काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत शनिबार भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई जितका लागि १८१ रनको बलियो लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको चितवन राइनोजले कप्तान कुशल मल्लको अर्धशतकमा जनकपुर बोल्ट्सलाई बलियो लक्ष्य खडा गरेको हो । शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८० रनको योगफल बनायो ।
चितवनका लागि कप्तान कुशलले ७२ रन जोडे । उनले ४१ बलमा ३ चौका र ७ छक्का प्रहार गरे । उनी जिमी निशमको बलमा आउट भए । १७औँ ओभरको दोस्रो बलमा कुशलले जीवनदान पाएका थिए । जिमी निशमको बलमा बाउन्ड्रिमा आसिफ शेखले क्याच ड्रप गरेका थिए ।
मोहसिनको १३औँ ओभरमा चितवनका कप्तान कुशलले तीन छक्का प्रहार गर्दै खेल आफ्नो पक्षमा ल्याएका थिए । त्यसपछिको १४औँ ओभरमा अरनिको यादवलाई कप्तान मल्लले २० रन प्रहार गरे । सुरुवाती ११ बलमा ७ रन बनाएका कप्तान कुशलले पछिल्लो ३० बलमा ६५ रन जोडे ।
कुशलले रवि बोपारासँग मिलेर चौथो विकेटका लागि ११३ रनको शतकीय साझेदारी गरेका थिए । प्रतियोगितामा चौथो विकेटका लागि भएको यो सर्वाधिक साझेदारी हो । बोपाराले ३२ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४४ रन जोडे । बोपारा ललित राजवंशकिो बलमा आउट भए ।
ओपनर हसन इसाखिल १९ बलमा ४ चौका र १ छक्काको सहयोगमा २८ रन बनाउँदै आउट भए । इसाखिल हर्ष ठाकरको बलमा विकेटकिपर लाहिरु मिलन्थाबाट समातिए । सन्तोष कार्कीले १२ बलमा १४ तथा ओपनर विपिन रावलले १० बलमा ३ रन जोडे ।
जनकपुका लागि ललित राजवंशीले २ तथा हर्ष ठाकर, मोहम्मद मोहसिन र जिमी निशमले समान १ विकेट लिए । दुवै टोली लिग चरणको अन्तिम खेल खेलिरहेका छन् । जनकपुर १ खेल अगावै प्लेअफ पुगिसकेको छ भने चितवनलाई प्लेअफ सम्भावना बलियो बनाउँन यस खेलमा जित आवश्यक छ ।
आजै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै काठमाडौं गुर्खाजले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ ।
प्रतिक्रिया