सुदूरपश्चिम रोमाञ्चक जितसहित प्लेअफमा

एनपिएल

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पोखरा एभेन्जर्सलाई ५ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स प्लेअफमा पुगेको छ । अन्तिम खेलअघि सुदूरपश्चिम १० अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ । १० अंक नै जोडेको जनकपुर बोल्ट्स यसअघि नै प्लेअफमा पुगिसकेको छ । ८ अंक बटुलेको तेस्रो स्थानको चितवन राइनोजले पनि प्लेअफमा स्थान पक्का गरिसकेको छ ।

अब सोमबार कर्णाली याक्स र सुदूरपश्चिमबीच हुने लिगको अन्तिम खेलबाट प्लेअफमा पुग्ने चौथो टोलीको टुंगो लाग्नेछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार दिनको दोस्रो खेलमा सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखरा अन्तिम ओभरमा ३ विकेट गुमाउँदा ३ बल खेल्न बाँकी छँदा १४८ रनमा अलआउट भएको हो । पोखरा अन्तिम २ ओभरबाँकी रहँदा जितको नजिक पुगेको थियो । अन्तिम २ ओभरमा ५ विकेट बाँकी रहेको पोखराका लागि १५ रन आवश्यक थियो । १९आँै ओभरमा ७ रन जोडेर २ विकेट गुमाएको पोखराले अन्तिम ओभरको सुरुआती ३ बलमा २ रन जोडेर ३ विकेट गुमाएको हो ।

१९औँ ओभरमा हरमित सिंहले पोखराका रेमन्ड रेइफरलाई ३३ रनमा खेलिरहँदा नरेन साउदबाट बाउन्ड्रीमा क्याच गराएका थिए । सोे ओभरको अन्तिम बलमा माइकल लिक्स पनि आउट हुँदा पोखरालाई अन्तिम ओभरमा ८ रन चाहिएको थियो ।

सुदूरपश्चिमकका स्कट कुगेलेइनले अन्तिम ओभरको पहिलो बलमा वाइड फ्याँके । दोस्रो बलमा किरण ठगुन्नालाई ३२ रनमा बोल्ड गरे । दोस्रो बलमा २ रन लिने क्रममा सुदीप अर्याल रनआउट हुन पुगे । तेस्रो बलमा विपिन खत्री क्याच हुँदा खेल सुदूरपश्चिमले जित्यो ।

पोखराका ओपनरद्वय आन्द्रेस गौसले २६ रन र दिनेश खरेलले १५ रन जोडे । तर कप्तान कुशल भुर्तेल भने शून्यमा आउट भए । लगत्तै दिलीप नाथ १ रनमा आउट हुँदा जेन मल्लिकले १० रन जोड्न सके । बलिङमा कुगेलेइनले ५ विकेट लिँदा १ मेडन राखे भने १८ रन मात्र दिए ।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५३ रन जोड्यो । सुदूरपश्चिमका लागि आरिफ शेखले नटआउट ४२ रन जोडे । उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे । त्यसअघि ओपनरद्वय सइफ जइब ९ रन र विनोद भण्डारी १४ रनमा आउट भए । सइफलाई दोस्रो ओभरमा पोखराका रेमन्ड रेइफरले बोल्ड गरेका थिए । भण्डारी सातौँ ओभरमा पोखराका कप्तान कुशल भुर्तेलको बलमा विपिन खत्रीबाट क्याच भए ।
भण्डारी आउट भएकै ओभरमा ब्रान्डन माक्मलेन पनि २३ रनमा आउट भए । उनलाई भुर्तेलले सागर ढकालबाट क्याच गराए । १०औँ ओभरमा हरमित सिंहलाई माइकल लिस्कले १३ रनमा सुदीप अर्यालबाट क्याच गराए । १५औँ ओभरको अन्तिम बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी २० रन बनाएर खेलिरहँदा सागर ढकालको एलबिडब्लूको धरापमा परे । उनले १६ बलमा १ छक्का प्रहार गरे ।

सुदूरपश्चिमले १९औँ ओभरको पहिलो बलमा इशान पाण्डेलाई १० रनमा रिटायर्ड आउट गराउँदै स्कट कुगेलेइनलाई ब्याटिङमा लगेको थियो । उनी अन्तिम ओभरको तेस्रो बलमा २ रनमा रनआउट भए । बलिङमा पोखराका कप्तान भुर्तेलले २ विकेट लिए भने रेइफर, सागर ढकाल र माइकल लिस्कले १–१ विकेट लिए ।

काठमाडौँको सम्भावन जीवितै

आइतबार नै भएको खेलमा काठमाडौँले रोमाञ्चक जित हात पारेको थियो । समूह चरणको अन्तिम खेलमा काठमाडौँले विराटनगर किंग्सलाई १ विकेटले हराएको हो । विराटनगरले दिएको ११७ रनको लक्ष्य काठमाडौँले १८ दशमलव १ ओभरमा ९ विकेट गुमाएर भेट्टायो ।

दिपेश कँडेल काठमाडौँको जितमा नायक बने । उनी ५ बलमा ११ रनसहित अविजित रहे । उनले १–१ छक्का र चौका प्रहार गरे । यस्तै, प्रतिक श्रेष्ठले ३९, शंकर रानाले अविजित १६, राशिद खानले १४, जेरहार्ड इरास्मसले १२ तथा माइकल लेभिटले १० रन जोडे । विराटनगरका सन्दीप लामिछानेले ३ तथा अनिल खरेल, बसिर अहमद र क्रिस सोलले २–२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको विराटनगरले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर ११७ रन जोड्यो । विराटनगरका राजेश पुलामी मगरले २५, दीपक बोहराले २०, स्कट इडवाड्रसले १५, बसिर अहमदले १३, निकोलस किर्तोनले १२ रन जोडे । यस्तै, उसले अतिरिक्त १२ रन पायो ।
बलिङतर्फ काठमाडौँका जेरहार्ड इरास्मसले ३, दीपेश कँडेलले २ तथा करण केसी, शाहब आलम र डान डाउथवेटले १–१ विकेट लिए । जितसँगै काठमाडौँले प्लेअफको आशा जीवितै राखेको छ । विराटनगर भन यसअघि नै प्लेअफको दौडबाट बाहिरिसकेको छ ।

प्रतिक्रिया