काठमाडौं । तमु ल्होसारको अवसरमा कलाकार बुद्धि तामाङले चलचित्र ‘कुस्ती’ निर्माण गर्ने घोषणा गरेका छन् । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने चलचित्र कुस्तीमा अभिनेता तामाङसँगै धीरज मगर र अभिनेत्री मिरुना मगरले अभिनय गर्नेछन् ।
चलचित्रको सार्वजनिक गरिएको पोस्टरमा कलाकारको आवरण (लुक्स) चरित्र अनुसार राखिएको कलाकार तामाङले जानकारी दिए ।
उनले भने, ‘हामीले तयार गरेको पोस्टर र त्यहाँ कलाकारले लगाउनुभएको पोसाकमा भएको रङले स्वभावलाई चित्रण गर्छ, हरियो र गुलाबी रङमार्फत हामीले उनीहरुको सम्बन्ध र स्वभावलाई उल्लेख गरेका हौँ, छुट्टिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथामा चलचित्र तयार हुनेछ ।’
कथावस्तु मन पर्नुका साथै अनुभवी समूह रहेकाले आफूले कलाकारितासँगै चलचित्र निर्माणलाई अगाडि बढाएको तामाङले बताए । यसमा कलाकार तामाङलाई चलचित्र निर्माणमा निर्देशक योञ्जनले सघाउँदै छन् । सम्बन्धमा रहेका जोडीको प्रेममा आउने उतारचढाव नै मुख्य विषय रहेको उनले बताए ।
‘उनीहरु एक अर्कालाई धेरै माया गर्छन् तर आ–आफ्नो स्वभावका कारण एकसाथ रहन कठिनाइको सामना गरिरहेका हुन्छन्, दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयास रहनेछ, एउटा पारिवारिक प्रेम कथानक चलचित्र बनाउने कोसिस गरिरहेका छौँ’, तामाङले भने ।
काठमाडौं रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, मोफसल एफडी कम्पनीले प्रदर्शनका लागि वितरण गर्ने चलचित्रको छायांकन आउँदो फागुनमा हुने बताइएको छ । अनुषा सिनेमावुड पिक्चर्स प्रालिको व्यानरमा तयार हुने उक्त चलचित्र आउँदो वर्ष २०८२ भदौमा प्रदर्शन हुनेछ ।
प्रतिक्रिया