लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग छलफल

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति, सदस्यसचिव तथा प्रज्ञापरिषद् सदस्यहरूसँगको भेटमा मंगलबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा ललितकलाको प्रवद्र्धन, विकासका साथै अनुसन्धानका काम गर्न प्रदेश सरकार प्रतिष्ठानसँग सहकार्य तयार रहेको बताए ।

सो भेटमा मुख्यमन्त्री आचार्यले ललितकलासँगै प्रदेशका कला, संस्कृति, रैथाने ज्ञान, सिप, विज्ञान तथा सम्पदाहरूको संरक्षण गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘हामी प्रदेश प्रज्ञा–प्रतिष्ठान गठनका लागि विधेयक अघि बढाउँछौँ । यस प्रदेशभित्रका कला, साहित्य, संस्कृति, सम्पदा संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध छ ।’

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रदेशको ललितकलाको इतिहास, अवस्थासँगै त्यसका विविध पक्षको अध्ययन, अनुसन्धानको विषयलाई प्राथमिकतामा राख्न मुख्यमन्त्रीलाई अनुरोध गरे । उनले लुम्बिनी प्रदेशमा ललितकलाको सम्भावना प्रबल रहेको बताउँदै यसलाई थप उजागर गर्नुपर्नेमा जोड दिए ।

प्रतिष्ठानका सदस्य–सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको अग्रसरतामा प्रदेशको दाङस्थित गढवा गाउँपालिकालाई सेरामिक्स हब बनाउने गरी कार्यक्रम अघि बढाइएको जानकारी दिए । उनले सो क्षेत्र देशकै सेरामिक्स हब बन्दा त्यहाँका माटोबाट बनेका सेरामिक्सका विविध सामग्री विश्वबजारमा पुग्ने र देशको पर्यटन, अर्थतन्त्र तथा रोजगारीका क्षेत्रमा समेत योगदान पुग्ने चर्चा गरे ।

उनले प्रतिष्ठानले अघिल्लो वर्षदेखि सुरु गरेको प्रादेशिक ललितकला प्रदर्शनीसँगै काठमाडौँ ट्रिएनाले २०२६ का बारेमा पनि जानकारी गराए । सो भेटमा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू पाल्साङ्मो लामा, प्रदीप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतोलगायतको सहभागिता थियो ।

प्रतिक्रिया