सुदूरपश्चिमसँग हारे पनि कर्णाली प्लेअफेमा, काठमाडौं दौडबाट बाहिरियो, यस्ताे छ आगामी समीकरण

काठमाडौं । राजधानीमा नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार कर्णालीले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले समान ३८–३८ रन बनाए ।

यस्तै सैफ जैबले ११, विनोद भण्डारी र आरिफ सेखले समान ४–४ रन बनाउँदा ब्राण्डोन म्याकमुलेनले तीन रन जोडे । सुदूरपश्चिमले अतिरिक्त ७ रन प्राप्त गर्यो । बलिङतर्फ कर्णालीको लागि कप्तान सोमपाल कामी, विपीन शर्मा र नन्दन यादवले समान एकरएक विकेट हात पारे ।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा १० विकेट गुमाएर १०१ रन बनाएको थियो । कर्णालीका लागि जिशान मकसूदले सर्वाधिक ३० रन बनाए । उनले ३५ बलमा ४ चौकाको मद्दतले ३० रन बनाएका हुन् । विलियम बोसिस्टोले १६, बाबर हयातले १३, कप्तान सोमपाल कामी र चाडविक वाल्टनले समान ११–११ रन बनाए ।

यस्तै, कर्णालीको लागि देव खनालले ७, अर्जुन घर्तीले अविजित रहदैँ ३ र गुलसन झाले २ रनको योगदान दिए । कर्णालीले अतिरिक्त ८ रन प्राप्त गर्यो । बलिङतर्फ सुदूरपश्चिमका लागि हरमित सिंहले सर्वाधिक तीन विकेट लिए । यस्तै, कप्तान दीपेन्द्र सिंह ऐरी र स्कट कुग्गेलिजनले समान दुईरदुई विकेट लिँदा सैफ जैबले एक विकेट हात पारेका थिए ।

प्लेअफको समीकरण पूरा

एनपिएलको लिग चरणका खेलहरू सकिएसँगै प्लेअफ समीकरण पूरा भएको छ । सुदूरपश्चिमसँग हारका बाबजुद पनि कर्णाली प्लेअफमा पुगेको हो । काठमाडौं गुर्खाज भने प्लेअफको दौडबाट बाहिरिएको छ ।

जनकपुर बोल्ट्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स यसअघि नै प्लेअफ चरणमा पुगिसकेका छन् । एनपिएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्ने पक्का भएको छ भने चितवन र कर्णालीबीच इलिमिनेटरमा प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया