ट्राफिक जामले अस्तव्यस्त जनकपुर

नाम र शालिक विवादले अलपत्र छ भानुचोक

२ वर्षमा पनि बनेन पार्किङस्थल

राष्ट्रिय प्राथमिक विद्यालय दशरथनगरको १२ कठ्ठा जग्गामा पार्किङस्थलको शिलान्यास गरेको २ वर्ष बितिसक्दा पनि निर्माण सकिएको छैन भने चोकको नाम र शालिकको विषयमा विवाद हुँदा भानुचोकमा खनिएको खाल्डो पनि अलपत्र छ

जनकपुरधाम । पछिल्लो समय सुन्दर देखिँदै गएको जनकपुरधाम बजार क्षेत्रमा सबैभन्दा ठुलो समस्या बनेको छ– पार्किङ । अझ प्रदेशको राजधानी पनि बनेपछि जनकपुरधाममा पार्किङसँगै ट्राफिक जामको समस्या पनि विकराल बन्दै गएको छ ।

नगरभित्र हजारौँको संख्यामा चल्ने सवारीसाधनका लागि व्यवस्थित पार्किङस्थल नहुँदा जामको समस्याले विकराल बन्दै गएको हो । बजार क्षेत्रको पार्किङ व्यवस्थित गर्न भन्दै जनकपुरधाम उपमहानगरपालिकाले वडा नम्बर–८ स्थित राष्ट्रिय प्राथमिक विद्यालय दशरथनगरको १२ कठ्ठा जग्गामा पार्किङस्थल निर्माण गर्ने भन्दै २७ माघ, २०७९ मै शिलान्यास गरेको थियो । तर, मेयर मनोजकुमार साह र उपमेयर किशोरी साहले संयुक्त रूपमा पार्किङस्थलको शिलान्यास गरेपछि स्थानीय बलदेव साह तेलीले उपमहानगरपालिकालाई विपक्षी बनाउँदै उच्च अदालत जनकपुरमा रिट दायर गरे ।

उच्च अदालतले २६ वैशाख, २०८० मा सो जग्गामा पार्किङस्थल निर्माण नगर्न अन्तरिम आदेश जारी गरेपछि निर्माणको काम रोकियो । अन्तिममा उपमहानगरले मुद्दा जितेपछि ५० लाख रुपैयाँ खर्चेर त्यहाँ माटो भर्ने काम गरियो । तर, शिलान्यास भएको २ वर्षसम्म पनि पार्किङस्थल बन्न सकेको छैन ।

निर्माणको काम एकातर्फ कछुवाको गतिमा छ भने अर्कातर्फ अव्यवस्थित पार्किङका कारण नगर अस्तव्यस्त बनेको देखिन्छ । नगर क्षेत्रका मुख्य सडकदेखि बजार क्षेत्रमा अव्यवस्थित पार्किङका कारण नगर क्षेत्र नै कुरूप देखिन थालेको छ । उपमहानगरले सडकपेटीमा पसल थापेर व्यापार गर्दै आएका साना व्यापारीहरूको पसल हटाए पनि सडकपेटी र सडकछेउ अहिले सवारीसाधनको पार्किङस्थल बनेको छ ।

ट्राफिक व्यवस्थापनका लागि उपमहानगरपालिका, नेपाल प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रूपमा काम गर्दै आए पनि पार्किङ निषेधित क्षेत्रमा समेत सवारीसाधनहरू निर्बाध पार्किङ गरेको पाइन्छ । विशेष गरी अस्पताल क्षेत्र र मुख्य बजार क्षेत्रमा अव्यवस्थित पार्किङ गरिँदै आएको छ ।


सवारीको चापले गर्दा नगरका सहायक बाटोसमेत अस्तव्यस्त हुने र सडकमै पार्किङ हुने गरेको छ । पछिल्लो समय जनकपुरधामका मुख्य सडकमा मात्रै नभई शाखा गल्ली तथा बाटोमा पनि जामको समस्या देखिन थालेको सवारीचालकको गुनासो छ । साँघुरो सडक, त्यसमाथि दायाँबायाँ दुवैतिर पार्किङ गर्नाले अन्य सवारी चालकलाई समस्या पर्ने गरेको छ ।

बजार क्षेत्रको सडकमा पार्किङ गर्न नपाइने गरी बोर्ड ठड्याइएको छ । तर, त्यही बोर्डमुन्तिर अव्यवस्थित रूपमा गाडी पार्किङ गरिराखेको पाइन्छ । पार्किङको सुविधा नभएकै कारण भिड र जामको समस्या बढेको सवारी चालकहरू बताउँछन् । उपमहानगरले सहरी क्षेत्रमा बढिरहेको सवारी चाप र त्यसले निम्त्याइरहेको जाम रोक्न उचित योजना ल्याउन सकेको छैन ।

जनकपुरधाममा गुड्नेमध्ये अधिकांश सवारीसाधनले बाटो छोट्याउँदै शाखा बाटो रोज्ने गर्दा पनि जामको समस्या बढेको पाइन्छ । बजारका मुख्य सडकबाहेक अन्य शाखा तथा गल्लीमा पार्किङ गर्दा सवारीधनीले पार्किङ शुल्क तिर्नुनपर्ने भएकाले पनि अव्यवस्थित पार्किङ बढेको हो । उपमहानगरले लामो समयदेखि पार्किङसम्बन्धी उचित नीति ल्याउन नसक्दा मुख्य सडकमा हुने पार्किङ बापतको शुल्कसमेत गुमाउँदै आएको छ ।

मेयर साह भने सवारी आवागमन र पार्किङ व्यवस्थित गर्ने गरी सडक चौडा बनाउनेदेखि फुटपाथ बनाउनेसम्मको काम भइसकेको बताउँछन् । साहले चालु आर्थिक वर्षमा पार्किङस्थल निर्माण सम्पन्न गर्ने उपमहानगरको योजना रहेको बताए । ‘नगरका विभिन्न चोकका सडक चौडा बनाइसकेका छौँ,’ साहले भने, ‘मापदण्ड मिचेर बनेका संरचना पनि भत्काउँदै आएका छौँ ।’ उनले मापदण्ड मिचेर बनेका सबै संरचना भत्काइसकेको र अहिले पनि काम भइरहेको जानकारी दिए ।

भानु चोकको अवस्था उस्तै

विभिन्न समयमा चोकको नाम परिवर्तन हुँदै जनकपुरको मुख्य चोकका रूपमा स्थापित भएको भानु चोक अहिले नामकै कारण अस्तव्यस्त बन्दै गएको छ । यहाँ ठड्याइएको भानुभक्तको स्मारक मधेस आन्दोलनका क्रममा भत्काइएपछि उक्त ठाउँमा पुनः शालिक निर्माणका लागि उपमहानगरलाई हम्मे परिरहेको छ । मधेस आन्दोलनका पहिलो सहिद रमेश महतोको नाममा चोकको नामकरण र शालिक राख्नुपर्ने भन्दै लोसपा केन्द्रीय उपाध्यक्ष तथा तत्कालीन मधेस प्रदेससभा सदस्य परमेश्वर साहले बजेट नै पारेका थिए । तर, सो समयमा मधेसवादी दलबाट जितेका तत्कालीन मेयर लालकिशोर साहले शालिक निर्माणमा चासो देखाएनन् । वर्तमान मेयर साह भने भानुभक्तकै शालिक बनाउने अडानमा छन् ।

जसपा र लोसपाले भानुभक्तको शालिक बन्न नदिने अडान लिएपछि निर्माणको काम स्थगित छ । शालिक निर्माणका लागि सर्वदलीय बैठकबाट सहमति खोज्ने प्रयास गरिए पनि सफल भएको छैन । शालिक निर्माण स्थलमा बीच सडकमा खाल्डो खनेर छाडिएको छ ।

भानुचोक नामकरण हुनुअघि उक्तचोकको नाम ‘खुकुरी चोक’ थियो । पञ्चायतकालमा २०४० सालको आसपास ‘जनकपुर नगर पञ्चायत’ ले भानुभक्तको शालिक राखेर भानुचोक नामकरण गरेको थियो ।

०००

दुर्घटनामा मृत्यु हुनेको संख्या भने घट्दो

जनकपुरधाममा ट्राफिक समस्या विकराल बन्दै गए पनि सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्यामा भने कमी आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार विगत ३ आर्थिक वर्षको तुलना गर्दा, आव २०७८÷७९ मा सवारी दुर्घटनामा परी १०५ जनाको मृत्यु भएको थियो भने २०७९÷८० मा ८४ जना र २०८०÷८१ मा ७४ जनाको मृत्यु भएको थियो । यस्तै, चालु आवको साउनमा १ जना, भदौमा ४ जना, असोजमा ४ जना, कात्तिकमा ४ जना र मंसिरमा ७ जनाले दुर्घटनामा ज्यान गुमाएको ट्राफिक प्रहरीको तथ्यांक छ ।

प्रतिक्रिया