कविलासी नगरपालिकाले मिडिया ट्रायल मात्र गरेको हो : पूर्वमेयर यादव

सर्लाही । मंगलबारका कविलासी नगरपालिकाले गरेको पत्रकार सम्मेलन मिडिया ट्रायल मात्र भएको सोही नगरपालिकाका पूर्वमेयर कौशल किशोर रायले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।

पूर्वमेयर यादवका अनुसार आफ्नो कार्यकालमा भएका विकास निर्माणका विभिन्न कार्यहरूलाई समेत वर्तमान मेयर ब्रह्मदेव रायले आफूले नै गरेको भनेर जनतालाई भ्रममा पार्ने प्रयास गर्नु सरासर गलत भएको उनले बताए । संघ र प्रदेश सरकारको योजनालाई पनि वर्तमान मेयरले पालिकाको योजना भएको बताउँदै जनतालाई झुक्याउने काम गरेको पूर्वमेयर यादवको जिकिर थियो ।

पूर्वमेयर यादव भन्छन्, ‘२०७४ को स्थानीय निर्वाचनमा राजपा पार्टीबाट आफू निर्वाचित भएपश्चात् पालिका र जनताको हितमा निरन्तर लागिपरेका थिए । जसको फलस्वरूप पालिका हरेक हिसाबले एउटा उचाइमा पुगेको थियो ।’

तर वर्तमान मेयरका कारणले पालिकाको साख गिरेको उनले बताए । दुई तिहाई बहुमतको भएको यस स्थानीय सरकारको काम कारबाही नै योजनाबद्ध रुपमा नदेखिएको पूर्वमेयर यादव बताउँछन् ।

निर्माण सम्पन्न भइसकेका प्राविधिक विद्यालय, बर्थिङ सेन्टर, पशु सेवा केन्द्रलगायतका भवनहरु प्रयोगबिहिन अवस्थामा रहेको भन्दै उनले तत्काल सञ्चालन गरी प्रयोगमा ल्याउन सुझाए । निर्माणाधीन रहेको रनियाको १५ सयाको अस्पताल र नगरपालिकाको प्रशासनिक भवनमासमेत कुनै कार्य प्रगति नभएको पूर्व मेयर यादवले बताए।

२०७९ को स्थानीय निर्वाचनमा जसपा नेपाल पार्टीबाट कविलासी नगरपालिका– ६ का वडाध्यक्ष पदमा उम्मेदवारी दिएका राम गोविन्द यादवका अनुसार वर्तमान मेयरको अहिलेसम्मको कार्यकाल असफल रहेको छ । आ. व. २०८०–०८१ मा विभिन्न शिर्षकको करोडौँ रुपैयाँ फ्रीज भएको उनले बताए । वडास्तरमा आफ्नो सक्रियतामा विभिन्न विकास निर्माणका कामहरु सम्पन्न भएको उनले जानकारी गराए ।

मलंगवास्थित जानकी पार्टी प्यालेसमा ‘कविलासी नगरपालिकाको काम कारवाहीमा भईरहेको बेथितिका’ विषयमा जानकारी तथा खबरदारी गराउन आयोजित पत्रकार सम्मेलनमा जसपा नेपाल पार्टीका जिल्ला, प्रदेश र केन्द्रिय तहका नेता तथा कार्यकर्ताहरु, नागरिक समाज, बुद्धिजीवि, कर्मचारी, कृषक वर्ग, पत्रकार र आम जनसमुदाय समेतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया