यु– १९ महिला एसिया कप क्रिकेट : पाकिस्तानलाई हराउॅंदै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं । मलेसियामा जारी एसिसी यु– १९ महिला एसिया कप क्रिकेटमा पाकिस्तानलाई हराउँदै नेपालले सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको पहिलो खेलमा पाकिस्तान यु– १९ टिमलाई ४ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । यो नेपालका लागि एतिहासिक जित हो ।

आजको खेलमा नेपालले पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कप्तान पुजा महतोले सर्वाधिक रन ४७ बनाइन् । उनले ४७ बलमा ४ चौका प्रहार गरिन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो । पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ रन जोडिन् । उनले ४४ बलमा २ चौका प्रहार गरिन् ।

नेपालले पहिलो ओभरको तेस्रो बलमा विकेट लिए पनि त्यसपछि पाकिस्तानका ब्याटरहरु क्रिजमा जमेपछि नेपालले प्रतिस्पर्धात्मक लक्ष्य पाएको थियो ।

महम अनिसले ३७ बलमा २ चौकाको सहयोगमा २९ तथा रभेल फरहानले १५ बलमा १३ रन जोडिन् । नेपालका लागि कप्तान पुजा महतोले २ तथा रचना चौधरी, रिया शर्मा र सिमाना केसीले समान १ विकेट लिए ।

प्रतिक्रिया