गाजा युद्धविराम सम्झौताकाे पहिलो चरण : ३३ जना इजरायली बन्धक रिहा हुने

जेरुसेलम । कतारमा भइरहेको गाजा युद्धविराम सम्झौताको पहिलो चरणमा ३३ जना इजरायली बन्धक रिहा हुने वार्तासँग सम्बन्धित स्रोतहरू र इजरायली मिडियाले बताएका छन् ।

मध्यस्थकर्ताहरू कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाले हालैका दिनहरूमा सम्झौता गर्ने प्रयासहरू तीव्र पारेका छन् र वार्ताबारे जानकार एक स्रोतले मंगलबार एएफपीलाई दोहामा अन्तिम चरणको वार्ता सुरु हुने बताएको थियो ।

वार्तासँग सम्बन्धित दुई स्रोतले नाम नखुलाउने सर्तमा प्रारम्भिक आदान–प्रदानमा इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा ३३ जना बन्धक रिहा गरिने बताए ।

यी बन्धकहरू सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि गाजा पट्टीमा बन्दी बनाइएका ९४ जनामध्येका हुन् । यो संख्यामा इजरायली सेनाले मृत भनेका ३४ जना बन्दी समावेश छन् ।

टाइम्स अफ इजरायल समाचार वेबसाइटले वार्तासँग परिचित इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै ‘सम्झौताको पहिलो चरणमा ३३ वटा मानवीय मामिला समावेश छन्’ भनी रिपोर्ट गरेको छ ।

वार्तासँग सम्बन्धित दुई स्रोतमध्ये एकका अनुसार सम्झौताको पहिलो चरणमा ३३ जना इजरायली बन्धकलाई समूहमा रिहा गर्ने व्यवस्था छ, जसमा पहिले बालबालिका र महिलाहरूलाई रिहा गरिनेछ ।

टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार इजरायली अधिकारीहरूले प्रस्तावित प्रारम्भिक आदानप्रदानमा समावेश ३३ जना बन्धक जीवित रहेको विश्वास गरेका छन् । यद्यपि इजरायल उनीहरूको स्थितिको पुष्टिको प्रतीक्षामा रहेको रिपोर्टमा उल्लेख छ ।

‘यदि पहिलो चरण सम्पन्न भयो भने सम्झौता लागु भएको १६औँ दिनमा इजरायलले बाँकी बन्दीहरूलाई मुक्त गर्न दोस्रो चरणमा वार्ता सुरु गर्नेछ’, रिपोर्टमा भनिएको छ, ‘यसमा पुरुष सैनिकहरू, सैन्य उमेरका पुरुषहरू र मारिएका बन्धकहरूको शवहरू समावेश छन् ।’

गत हप्ता हमासले बहु–चरण सम्झौताको पहिलो चरणमा ३४ जना बन्धकलाई रिहा गर्न सहमत भएको संकेत गरेको थियो । इजरायली मिडियाले मंगलबार प्रस्तावित सम्झौताअन्तर्गत पहिलो चरणको कार्यान्वयनका क्रममा इजरायललाई गाजाभित्र बफर जोन कायम राख्न अनुमति दिइने पनि बताएको छ ।

‘इजरायली सेनाले सबै बन्धक फिर्ता नगरेसम्म गाजाबाट फिर्ता हुने अपेक्षा गरिएको छैन, तर यसले दक्षिणी गाजाबाट बासिन्दाहरूलाई पट्टीको उत्तरतिर जान अनुमति दिनेछ’, वामपन्थी झुकाव भएको अखबार हारेट्जले भनेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार युद्धविराम र बन्धक मुक्तिको सम्झौता लगभग अन्तिम भएको र यो उनले मे महिनाको अन्त्यमा सार्वजनिक गरेको तीन चरणको युद्धविराम योजनामा आधारित रहेको बताए ।

‘इजरायल र हमासबीचको युद्धमा हामी एउटा प्रस्ताव अन्ततः साकार हुने अवस्थामा पुगेका छौँ’, बाइडेनले विदेश मन्त्रालयमा बिदाइ भाषणमा भने । वार्ताका मुख्य अड्चनका विषयहरू कुनै पनि युद्धविरामको स्थायित्व र प्यालेस्टिनी क्षेत्रका लागि मानवीय सहायताको मापनमा असहमति रहेको छ ।

अन्य विवादका विषयहरूमा विस्थापित गाजावासीहरूको घर फिर्ती, प्यालेस्टिनी क्षेत्रबाट इजरायली सेनाको फिर्ती र सीमा नाकाहरू पुनः खुला गर्ने विषय समावेश छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाबाट इजरायली सेनाको पूर्ण फिर्तीलाई दृढतापूर्वक अस्वीकार गरेका छन् भने त्यस क्षेत्रमा प्यालेस्टिनी शासनको विरोध गरेका छन् ।

वार्तासँग परिचित एक स्रोतका अनुसार कतारमा भइरहेका वार्ताहरू हमास र इजरायली वार्ताकारहरू दुई अलग–अलग कोठामा उपस्थित भएर सञ्चालन भइरहेका छन् । मिडिया रिपोर्टहरूका अनुसार कुनै पनि सम्झौताले इजरायली मन्त्रिमण्डलको स्वीकृति आवश्यक पर्ने सम्भावना छ ।

प्रतिक्रिया