मुगु । जिल्लामा रहेको छायानाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले छोटो समयमा जिल्लामै नमुनायोग्य काम गर्दै आएको छ ।
२०७१ मंसिर १ गते विधिवत रूपमा खोलिएको यस संस्थाले ४१ जना सेयर सदस्यबाट १२ लाख सेयर पँुजी जम्मागरी २ जना कर्मचारी राखेर कार्यालय सञ्चालन गरेको थियो ।
संस्था स्थापनाको १० वर्ष पुग्दै गर्दा यस संस्थामा ३३ जना कर्मचारी छन् भने २ वटा सेवाकेन्द्र, १ वटा केन्द्रीय कार्यालयसहित सदस्यमुखी सेवा दिइरहेको छायानाथ सहकारीका अध्यक्ष भुपेन्द्र मल्लले जानकारी गराए ।
उनका अनुसार ४१ जना सेयर सदस्यबाट सुरु गरिएको यस संस्थामा आजसम्म आइपुग्दा ११ हजार २३५ जना सेयर सदस्य पुगेका छन्, भने लघुवित्तमा आबद्ध सदस्य संख्या ८ हजार १२०, लघुवित्त केन्द्र ३८६ वटा र लघुवित्त समूह १ हजार ५४४ पुगेको छ ।
हाल सहकारीको कुल सम्पत्ति २५ करोड १३ लाख ५७ हजार, सेयर पुँजी २६ करोड ४ लाख ८४ हजार छ, बचत संकलन १९ करोड ४ हजार, लगानीमा रहेको ऋण १७ करोड २० लाख ६ हजार रहेको छ । जगेडा कोषमा २८ लाख २९ हजार, अन्य कोषमा ८२ लाख ४५ हजार छ भने संस्थाको असुली दर ९९ प्रतिशत रहेको छ ।
आउने २०८८ सालसम्ममा संस्थाले हालको भन्दा दोब्बर सदस्य पु¥याउने लक्ष्य लिएको र जम्मा पँुजी ४५ करोड बनाउने पनि अध्यक्ष मल्लले योजना सुनाए । जिल्लामा ४१० सहकारी संस्था दर्ता भए पनि ती के कसरी चलेका छन् कुनै निकायलाई जानकारी छैन् ।
तर, छायानाथ सहकारी भने ४–५०० देखि हजारसम्म सदस्यको बीचमा हरेक वर्ष वार्षिक साधारणसभा गर्ने जिल्लामै एक नमुना सहकारीको रूपमा चिनिँदै आएको छ । सहकारीले मंगलबार मात्रै करिब ३०० बढी सदस्य, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी अन्य सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिको उपस्तिथिमा एक कार्यक्रमबीच आफ्नो १०आँै साधारणसभा सम्पन्न गरेको छ । कार्यक्रममा उत्कृष्ट लघुवित्तका ७ सदस्यलाइ नगदसहित सम्मान गरिएको थियो ।
यति मात्र होइन, आर्थिक वर्ष २०८०÷०८१ मा प्रसूति सेवा ७०० का दरले ४१ जना सदस्यलाई, छोराछोरी मृत्यु संस्कार सेवा ३ हजारका दरले ८ जनालाई, सदस्यको दम्पती मृत्यु संस्कार सेवामा ६ हजारका दरले १२ जनालाई, सदस्यको मृत्यु संस्कार सेवा १० हजारका दरले ८ जनालाई र लघु बिमा सुविधा ७ जना सदस्यलाई यस संस्थाले रकम उपलब्ध गराएको बताइएको छ ।
नियमित आम्दानीको लागि २५० कित्ता र ५०० कित्ता सेयर खरिद गर्दा मासिक २५० देखि ५०० सम्म आम्दानी गर्न सकिने छ । सेयर सदस्यका छोराछोरीलाई बोर्डिङको मासिक शुल्कमा २५ प्रतिशतसम्म छुट दिने, प्राणघातक रोग लाग्दा बिनाब्याज २ लाखसम्मको ऋण उपलब्ध गराइने । सदस्यलाई दुर्घटना र स्वास्थ्य बिमामा आबद्ध गराइने र संस्थाको एम्बुलेन्स सेवा लिए भाडामा ५० प्रतिशत छुट सुविधा उपलब्ध गराउने अध्यक्ष मल्लले जनाएका छन् ।
आगामी दिनमा सदस्यले उत्पादन गरेका बस्तुलाई बजारीकरणका लागि ५ वटा ग्रिनसप सुरु गर्ने । स्थानीय सरकार संघ सहकार्य गरी ग्रामीण क्षेत्रमा एउटा इको भिलेज विकास गर्ने, स्थानीय युवाहरूको थप १०० वटा थ्री जिरो क्लब गठन गरी उनीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्जाल संघ जोड्ने, ग्रामीण भेगमा प्रत्येक लघुवित्त सदस्यलाई समूहमा १ हजार वटा बिरुवा लगाउने कार्यक्रम सञ्चालन गर्ने लगायतका दर्जनौँ लक्ष्य सहकारीले लिएको प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिको छ ।
मुगु
प्रतिक्रिया