चितवनसँग जनकपुरको हारपछि पोखरा र विराटनगर प्लेअफ पुग्ने सम्भावना सकियो

काठमाडौं । राजधानीमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले हराउँदै प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ । सात खेल खेलेको जनकपुर बोल्ट्स तालिकामा १० अंकसहित शीर्ष स्थानमा रहेको छ ।

जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ । आजको जितपछि चितवनले सात खेलमा आठ अंक बटुलेको छ । चितवनसँगै पाँच खेल खेलेको सुदूरपश्चिम रोयल्स र ६ वटा खेल खेलेको कर्णाली याक्ससँग पनि समान आठ अंक छ ।

आइतबार हुने काठमाडौं गुर्खाज र विराटनगर किङ्सबीचको खेलपछि शीर्ष चार टोलीको टुंगो लाग्नेछ । उक्त खेलमा काठमाडौं गुर्खाज विजयी भए उसको पनि आठ अंक हुनेछ । यस आधारमा शीर्ष चारमा पर्ने टोलीको टुंगो रनरेटका आधारमा हुनेछ ।

जारी प्रतियोगिताबाट लुम्बिनी लायन्स यसअघि नै बाहिरिएको छ भने आजको खेलपछि बिराटनगर किङ्स र पोखरा एभेञ्जर्स पनि प्रतियोगिताको प्लेअफमा पुग्ने सम्भावना सकिएको छ । बाहिरिएका छन् ।

आजको खेलमा एक सय ८१ रनको लक्ष्य पछ्याएको जनकपुर १८ ओभरमा सबै विकेट गुमाउँदै १४८ रनमा समेटियो । उसका लागि जिमी निशमले २७० दशमलव ८३ को स्ट्राइक रेटमा ६५ रन बनाए पनि जितका लागि पर्याप्त भएन । उनले २४ बल खेल्ने क्रममा पाँच चौका र ६ छक्का प्रहार गरे ।

साथै आसिफ शेखले २३, शुभ कङ्साकारले १५ र मोहम्मद मोहसिनले १३ रन बनाए । त्यसबाहेक अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् । चितवनको जितमा रिजन ढकाल, सोहिल तनवीर र कुशल मल्लले समान दुई–दुई विकेट लिए भने अमर रौतेलाले एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १८० रनको योगफल बनाएको थियो । उसका लागि कप्तान कुशल मल्लले अर्धशतकीय पारी खेले ।

उनले ४१ बल सामना गर्ने क्रममा तीन चौका र सात छक्का प्रहार गर्दै ७२ रनको योगदान दिए । रबि बोपाराले ३२ बल खेल्दै पाँच चौका र एक छक्काको मद्दतमा ४४ रन बनाए ।

साथै हसन इसाखिलले २८, सन्तोष कार्कीले १४ रनको योगदान दिए । जनकपुरका लागि ललित राजवंशीले दुई विकेट लिए भने हर्ष थाकर, मोहम्मद मोहसिन र जेम्स निसमले एक–एक विकेट लिए ।

प्रतिक्रिया