनि सक्दैन र त्यसले जनताको बिश्वास जित्न पनि सक्दैन । चुनाव मात्र जित्ने कम्युनिस्टको धेय हुँदा पनि होइन ।
यद्यपि त्यसलाई पनि त्यसका सीमा र सामथ्र्यहरुलाई बुझेर उच्च परिवर्तनका लागि जन चेतना जगाउन र जनतालाई अघि बढाउने आन्दोलनकारूपमा एउटा संघर्षको थलो या मञ्चकोरूपमा लिन सकिन्छ र लिनु पनि पर्छ ।
यी तमाम कुराले प्रष्ट पार्छन् की, कम्युनिस्ट हुन र रहिरहन सहज र सरल कुरा छैन । तर समाज र संसारका अगाडि साच्चै नै असल मान्छे बन्ने हो भने कम्युनिस्ट हुने बाटोमा अग्रसर हुनै पर्छ भन्ने कुरा पनि त्यत्तिकै सत्य हो ।
किनभने कम्युनिस्ट आन्दोलनले शोषणयुक्त समाजबाट अगाडि बढेर बिद्यमान समाजलाई शोषणमुक्त समाज बनाउने बाटो अख्तियार गरेको छ र त्यसै गर्नु पर्छ भन्ने कुरामै यो आन्दोलन केन्द्रित छ, हुनुपर्छ । यो आन्दोलन कुनै ब्यक्ति बिशेषको या समूह बिशेषको पद, पैसा, प्रतिष्ठाका लागि नभएर बर्गीय शोषण र सामाजिक उत्पीडनबाट मुक्ति र सबै शोषित उत्पीडित जन समुदायको शतत प्रगतिको बाटोमा रहेका बिघ्न बाधाहरुलाई सदा सदाका निमित्त समाप्त पार्ने र निरन्तर पन्छाउँदै जाने आन्दोलन हो ।
प्रष्ट छ, कम्युनिस्ट आन्दोलन कुनै रहर या बाध्यताको आन्दोलन नभएर समाज विकास र प्रगतिलाई सही दिशा र गति दिने एउटा अनिवार्य र अपरिहार्य आवश्यकता हो । त्यसैले यसले तमाम मजदुर, किसान, महिला, यूवा–बिद्यार्थी, राष्ट्रिय पूँजीपति, तथाकथित दलित अर्थात शिल्पी समुदाय, जनजाति, मधेशी, मुस्लिम, अल्पसंख्यक, सीमान्तीकृत, लोपोनमुख समुदायको पक्षमा समग्रमा आधारभूत जनताको साथमा खडा हुनु पर्छ भन्ने यसको पहिलो र आधारभूत शर्त हो ।
यसको अभावमा यो जनताको आन्दोलन कदापि बन्न सक्दैन । वास्तवमा श्रमजीवी जनताको एकताको खोजी गर्नु र बिश्वका सम्पूर्ण श्रमजीवी जनता एक हौँ भन्नुको अर्थ पनि त्यही नै हो । तर अहिले देशमा जनताको पक्षमा, राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनताको पक्षमा खडा हुने कुरा नै एउटा साधारण ख्याल ठट्टा र हस्यौलीको कुरा जस्तो भएको या बनाइएको छ ।
किनभने कम्युनिस्ट भनिने कतिपय ठुला र साना पार्टीका नेता कतिपय कार्यकर्ताहरु समेत पनि कम्युनिस्ट चरित्रबाट नराम्रोसित स्खलित भएर यो अत्यन्तै गम्भीर महत्वको आन्दोलनलाई सामान्य मागिखाने भाँडोमा परिणत गर्ने र त्यसकै लागि ती पार्टीहरुमा तस्करी, कालोबजारी र दुई नम्बरी धन्धा गर्नेहरुलाई समेत ढोका खुल्ला राखिएको छ र उनीहरुलाई रातो तुल ओछ्याएर स्वागत गर्न उद्यत रहने गरिएको छ ।
वास्तवमा ‘बिलाश र बैभव’को बिल्कुलै गलत बाटोमा (केही अपवादलाई छाडेर)प्रायः सबै ब्यक्तिहरु नै तल्लिन भएर लागेपछि नै कम्युनिस्ट आन्दोलनप्रति नेपालमा नकारात्मक स्थितिले पहिले कहिल्यैभन्दा आज झन् बढेर बिकराल रुप लिएको हो । जसले गर्दा पारदर्शीता होइन, जाल झेल र तिकडमबाजीलाई नै कम्युनिस्ट हुँ भन्ने नेताहरुले अँगाल्ने र त्यसैमा महारत हासिल गर्ने गरेका छन् । जुन बिल्कुलै गैर कम्युनिस्ट बाटो– कम्युनिस्ट आन्दोलनभन्दा एकदमै भिन्न पाटो हो ।
देश र जनताप्रति निष्ठा, त्याग र समर्पणको अभावका करण वास्तवमा आज कम्युनिस्ट आन्दोनलको प्रतिष्ठा र मर्यादामाथि नै अत्यन्तै ठुलो आँच पुगेको र पुगिरहेको छ । सामान्यतः नेपाली जन आन्दोलन र बिशेषतः नेपाली कम्युनिस्ट आन्दोलन यस्ता यस्ता अबाञ्छित विकृति र विसंगतिहरूबाट बच्छ कि त्यसैमा फँस्छ त्यसले नै यसको भबिष्य के कस्तो बन्छ भन्ने कुराको निर्धारण गर्छ । नाम मात्र कम्युनिस्ट पार्टी राखेर सबै गलत कुरा गर्दै जाने हो भने त्यो कम्युनिस्ट आन्दोलन कीमार्थ हुन सक्दैन ।
त्यो कम्युनिस्टको नाममा देश र जनतालाई धोका दिने र अल्मल्याउने र ठग्ने अबाञ्छित प्रपञ्च मात्र हुन्छ । यो कम्युनिस्ट नैतिकताको कुरा बिल्कुलै हुदैन र कदापि हुन सक्दैन । यो त बाटो बिराएर या जानी जानी झोडीतिर पस्ने र फँस्ने तथा फँसाउने कुरा मात्र कुरा हो । कम्युनिस्टको बिल्ला भिरेर जनतालाई झुक्याइदैमा जतिसुकै ठुलो पदमा पुगे पनि र जतिसुकै ठुलो संगठन बनाए पनि कोही पनि सही कम्युनिस्ट हुन सक्दैन । बरु ‘नील वर्ण स्यालको कथा’ दोहोरिने कुरा भने निश्चितप्रायः छ ।
प्रतिक्रिया