जनकपुरधाम । अन्तर्राष्ट्रिय मैथिली सम्मेलन देवघरमा सम्पन्न भएको छ । मैथिली संस्कृतिको संरक्षण र प्रवर्द्धनको उद्देश्यले आयोजित उक्त सम्मेलनमा नेपालको तर्फबाट सामाजिक कार्यमा अतुलनीय योगदान पुर्याएबापत राजीव झालाई ‘मैथिली रत्न’ सम्मान प्रदान गरिएको छ ।
क्लोथ बैंक नेपाल र खुल्ला सीमा संवाद समूहका अध्यक्ष झालाई यो सम्मान मैथिलाञ्चलको सामाजिक सेवा र मानवताका क्षेत्रमा पुर्याएको योगदानका लागि प्रदान गरिएको हो । सो सम्मान समारोहमा विद्यापति सेवा संस्थानका अध्यक्ष डा. वैद्यनाथ चौधरी बैजु बाबुले राजीव झाको अथक प्रयास र समर्पणको प्रशंसा गर्दै उनको समाजसेवाले स्थानीय क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याएको बताए ।
विशेष गरी गरीबी निवारण, कोभिड महामारीको समयमा निःशुल्क औषधि, अक्सिजन सिलिन्डर, अक्सिजन कन्स्ट्रक्सन उपलब्ध गराउनु, डाक्टरहरूको टोलीमार्फत निःशुल्क सेवा पुर्याउनु, सीमावर्ती क्षेत्रका समस्याहरू समाधान गर्ने पहल र नेपाल–भारतको खुल्ला सिमानाका पक्षमा उनले पुर्याएको योगदानलाई उल्लेखनीय मानिएको छ ।
कार्यक्रममा वैधनाथधामका सरदार पंडा वैद्यनाथ पंडा वैद्यनाथ पंडा, धर्म रक्षणी महासभाका महासचिव, झारखण्ड सरकारका पूर्वमन्त्री राज पलिवार, बेनिपुर विधान सभाका विधायक बिनयकुमार चौधरी, सिएम साइन्स कलेज दरभंगाको प्रीन्सपल दिलिप चौधरी, प्रख्यात साहित्यकार चन्द्रमोहन झा (परवा), प्राध्यापक चन्द्रशेखर झा (बुरहा भाइ), तथा अन्य प्रबुद्ध व्यक्ति, पत्रकार, सरकारी अधिकारी र समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
राजीव झाले सम्मान ग्रहण गर्दै यो उपलब्धि आफ्नो आमा–बुवा, श्रीमती सोनी देवी झा, छोरा, छोरी दाई, भाउजू, भाइ, बुहारी एवं समस्त परिवार, संस्थाका सम्पूर्ण पदाधिकारी र शुभचिन्तकहरूको सहयोगको परिणाम भएको बताए । साथै, उनले आगामी दिनमा अझ प्रभावकारी रूपमा समाजसेवामा समर्पित हुने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया