संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा हालै भएको युद्धविरामले सहायता वितरणमा आइपर्ने अवरोध हटाउन अत्यावश्यक भएको बताएका छन् ।
गुटेरेसले प्यालेस्टिनी भू–भागको अखण्डताको सम्मान गर्न र शान्ति कायम गर्न सक्षम एकीकृत प्यालेस्टिनी नेतृत्व सुनिश्चित गर्न दबाब दिन पनि आग्रह गरे ।
उनले भने, ‘यो युद्धविरामले गाजाभरि सहायता वितरणमा महत्वपूर्ण सुरक्षा र राजनीतिक अवरोधहरू हटाउनु अत्यावश्यक छ, यसले तत्काल जीवन बचाउने मानवीय सहायतामा व्यापके वृद्धिका लागि सहयोग गर्न सम्भव हुनेछ।’
गुटेरेसले घातक द्वन्द्वमा युद्धविरामको आह्वानको नेतृत्व गरेका छन् । संयुक्त राष्ट्रसंघीय निकायले वितरण गरेको सहयोगसहित युद्धग्रस्त क्षेत्रमा निर्बाध रूपमा सहायता प्रवाहको लागि विश्व समुदायको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रसंघका मानवीय सहायता प्रमुखले युद्धविरामले आशा र अवसरको क्षण प्रदान गरेको बताएका छन् । ‘हामी कुनै भ्रममा पर्नु हुँदैन कि बाँचेकाहरूलाई सहयोग प्राप्त गर्न अझै पनि कति गाह्रो हुनेछ ।
यो भन्दा बढी हुन सक्दैन,’ मानवीय सहायता प्रमुख टम फ्लेचरले एक विज्ञप्तिमा भनेका छन् । संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले यो सम्झौतालाई ‘लामो समयदेखि पर्खाइमा रहेको बताएको छ ।
युनिसेफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘युद्धले गाजाका बालबालिकामा भयानक क्षति पुर्याएको छ, जसमा कम्तीमा १४ हजार ५०० बालबालिकाको मृत्यु भएको छ, हजारौँ घाइते भएका छन्, अनुमानित १७ हजार आफ्ना आमाबाबुबाट अलग्गिएका छन् र करिब १० लाख विस्थापित भएका छन् ।’
गुटेरेसले पत्रकारहरूसँगको कुराकानीमा नयाँ सम्झौतालाई महत्वपूर्ण पहिलो कदम भएको बताएका छन् । उनले भने, ‘हामीले कब्जा गरिएको प्यालेस्टिनी भूभागको एकता, निरन्तरता र अखण्डताको संरक्षणसहित व्यापक लक्ष्यहासिल गर्न सबै प्रयासलाई परिचालन गर्नै पर्छ ।’
उनले भने, ‘स्थायी शान्ति र स्थिरता हासिल गर्न प्यालेस्टिनी एकता आवश्यक छ र एकीकृत प्यालेस्टिनी शासनलाई उच्च प्राथमिकताको रूपमा रहनुपर्छ भन्ने कुरामा म जोड दिन्छु ।’
गुटेरेसले द्वन्द्वमा रहेका सबै पक्षलाई प्यालेस्टिनी, इजरायली र व्यापक क्षेत्रको राम्रो भविष्य सुरक्षित गर्न, कब्जा अन्त्य गर्न र वार्ताद्वारा दुई–राज्य समाधान प्राप्त गर्न अवसरको सदुपयोग गर्न आह्वान गरे ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुखले बुधबार इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताको स्वागत गर्दै गाजामा स्वास्थ्यको आवश्यकता अझै व्यापक रहेको बताए । उनले शान्ति नै उत्तम औषधि भएको बताए ।
टेड्रोस अधानोम गेब्रेयससले एक्समा जारी सन्देशमा भनेका छन्, ‘गाजा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता स्वागतयोग्य र उत्साहजनक छ, सबै पक्षले सम्झौताको सम्मान गर्नेछन् र दिगो शान्तिका लागि काम गर्नेछन् ।’
प्रतिक्रिया