ह्वाइट हाउस छिर्नासाथ अवैध आप्रवासी लखेट्दै ट्रम्प

काठमाडौँ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेलगत्तै अवैध आप्रवासीलाई फिर्ता गर्ने कामको सुरुआत गर्ने भएका छन् । ट्रम्पले २० जनवरी (सोमबार) ह्वाइट हाउसमा पदभार ग्रहण गर्दै छन् ।

अमेरिकी सञ्चारमाध्यम वाल स्ट्रिट जर्नल र न्युयोर्क टाइम्समा जनाइएअनुसार मंगलबार सबैभन्दा धेरै आपव्रवासीको बसोबास रहेको सिकागोबाट छानबिनको काम सुरु हुनेछ । ट्रम्पले अमेरिकी इतिहासमै सबैभन्दा ठुलो निर्वासन कार्यक्रम गर्ने बताएका छन् । ट्रम्पले यस कामको नेतृत्व गर्ने जिम्मेवारी टम होमानलाई दिइसकेका छन् । होमानले सिकागोमा कुनै पनि अवैध आप्रवासी बाँकी नरहने चेतावनी दिएका छन् ।

सोमबार डोनाल्ड ट्रम्पको शपथग्रहण भएपछि मंगलबार स्थानीय तह र संघीय सरकारका बीचमा यस विषयमा सहकार्य हुने जनाइएको छ । सिकागोपछि न्युयोर्क र लस एन्जलसमा यस्तो अभियान चलाइने जनाइएको छ । त्यसपछि डेनभिर र मियामी अर्को लक्ष्य हो । यी सबै स्थानमा छानबिन हुनेछ ।

यसरी समातिएका अवैध आप्रवासीलाई समाउने, देश फिर्ता गर्ने र जेल चलान गर्नेसम्मका योजना ट्रम्प प्रशासनको छ । कुनै आपराधिक गतिविधिमा संलग्न भएको पाइएमा प्रशासन झनै कठोर हुने जनाइएको छ । वर्तमान राष्ट्रपति बाइडेनको कार्यकालमा पनि आप्रवासीलाई निर्वासनमा नपठाइएको भने होइन । एक आर्थिक वर्षमै बाइडेनले २ लाख ७१ हजार आप्रवासीलाई देश फिर्ता गरेका थिए ।

सन् २०२१ मा बाइडेनले आप्रवासी फिर्ता पठाउने कामलाई रोकेका थिए । अर्को वर्ष भने दबाब आएका कारण उनले आप्रवासीलाई निष्कासन गर्ने काम गरेका हुन् । यद्यपि बाइडेनको कार्यकालमा अपराधमा संलग्न आप्रवासीमा मात्र ध्यान दिने नीति लिइएको थियो । धेरै अवैध आप्रवासी गलत कार्यलगत्तै सीमा पार गरिसकेका कारण छुट भएको जनाइएको छ । पछिल्लो आर्थिक वर्षमा निकालिनेमध्ये ८० प्रतिशत सीमा सुरक्षा बलले गिरफ्तार गरेका थिए ।

गत नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसलाई हराएका ट्रम्पले अवैध आप्रवासीको मुद्दालाई नै जोडबलले उठाएका थिए । मेक्सिकोको सीमाबाट अवैध आप्रवासी अमेरिका प्रवेश गर्ने क्रम सबैभन्दा बढी सन् २०२३ को जनवरीमा भएको थियो । अहिले सो क्रममा भने कमी आएको छ । पछिल्लो समय मेक्सिकोले पनि अवैध रूपमा अमेरिका प्रवेशमा सतर्कता अपनाएको जनाइएको छ ।

प्रतिक्रिया