दक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित

सियोल । दक्षिण कोरियाका संसदले शनिबार राष्ट्रपति युन सुक योलमाथि लगाइएको महाभियोग प्रस्ताव शनिबार पारित गरेको छ । महाभियोग प्रस्ताव पारित भएपछि विपक्षीले जनताको विजय भएको घोषणा गरेका छन् । डिसेम्बर ३ मा सैनिक शासन लागू गर्ने युनको असफल प्रयासपछि दक्षिण कोरियामा एक हप्ताभन्दा बढी तीव्र राजनीतिक तनाव निम्त्याएको थियो ।

राष्ट्रपतिविरूद्धको महाभियोग प्रस्ताव संसदबाट पारित भएसँगै सोलको सडकमा शनिबार युनको पक्ष र विपक्षमा हजारौँको संख्यामा र्याली निकालिएको थियो । मतदानपछि टेलिभिजनमा सम्बोधन गर्दै महाभियोग लागेका युनले आफू पदबाट हट्ने तर सैनिक शासन लागू गर्ने असफल प्रयासका लागि माफी नमागेको बताएका छन् ।

कूल ३०० संसद सदस्य रहेको कोरियाली संसदमा २०४ सांसदले विद्रोहको आरोपमा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने पक्षमा मतदान गरेका छन् भने ८५ जनाले विपक्षमा मतदान गरेका छन् । मतदानमा तीन सांसद अनुपस्थित रहेका धर आठ मत बदर भएको छ । महाभियोगसँगै युनलाई पदबाट निलम्बित गरिएको छ भने दक्षिण कोरियाको संवैधानिक अदालतले मतदानपछिको अवस्थाबारे छलफल सुरू गरेको छ ।

अदालतलाई युनको भविष्यबारे फैसला गर्न १८० दिनको समय दिइएको छ । यदि उनलाई पदबाट हटाइयो भने युन दक्षिण कोरियाको इतिहासमा सफलतापूर्वक महाभियोग लगाइने दोस्रो राष्ट्रपति बन्नेछन् । प्रधानमन्त्री हान डक सोले राष्ट्रपतिविरूद्धको महाभियोग प्रस्ताव पारित भएसँगै भने, ‘दक्षिण कोरियाली प्रधानमन्त्रीको रूपमा मेरो सम्पूर्ण शक्ति र प्रयास स्थिर शासन सुनिश्चित गर्न समर्पित हुनेछ ।’

महाभियोग पारित हुन दुई सय मत आवश्यक थियो र विपक्षी सांसदहरूले युनको कन्जरभेटिभ पिपुल पावर पार्टी (पीपीपी) का कम्तीमा आठ जना सांसदलाई दल बदल्न राजी गराउन आवश्यक थियो । ‘आजको महाभियोग जनताको ठूलो जीत हो,’ विपक्षी डेमोक्रेयाटिक पार्टीका नेता पार्क चान–डेले मतदानपछि भने ।’ उनले अबको १८० दिनभित्र आउने अदालतको फैसलाले कोरियाली जनतालाई प्रजातन्त्र र स्वतन्त्रताप्रतिको आत्म सम्मानलाई प्रकट गर्ने बताए ।– रासस, एएफपी

प्रतिक्रिया