नेपाल एकीकरण र पृथ्वी जयन्तीको महत्व

पृथ्वीनारायण शाह देशको स्वतन्त्रताप्रति कति संवेदनशील थिए भन्ने पादरीहरूको निष्कासनको घटनाबाट पुष्टि हुन्छ । तिनै पादरीहरू र तिनका नेपाली अनुचरहरूले नेपाल एकीकरणको कुरालाई कीर्तिपुरमा भएको घटनालाई बढाइचढाइ गरी पृथ्वीनारायण शाहको बदनाम र विरोध गर्छन्

बोर्णबहादुर कार्की

गएको पुस २७ गते देशभक्त राष्ट्रवादी जनता र संघसंस्थाहरूले पृथ्वी जयन्ती हर्षोल्लासका साथ मनाए । नेपालको पछिल्लो राजनीतिक परिवर्तन, विशेष गरी गणतन्त्रको घोषणापछि अलि सुस्ताएको पृथ्वी जयन्ती पछिल्ला केही वर्षदेखि स्वस्फूर्त रूपमा मनाउने प्रचलन बढेको छ । त्यसैले यतिबेला पृथ्वीनारायण शाहको जयन्ती र यसको महत्व तथा मर्मका विषयमा चर्चा हुनु सान्दर्भिक हुन्छ ।

नेपाल एकीकरण हुनुभन्दा अघि नेपाल बाइसे चौबिसे राज्यहरू समेत गरी करिब ५० भन्दा बढी स–साना राज्यमा विभाजित थियो । त्यही बेला अंग्रेजहरूले स–साना राज्यहरू छरिएका भारतका राज्यहरूलाई आफ्नो उपनिवेश बनाइसकेका थिए । भारतको अधिकांश भाग अंग्रेजहरूको उपनिवेश बनिसकेको थियो । एक प्रकारले सम्पूर्ण भारत अंग्रेजको गुलाम बनिसकेको थियो । अंगेजहरू यत्तिमै रोकिनेवाला थिएनन् उनीहरू भारत र नेपालसँगै तिव्बत हुँदै चीनसम्मलाई उपनिवेश बनाउने सोच र योजनामा अघि बढिरहेका थिए ।

राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिति प्रतिकुल रहेको बेला नेपालको गोरखा राज्यका राजा थिए पृथ्वीनारायण शाह थिए । गोरखाका शाहवंशीय राजा पृथ्वीनारायण शाहले अंग्रेजहरूले नेपालका स–साना राज्यबीच द्वन्द्व गराएर सहजै आफ्नो उपनिवेश बनाउनेछन् भन्ने बुझेका थिए भने धेरै राज्यमा बाँडिएका जनतामा पनि एउटा शक्तिशाली राज्यको चाहना थियो ।

स–साना राज्यहरूमा विभाजित राज्यहरूलाई एकीकरण गरी एउटै शक्तिशाली राज्य नबन्ने हो भने सम्पूर्ण नेपालले आफ्नो स्वतन्त्रता गुमाउनु पर्नेछ र अंग्रेजहरूको गुलामी बन्नु पर्नेछ भन्ने आम बुझाइ बलियो हुँदैगएको थियो । आम जनताको पनि चाहना थियो कि साना साना राज्यहरू एकीककरण गरेर एउटा शक्तिशाली राज्य बनोस, जसले अंग्रेजहरूको उपनिवेश हुनबाट नेपाललाई बचाओस् ।

राष्ट्रको यस्तो अवस्था र जनताको चाहना बुझेका दुरदर्शी राजा पृथ्वीनारायाण शाहले नेपाल एकीकरणको अभियान सुरु गरे । जनताको चाहना रहेकोले सहजै नेपाल एकीकरण भयो । नेपाल एकीकरण रक्तविहिन त थिएन नै तर राज्यहरूबीच परम्पारागत युद्धमा हुने जस्तो रगतको खोलो रगत बगेन । त्यस हुनमा पनि विशेष कारण छ । नेपालका स–साना राज्यहरू विशेषतः खसहरूको बसोबास भएका राज्यहरू थिए । राज्य अलग अलग भएपनि उनीहरूको भाषा संस्कृति समान थियो । यी राज्य बीचमा व्यापार व्यावसाय पनि चलिरहेको थियो । यी राज्यहरूका जनता एकीकरण चाहन्थे । त्यसैले पनि धेरै ठूलो नरसंहारकारी रक्तपात नभइकन नेपाल एकीकरण सम्भव भाएको हो ।

खस भाषी वा समुदाय सर्वप्रथम पश्चिमबाट नेपाल प्रवेश गरेका थिए । उनीहरू भारतको उत्तराखण्ड,कुमउ, गडवाल,कश्मिरहुँदै आएर नेपालको सुदूरपश्चिममा बस्न थालेका थिए । उनीहरू नेपाल मात्रै होइन तिब्बत पुगेर त्यहाँ खस राज्य खडा गरेर केही वर्ष शासन समेत गरेका थिए । तिनै खसहरू तिब्बतबाट नेपालमा नागराजको नेतृत्वमा नेपाल आएर जुम्लाको सिंजा उपत्यकामा खस राज्यको स्थापना गरेका थिए । त्यहीं नै नेपाली भाषाको उत्पत्ति र विकास भएको थियो । त्यसवेला खस राज्यको सिमाना पूर्वमा टिस्टा, पश्चिममा भारतको काँगडा र दक्षिणमा गंगाको मेैदानसम्म फैलिएको थियो । पछि कर्णाली क्षेत्रको खस राज्य विभाजित भएर बाइसे राज्य बन्यो भने गण्डकी क्षेत्रका खस राज्य पनि बाँडिएर,भाँडिएर चौविसे राज्य बन्यो । पृथ्वीनारायण शाहले यिनै राज्यलाई एकीकरण गरेका हुन् । यसरी हेर्दा पृथ्वीनारायण शाहले नयाँ राज्य स्थापना गरेको भन्दा पनि पुराना खस राज्यको पुनः एकीकरण गरे भन्दा पनि हुन्छ ।

नेपाल एकीकरण भई शक्तिशाली राज्य बनेपछि अंग्रेजहरूले सजिलै कब्जा गर्न सकिन्छ भन्ने मनस्थिति त्याग्न वाध्य भए । त्यसैले अंग्रेजहरूले एकीकृत नेपालमाथि आक्रमण गर्ने हिम्मत गरेनन् । यसले गर्दा नेपाल अंग्रेजको उपनिवेश हुनबाट जोगिएर स्वाधीन र स्वतन्त्र राज्य रहिरह्यो । नेपाल एकीककरण गरिसकेपछि कृश्चियन पादरीहरू धर्मप्रचारको वाहानावाजीमा नेपाल आएका थिए । धर्मको नाममा नेपाललाई फरि एकपटक विभाजित गर्ने उनीहरूको नियत थियो ।

नेपालको परम्परागत धर्म संस्कृतिलाई विस्थापित गरी क्रिस्चियन धर्म स्थापना गरी अन्त्यमा नेपाललाई अंग्रेजको उपनिवेश बनाउने भित्री मनसाय उनीहरूको थियो । तर पृथ्वीनारायण शाहले यो कुरा बुझेर उनीहरूलाई देश निकाला गरिदिए । नेपाल राष्ट्रको जग बसाउन पृथ्वीनारायण शाहको महत्वपूर्ण र निर्णायक भूमिका छ । यदि त्यतिबेला पृथ्वीनारायण शाहले नेपाल एकीककरण नगरेको भए आज नेपाल भारतको एउटा प्रान्त मात्र हुने थियो । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेर शक्तिशाली राष्ट्र मात्रै बनाएनन्, राष्ट्र निर्माणको लागि दिव्य उपदेश पनि दिएका छन् ।

राजा पृथ्वीनारायण शाह देशको स्वतन्त्रताप्रति कति संवेदनशील थिए भन्ने कुरामा पादरीहरूको निष्कासनको घटनाबाट पुष्टि हुन्छ । तिनै पादरीहरू र तिनका नेपाली अनुचरहरूले नेपाल एकीकरणको कुरालाई कृर्तिपुरमा भएको घटनालाई बढाइचढाइ गरी पृथ्वीनारायण शाहको बदनाम र विरोध गर्छन् । नेपाल एकीकरण पक्कै पनि रक्तपात विहीन पक्कै थिएन तर एकीकरणको महान अभियानमा कतिपय गौण हुन्छन् । अहिले पनि पश्चिमाहरू नेपालको परम्परागत मैत्रीपूर्ण धर्म संस्कृतिलाई विस्थापित गरी कृश्चियन धर्म संस्कृतिलाई स्थापित गर्न लागि परेकै छन् ।

यिनीहरूले नेपाललाई कमजोर गराउन अनेक कोसिस गरिरहेका छन् । त्यसको लागि नेपालको धर्मसंस्कृति बाधक रहेको भन्ने उनीहरूको ठम्याइ छ । पश्चिमाहरू र तिनका नेपाली अनुचरहरू पृथ्वीनारायण शाहको असाध्यै धेरै विरोध गर्दछन् । पश्चिमा (अमेरिकी) कतिसम्म क्रुर छन भन्ने कुरा राजसंस्था नै समाप्त गर्ने गरी भएको दरबार हत्याकाण्ड, धर्मनिरपेक्षता र राजतन्त्र अन्त्य भएको घोषणा बाट पनि पुष्टि हुन्छ ।

अधिकांश नेपाली जनता हिन्दु धर्मालम्बी छन् । उनीहरूले अबलम्बन गर्ने धर्म संस्कृति पनि यहि हो । नेपालका अधिकांश जनता हिन्दु भएकोले हिन्दु राष्ट्रको उपमा दिनु वा हिन्दुराष्ट्र भनिनु कुनै अनौठो कुरो होइन । तर हिन्दु राष्ट्र भन्ने हटाइ धर्मनिरपेक्षताको घोषणा गरिनुमा पनि पश्चिमाहरूको हात रहेको स्पष्ट रूपमा बुझ्न सकिन्छ । अहिले पनि पश्चिमाहरू नेपालमा धार्मिक द्वन्द्व र जातीय द्वन्द्व गराएर अस्थिरता सृजना गर्न लागि परिरहेका छन् । पृथ्वीनारायण शाहको जन्मजयन्तीको यो अवसरमा सबै नेपालीले उनको मार्गदर्शनलाई अबलम्बन गरी विदेशी षडयन्त्रलाई परास्त गर्नु पर्दछ ।

(लेखक कार्की वरिष्ठ अधिवक्ता हुन् ।)

प्रतिक्रिया