रश्मिलाज फेसियल हाउसले मनायो १७औँ वार्षिकोत्सव

काठमाडौँ । रश्मिलाज फेसियल हाउसले १७औँ वार्षिकोत्सव मनाएको छ । राजधानीको काठमाडौँ मल, सामाखुसीको बिजी मल र बालाजुको बुद्ध मलमा रहेका रश्मिलाज फेसियल हाउस एन्ड ब्युटी केयरले विभिन्न कार्यक्रमको आयोजनासहित बुधबार आफ्नो १७औँ वार्षिकोत्सव मनाएको हो । यो फेसियल हाउस १७ वर्षअघि क्रिसमसकै दिन स्थापना भएको थियो ।

अन्तर्राष्ट्रियस्तरको प्रविधि र सेवामूलक रश्मिलाज फेसियल हाउस एन्ड ब्युटीकेयरले आफ्नो १७औँ वार्षिकोत्सवको अवसर पारेमा काठमाडौँको गोंगबु आवास क्षेत्रमा रहेको मानवसेवा आश्रमका ५३ जना ज्येष्ठ नागरिक र साना बालबालिकाहरूलाई न्यानो कपडा वितरण गर्नुका साथै उनीहरूलाई मिष्ठान भोजन गराएको छ । सो अवसरमा केक काटेर शुभकामना आदानप्रदान गर्नुका साथै उनीहरूलाई आर्थिक सहयोग पनि गरिएको थियो ।

बुधबार नै रश्मिलाज फेसियल हाउसले सामाखुसीको बिजी बेंकेटमा विभिन्न कार्यक्रम गर्दै वार्षिकोत्सव मनाएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यता र अमेरिकाको ब्रेन्डफोर्डका उपमेयर रामचन्द्र श्रेष्ठको विशेष आतिथ्यतामा सो फेसियल हाउसका कर्मचारीलाई सम्मानित तथा पुरस्कृत गरियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष डिसीले सो वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै नेपालमा लामो समयदेखि सौन्दर्य क्षेत्रमा रश्मिलाज फेसियल हाउसले आफ्नो छुट्टै नाम बनाएको बताए । गुणस्तरकै कारण आजसम्म पनि रश्मिलाज फेसियल हाउस सबैको रोजाइमा परेको डिसीको भनाइ थियो ।

सो समारोहमा अमेरिकाको ब्रेन्डफोर्डका उपमेयर रामचन्द्र श्रेष्ठ, अमेरिकाको स्यायाटलका बुद्धीजंग कुंवर, निर्माण व्यवसायी संघ धादिङका पूर्वध्यक्ष रमेशकुमार श्रेष्ठ, भैरवी केवल धादिङका अध्यक्ष बद्रीकुमार श्रेष्ठले पनि रश्मिलाज फेसियल हाउस नेपालका उत्कृष्ट सौन्दर्य केन्द्र बन्न सफल भएको बताए । उनीहरूले यो फेसियल हाउसलाई वार्षिकोत्सवको शुभकामना पनि दिए ।

लामो समयदेखि यो फेसियल हाउसलाई माथि पु¥याउन निरन्तर योगदान दिएको भन्दै २ जना प्रोफेसनल ब्युटिसियनहरू नुतन गिरी र चन्दा घिसिङलाई कार्यक्रममा बोर्ड अध्यक्ष डिसीले विशेष सम्मान प्रदान गरे । यस्तै सो फेसियल हाउसको लामो समयदेखि फोटोग्राफी गर्दै आएका फोटो पत्रकार बद्री थापालाई पनि विशेष सम्मान गरियो ।

रश्मिलाज फेसियल हाउसका विभिन्न शाखामा लामो समयदेखि निरन्तर सेवा दिएका व्यवस्थापक, हेयर डिजाइनर, मेकअप आर्टिस्ट र ब्युटिसियनहरूलाई पनि कार्यक्रममा प्रशंसा पत्र प्रदान गरियो । समारोहमा केक काटेर शुभकामना आदानप्रदान गर्दै वार्षिकोत्सव सम्पन्न गरिएको थियो ।

सो फेसियल हाउसका सञ्चालक प्रकाशकुमार श्रेष्ठले फेसियल हाउसको ३ वटा शाखाबाट ६५ जनालाई नियमित रूपमा रोजगार दिन सफल भएको बताए । यस्तै हरेक वर्ष हजारौँ सौन्दर्य पारखीहरूको सुन्दरतामा निखार ल्याउन आफूहरू सफल भएको पनि उनले बताए ।

रश्मिलाज फेसियल हाउसकी अध्यक्ष एवं वरिष्ठ सौन्दर्यकर्मी रश्मिला श्रेष्ठले कार्यक्रममा सबैलाई स्वागत गर्दै आफूहरूले सौन्दर्य सेवा, ब्युटिसियनसम्बन्धी प्रशिक्षण र सौन्दर्य सामग्री नेपालमै उत्पादन गर्न पनि सुरु गरेको जानकारी दिइन् ।

प्रतिक्रिया