रुकुमपश्चिम । रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा स्थानीय सरकार स्थापना कालदेखि खोलिएका उद्योगहरू अलपत्र परेका छन् । स्थानीय सरकारले पहिलो प्राथमिकतामा राखेर स्थापना गरिएका विभिन्न उद्योगहरू अलपत्र अवस्थामा छन् । दिगो नीति विना राज्यले करोडौँ लगानी गरेर स्थापना गरिएका उद्योग अलपत्र अवस्थामा रहेका हुन् । कुनै उद्योगको त नामनिसाना नै छैन । भने केही उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । आठबिसकोट–१२ झिन्चौरमा रहेको कर्णाली वेभरेज इन्डस्ट्रिज, वाइन र पानी उत्पादनका रूपमा स्थापना भएको उक्त उद्योग अहिले ठप्प भएको छ । स्थानीय युवाहरूको, आठबिसकोट नगरपालिका र कर्णाली प्रदेश सरकारको लाखौँ लगानी रहेको यो उद्योग अहिले भाडामा दिन लागिएको छ ।
कार्यपालिकाले निर्णय गरेर उक्त उद्योगलाई भाडामा दिन लागिएको हो । उद्योगका सचिव दत्तबहादुर पुनका अनुसार हालसम्म यो उद्योगमा २२ करोड बढी लगानी भइसकेको छ । तर प्रतिफल भने शून्य छ । पुनका अनुसार किसानबाट खरिद गरिएको किवी, सुन्तला लगायतका अन्य फलफूल खरिद गरे बापत भुक्तानी दिनुपर्ने रकम पनि दिन नसकिएको बताए । उनका अनुसार उद्योगमा अहिले झन्डै ७ करोडको वाइन थन्किएको बताए । उक्त वाइन बिक्री नहुँदा आर्थिक भार बढ्दै जाने र आयस्रोत नहुँदा उद्योग सञ्चालन गर्न समस्या भएको बताइन्छ । त्यस्तै नगरपालिकाले लाखौँ लगानी गरेको अर्को उद्योग हो प्लाई उद्योग यो पनि अलपत्र अवस्थामा छ । काष्ठ उद्योगका रूपमा सञ्चालित यो उद्योग सञ्चालनमा आउन सकेको छैन् । भने अर्को दुग्ध सहकारी संस्थाको पनि हालत त्यस्तै छ । दीर्घकालीन योजना नबनाएरै हचुवामा खोलिएका उद्योग धमाधम बन्द हुने अवस्थामा छन् ।
त्यस्तै आठबिसकोट–११ सिमबजारमा खोलिएका कर्णाली गार्मेन्ट उद्योग र ड्राइफुड उद्योगमा प्रदेश सरकारको लगानी भए पनि बन्द अवस्थामा छन् । कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयमार्फत १० लाख अनुदान र स्थानीय ९ जनाले ५–५ लाख सेयर लगानी गरेर खोलिएको गार्मेन्ट उद्योगमा पनि ताला लागेको छ । गार्मेन्ट उद्योगभित्र कपडा सिलाउने मेसिन खिया लागेका छन् ।
भवन बनाएर स्थापना गरिएको अर्को ड्राइफुड उद्योग पनि सञ्चालनमा आउन सकेको छैन । कर्णालीको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ३८ लाख अनुदान र आफूसहित ११ जना सेयर सदस्यले १–१ लाख गरी ४९ लाख रुपैयाँ लगानी गरेर खोलिएको उद्योग अहिले अलपत्र परेको उद्योगका अध्यक्ष गोर्ख कामीले बताए । उनले अहिले उक्त उद्योगमा स्केट पार्क सञ्चालन गरेका छन् । भवन बनाएको जग्गाको भाडासमेत तिर्न नसकेपछि उनले पार्क सञ्चालन गरेर त्यहीबाट उठेको रकमले भाडा तिर्ने भनेर शे–फोक्सुन्डो स्केट एन्ड हेल्थ स्पोट मनोरञ्जन पार्क सञ्चालनमा ल्याएको बताए ।
सौर्य दैनिकसँग अध्यक्ष कामीले भने, सुरुमा स्थानीयसहित मैले पनि सेयर लगानी गरेर स्थानीय स्तरमै उत्पादित वस्तुबाट ड्राइफुड बनाउने भनेर उद्योग स्थापना गरियो । अहिले नगरपालिकाबाट पनि बजेटको व्यवस्था भएन । सञ्चालन गर्नसमेत समस्या भएपछि जग्गाको भाडा तिर्नलाई भए पनि स्केट पार्क सुरु गरेको छु । अब जग्गाको भाडा तिरेर भवन भत्काउने वा कुनै विकल्प खोज्ने भन्ने बारे छलफल भइरहेको छ । कतिपयले सरकारी भवनमा व्यक्तिले पार्क सञ्चालन गरेको भन्ने गरेका छन् । तर यो जग्गा न सरकारको नाममा छ । न त भवन नै सरकारले बनाएको छ । हामीले उद्योग सञ्चालन गर्दा जग्गा भाडामा लिएका छौँ । उद्योग नचल्दा भाडा तिर्ने अवस्था नभएपछि पार्कबाट भएको आम्दानीले भाडा तिर्न सकिन्छ कि भन्ने हो ।
कामीले प्रदेश सरकारले लक्षित वर्गका लागि भनेर एकपटक आएको बजेटबाहेक आठबिसकोट नगरपालिकाको कुनै सेयर लगानी नभएको बताए । उद्योग सञ्चालनका लागि आवश्यक सामग्रीसमेत बन्द कोठामा अलपत्र अवस्थामा छन् । भने अर्कोतिर उद्योग बनाएको जमिनको समेत सञ्चालकले भाडा तिर्न नसकेको अवस्था छ ।
रुकुम पश्चिम
प्रतिक्रिया