ऋण तिर्छु भन्दाभन्दै जग्गा लिलामी गरेको आरोप

व्यापारी र स्थानीयले घेरे सिद्धार्थ बैंकको शाखा

जनकपुरधाम । जनकपुरधामस्थित एक बैंकले ऋणीलाई अन्याय गरेको भन्दै स्थानीयबासी चक्काजामसहित प्रदर्शनमा उत्रिएका छन् । मिल्स एरियास्थित सिद्धार्थ बैंक लिमिटेडले ऋणीले ऋण चुक्ता गर्न तयार रहे पनि बैंकले जग्गा लिलाम गरेको भन्दै चक्काजाम गरेर प्रदर्शन गरिएको हो ।

जनकपुरधामको भ्रमरपुरा चोकमा लक्ष्मी ट्रेडर्स नामक ग्यास पसल सञ्चालन गर्दै आएका दिनेश राय कुर्मीले आफ्नो २ करोड रुपैयाँ मूल्य बराबरको जग्गा बैंकले अरूकै नाममा पास गरिदिएको बताए । बैंकले व्यापारीलाई अनावश्यक दुःख दिएको भन्दै शुक्रबार जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा मिल्स एरियास्थित बैंकको कार्यालयअगाडि शुक्रबार करिब २ घन्टा चक्काजाम गर्दै प्रहरी प्रशासन र बैंकविरुद्ध नाराबाजी गरे ।

के हो विवाद ?

भ्रमरपुरा चोकस्थित लक्ष्मी ट्रेडर्सका सञ्चालक जनकपुरधाम–८ का दिनेश राय कुर्मीले सिद्धार्थ बैंकको मिल्स एरिया शाखाबाट ३५ लाख रुपैयाँ बिजनेस लोन र महेन्द्रनगरस्थित शाखाबाट ४५ लाख रुपैयाँ आफ्नी भाउजूको नाममा व्यक्तिगत ऋण लिएको बताए । दुवै ऋणको ब्याज आफूले नियमित बुझाउँदै आएको रायको दाबी छ ।

आफूले पूरै ऋण चुक्ता गर्न तयार रहँदा पनि दुवै शाखाका प्रबन्धकहरू मिलेर आफूलाई फसाउन खोजेको आरोप उनको छ । रायले आफू ऋण बुझाउनकै लागि गत १२ दिनदेखि बैंक धाउँदै आइरहेको बताए । ‘बैंकका प्रबन्धकलाई ऋण क्लियर गर्छु, हिसाब देखाइदिनुस् भन्दा सादा कागजमा मात्रै हिसाब देखाए,’ रायले भने, ‘सादा कागजको हिसाब मान्दिनँ भन्दा आजको आजै ऋण चुक्ता गर्नुस् नभए जग्गा लिलाम गर्छु भन्दै धम्क्याउन थाले ।’

आफूले ‘१ साताको समय दिनुस् पूरै ऋण चुक्ता गर्छु’ भन्दा पनि महेन्द्रनगर शाखाका प्रबन्धक शिव यादव र मिल्स एरिया शाखाका प्रबन्धक अर्ण बलम्पाकी मिलेर महोत्तरीको सरपल्लो निवासी मिथलेशदेवीको नाममा जग्गा पास गरिदिएको रायको गुनासो छ ।

महेन्द्रनगरस्थित आफ्नो जग्गाको मूल्य २ करोड रुपैयाँभन्दा बढी रहे पनि बैंकले कम मूल्यमै लिलाम गरेको उनको भनाइ छ । बैंकले ९० लाखमा जग्गा लिलामीमा राखेकामा १ करोड ३२ लाख रुपैयाँमा बिक्री गरिएको उनले जानकारी दिए । बैंकले मालपोतका कर्मचारीहरूसँगको मिलेमतोमा बाटो सिफारिसबिनै गत शुक्रबार आफ्नो जग्गा पास गरिदिएको उनको दुःखेसो छ ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले रायले सिद्धार्थ बैंकबाट व्यक्तिगत र व्यावसायिक गरी दुइटा ऋण लिएको बताए । व्यावसायिक ऋणको सबै ब्याज भुक्तान भइसकेको र व्यक्तिगततर्फ विगत करिब ७ महिनाको ब्याज तिर्न बाँकी रहेको अवस्थामा बैंकले ऋणीलाई कुनै जानकारी नै नदिई वडाको सिफारिसबिनै ८६ लाख रुपैयाँ ऋणका लागि करिब २ करोड मूल्य बराबरको जग्गा लिलाम गरेको बताए ।

यता, जनकपुरधामको मिल्स एरियास्थित सिद्धार्थ बैंकका शाखा प्रबन्धक बलम्पाकीसँग सम्पर्क गर्न जाँदा बैंकमा सञ्चारकर्मीलाई प्रवेश नै दिइएन । टेलिफोनमार्फत प्रतिक्रिया लिन खोज्दा उनको नम्बर ‘स्विच्ड अफ’ छ । यस घटनाका कारण मिल्स एरिया शाखाको काम २ दिनदेखि प्रभावित भए पनि बैंकले कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया