ढुक्क भएर ऊर्जामा लगानी गर्न प्रधामन्त्रीको आग्रह

इप्पानले मनायो रजतजयन्ती


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई ऊर्जामा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २५औँ वार्षिकोत्सव ‘इप्पान रजतजयन्ती, २०८१’ को अवसरमा उनले ठूला ठूला आयोजनाहरूमा लगानी गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्ती ओलीले भने, ‘तपाईंहरू लगानी गर्नुस् । अरूलाई ल्याउँदै खोला दिँदै गरिरहनुपर्दैन । अप्पर अरुण अरूले पैसा नदिने भएर समस्या भएको हो । आफैँआफैँ उठाऔँ न । ठूलो कुरा मानिसहरूको सहभागिता हो । ठूला ठूला आयोजना विदेशी सहायताले चलेका छैनन् ।’

प्रधानमन्त्री ओलीले ऊर्जा उत्पादक निजी क्षेत्रलाई देशका लागि केही गरेको भन्दै आभार व्यक्त गरे । प्रधामन्त्री ओलीले भने, ‘देशलाई विकासको बाटोमा लैजाने कुरामा खर्च गर्नु भएको छ । यो राष्ट्रिय भावनालाई सम्मान छ । कति मान्छेले हुन्डि गरेर पैसा बाहिर पु¥याउन खोजेका हुन्छन् । तपाईंहरूले यहि लगानी गरेर देशको विकास गर्न खोज्नु भयो । ग¥यो भने हुन्छ भन्ने सफलताका कथाहरू भनिरहनु भएको छ ।’ ९५ प्रतिशत माथि विद्युतीकरण भइसकेको बताउँदै उनले ग्रीन हाइड्रोजनमा अध्ययन भइरहेको जानकारी दिए ।

विपन्न वर्गलाई समृद्धिको यात्रामा जोड्दैछौँ : ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गरिब तथा विपन्न वर्गलाई ऊर्जाको विकासमार्फत समृद्धिको यात्रामा जोड्ने गरी सरकारले काम गरिरहेको बताएका छन् । उनले जलविद्युत् केन्द्रको शेयर बिनाधितो प्रभावित क्षेत्रका गरिब तथा विपन्न वर्गलाई दिने प्रबन्ध मिलाउन लागिएको बताएका हुन् ।

उनले भने, ‘अहिले हुनेखाने वर्गले मात्र जलविद्युत् केन्द्रमा शेयर हालिरहेको अवस्था छ, सरकारले प्रभावित क्षेत्रका विपन्न वर्गलाई लक्षित गरी बिनाधितो शेयरको व्यवस्था गर्न लागेको छ ।’ उत्पादित विद्युत्को बजार सुनिश्चित रहेकाले ऊर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई उनले आग्रह गरे । मन्त्री खड्काले पहिले जलविद्युत् क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा धेरै समय लाग्ने गरे पनि हाल अधिकांश जलविद्युत् केन्द्रमा मोटरबाटोको पहुँच पुगेकाले काम गर्न थप सहज भएको बताए ।

उनले हालैको मन्त्रिपरिषद् बैठकले ऊर्जा विकास मार्गचित्र २०८१ पारित गरिसकेकाले उक्त मार्गचित्र कार्यान्वयनका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण भएको उल्लेख गरे । उनले भने, ‘सरकारले निजी क्षेत्रका समस्या राम्रोसँग बुझेको छ । ऊर्जा उत्पादनका क्रममा देखिएका नीतिगत समस्या समाधान गर्दै सरकार अगाडि बढ्छ । यसअघि ऊर्जा उत्पादनको जिम्मामात्र निजी क्षेत्रलाई दिए पनि हाल प्रसारण लाइनसमेत निजी क्षेत्रले बनाउन पाउने व्यवस्था गरिएको छ । यसको लाभ लिन निजी क्षेत्रलाई आग्रह गर्दछु ।’

सरकारको प्रस्तावले निजी क्षेत्र त्रासित छ : इप्पान अध्यक्ष

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रलाई १०० मेगावाटका आयोजनामा सीमित गर्ने प्रस्ताव विद्युत विधेयकमा आएकाले आफूहरू त्रासमा रहेको बताए । अध्यक्ष कार्कीले भने, ‘५०० मेगावाटसम्मका आयोजना बनाइरहेको निजी क्षेत्रलाई १०० मेगावाटका आयोजनामा सीमित गर्ने, सरकारले बिना प्रतिस्पर्धा आयोजना बनाउने र उसले छोडेका आयोजना मात्रै निजी क्षेत्रले बनाउने भन्ने जुन प्रस्ताव विद्युत विधेयकमा आएको छ, यसले नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रलाई ढोका नै बन्द गर्ने पनि त्रासमा हामी छौँ ।’

उनले निजी क्षेत्रलाई निषेध गरेर सन् २०३५ सम्म २८ हजार ५ सय उत्पादन गर्ने लक्ष्य भेट्न नसकिने बताए । उनले भने, ‘भरखरै अनुभवी हुँदै गएको निजी क्षेत्रलाई सहजीकरण गर्दै ऊर्जा उत्पादनका लक्ष्यहरु भेटाउनुपर्नेमा निजी क्षेत्रलाई निषेध गरेर त यो लक्ष्य कसरी प्राप्त होला ? त्यसकारण विद्युत विधेयकका असमान दफाहरुमा संसोधन गरेरमात्रै संसदबाट पारित गर्नका लागि सम्माननीय प्रधानमन्त्रीज्यू र मन्त्रीज्यूसमक्ष हार्दिक अनुरोध गर्दछौँ ।’

अध्यक्ष कार्कीले नेपालको कुल विद्युत उत्पादन क्षमता ३ हजार ५०० मेगावाट पुग्दा निजी क्षेत्रबाट मात्रै २५ वर्षको अवधिमा २७ सय ४० मेगावाट विद्युत उत्पादन भइसकेको जानकारी दिए । उनका अनुसार यो भनेको कुल उत्पादनमा निजी क्षेत्रको योगदान करिब ८० प्रतिशतभन्दा बढी हो ।

उनले ४ हजार मेगावाट क्षमताका आयोजना निर्माणाधिन रहँदा ४ हजार ३०० मेगावाट क्षमताका आयोजनाहरू पीपीए सम्पन्न गरेर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेको बताए ।

अध्यक्ष कार्कीले भरखरै मन्त्रिपरिषदबाट स्वीकृत भएको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८१ को स्वतन्त्र ऊर्जा उत्पादकहरुको छाता संस्थाको अध्यक्षको हैसियतमा यो ऐतिहासिक कदमको स्वागत गर्दै यसको नेतृत्वकर्ता प्रधानमन्त्री र ऊर्जा मन्त्रीलाई धेरै धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया