पोखरा एभेन्जर्सले काठमाडौं गुर्खाजलाई दियो १३९ रनको लक्ष्य

काठमाडौं । राजधानीमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत शनिबार भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गुर्खाजलाई जितका लागि १३९ रनको लक्ष्य दिएको छ ।

शनिबार बिहान कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रनको योगफल बनाएको हो ।

पोखराका लागि रेमन राइफरले नट आउट रहँदै सर्वाधिक ४१ रन जोडे । उनले ३० बलमा १ चौका र ३ छक्का प्रहार गरे । दिनेश खरेलले २५ बलमा ६ चौका र १ छक्काको सहयोगमा ३८ रन जोडे । दिनेश टिमको स्कोर ४४ रन हुँदा राशिद खानबाट एलबिडब्लु सिकार भए ।

दिलिप नाथले २४ बलमा २ छक्काको प्रहार गर्दै आउट भए । २७ रन बनाएका दिलिप राशिदकै बलमा बोल्ट आउट भए । आन्द्रेश गौस रनको खाता नै नखोल्दै जेहार्ड एरास्मसको बलमा माइकल लेभिटबाट समातिए । कप्तान कुशल भुर्तेल ७ रन बनाउँदै राशिदकै बलमा बोल्ड आउट भए ।

यसै खेलमा एनपिएल डेब्यु गरेका भारतीय घरेलु खेलाडी आकर्षित गोमिल ८ रन बनाउँदै माइकल लेभिटको एलबिडब्लु सिकार भए । १७औँ ओभरमा कप्तान करण केसीले माइकल लिस्क तथा नारायण जोशीलाई पेभिलियनको बाटो देखाए पछि काठमाडौं पोखराविरुद्ध पुरै हाबी भएको थियो ।

१९औँ ओभरको तेस्रो कप्तान करणले विपिन खत्रीलाई ४ रनमा आउट गराएका थिए । काठमाडौंका लागि राशिद खान र कप्तान करण केसीले समान ३ तथा जेर्हाड एरास्मस र माइकल लेभिटले समान १ विकेट लिए ।

यस खेलमा विजयी हुने टोलीको प्लेअफ प्रवेशको सम्भावना बलियो रहने छ । पराजित हुने टोलीको पनि अंक गणितीय सम्भावना कायमै रहनेछ । आजै हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । अहिले पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध काठमाडौं गुर्खाजले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया