काठमाडौँ । नेपाल प्रिमियर लिग क्रिकेटअन्तर्गत सोमबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले हराएको छ । यससँसै समूह चरणमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिमले क्वालिफायर १ मा जनकपुर बोल्ट्ससँगको भिडन्त पक्का गरेको छ । पहिले ब्याटिङ गर्दै कर्णाली याक्सले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिम रोयल्सले १५ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । सुदूरपश्चिमसँग हारेर पनि कर्णाली प्लेअफमा पुग्न सफल भएको छ । कर्णालीले क्वालिफायर २ मा चितवन राइनोजसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
सुदूरविरुद्ध कर्णालीले कम्तीमा पनि १२ रनको जित आफ्नो पक्षमा पारेर १० अंक जोडेको अवस्थामा जनकपुरले चितवन राइनोजसँग इलिमिनेटर खेल्ने थियो । सुदूरविरुद्धको नतिजा आफ्नो पक्षमा पार्न नसकेको कर्णालीले क्वालिफायर २ पुग्न चितवनसँग भिड्नुपर्ने छ । यता क्वालिफायर १ भिडन्तमा बाजी मार्ने सुदूरपश्चिम र जनकपुरमध्ये १ सिधै फाइनलमा उपाधि भिडन्तका लागि पुग्नेछ । पराजित हुनेले इलिमिनेटरको विजेताविरुद्ध फाइनलका लागि खेल्नुपर्ने छ ।
यता सोमबारको खेलमा सुदूरपश्चिमलाई जिताउने क्रममा कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले ३८–३८ रनको योगदान दिए । साइफ जाइबले ११ रनको योगदान दिए । कर्णालीका लागि सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले समान १–१ विकेट झार्न सफल भए ।
यसअघि त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रनको योगफल तयार पारेको थियो । कर्णालीका लागि जिसन मक्सुदले ३०, विल बसिस्टोले १६, बाबर हायतले १२ तथा चाडविक वाल्टन र कप्तान सोमपाल कामीले समान ११ रन बनाए । सुदूरपश्चिमका लागि हरमित सिंहले ३, कप्तान दीपेन्द्रसिंह ऐरी र स्कट कुग्गेलिजनले समान २ तथा सेफ जैबले १ विकेट लिएका थिए ।
प्रतिक्रिया