राजदेवीमा आगलागि हुँदा ८ घर जलेर नष्ट

रौतहट । जिल्लाको राजदेवी नगरपालिका–५ पताहीमा आइतबार राती आगलागी हुँदा ८ घर जलेर नष्ट भएको छ । राती करिब १२ बजेर ४५ मिनेटको समयमा आगलागी हुँदा पासवान समुदायको ८ परिवारको फुसको घर जलेको हो ।

आगलागीमा सबैभन्दा बढी क्षति स्थानीय बाबुलाल पासवानको भएको छ । पीडितका अनुसार जग्गा खरिद गर्नको लागि घरमा राखेको १७ लाख नगद जलेको छ । सबै सुतेको बेला आगलागी भएकोले घरमा रहेको समान निकाल्न नसकेको उनले बताए । सुतिरहेका व्यक्ति ज्यान जोगाउन सफल भए पनि घरमा रहेको खाद्यान्न सामग्री पूर्ण रूपमा जलेर नस्ट भएको छ ।

आगलागी कसरि भयो भन्ने जानकारी नभएको बताउँदै उनले आगो लागेपछि थाहा भएको जनाए । आगलागीबाट स्थानीय राम नाथ पासवान, जगरनाथ पासवान, सोगारथ पासवान, प्रदीप पासवान, दीपेन्द्र पासवान, कान्ति देवी र नागेन्द्र पासवानको घर जलेको वडा अध्यक्ष सुरेश पण्डितले बताए ।

घरमा भएको गँहु, धान, चामल, विद्युतीय सामग्री, भाडा वर्तन, लत्ताकपडा नष्ट भएको पीडितले बताएका छन् । गौर नगरपालिकाबाट गएको बारुण यन्त्रको सहयोगबाट आगो नियन्त्रणमा लिएको स्थानीयले बताए । घटनाको जानकारी भए लगतै नगरप्रमुख भिखारीप्रसाद यादव घटनास्थलमा पुगेर पीडितलाई तत्काल बस्ने र खाने व्यवस्था गराउन वडा अध्यक्षलाइ निर्देशन दिएका छन् ।

प्रतिक्रिया