काठमाडौं । राजधानीमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत शुक्रबार भएको खेलमा मा विराटनगर किङ्सले ले चितवन राइनोजलाई ५१ रनले हराएको छ । विराटनगरले यस खेलमा चितवनलाई हराउँदै प्लेअफ सम्भावना कायमै राखेको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो ।
चितवनका लागि अमरसिंह राउटेलाले सर्वाधिक ४२ रन जोडे । उनले २९ बलमा ३ चौका र २ छक्का जोडे । सन्तोष कार्कीले २५ बलमा ३ चौका र १ छक्काको सहयोगमा २८ रन जोडे । सन्तोष सन्दीप लामिछानेको बलमा बसिर अहमदबाट क्याच आउट भए ।
सन्तोषले चौथो ओभरको अन्तिम बलमा जीवनदान पाएका थिए । प्रतिस जिशीको बलमा सन्तोषलाई बाउन्ड्रीमा रहेका बसिर अहमदले क्याच मिस गरेका थिए । त्यस समयमा सन्तोषले ७ रन बनाएका थिए । कप्तान कुशल मल्लले २५ बलमा २ चौका र १ छक्काको सहयोगमा २५ रन जोडे ।
कुशल क्रिस सोलको बलमा प्रतिस जिशीबाट समातिए । रवि बोपारा २४ बलमा २० रन जोड्दै सुवास भन्डारीको बलमा बोल्ड आउट भए । विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले २ तथा क्रिस सोल, बसिर अहमद र सुवास भण्डारीले समान १ विकेट लिए ।
त्यसअघि टसजितेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रनको योगफल बनाएको थियो । विराटनगरका बसिर अहमदले सर्वाधिक ६८ रन जोडेका थिए । उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए । प्रतियोगिताको आफ्नो पहिलो अर्धशतक उनले ३९ बलमा पूरा गरेका थिए ।
पाँचौं विकेटका लागि ओपनर मार्टिन गप्टिल र अहमदले ६५ रनको साझेदारी गरे । गप्टिलले ३५ बलमा १ चौका र ४ छक्काको सहयोगमा ४५ रन बनाए। उनी कुशल मल्लको बलमा बोल्ड आउट भए । राजेश पुलामी मगरले नट आउट ३३ रन बनाए । उनले २० बलमा १ चौका र ३ छक्का प्रहार गरे ।
छैठौँ ओभरका लागि अहमद र राजेशले ८३ रनको साझेदारी गरे । विराटनगरले अतिरिक्तमा २३ रन पाएको थियो । विराटनगरले पछिल्लो ५ ओभरमा ७४ रन बनाएको थियो । चितवनका लागि रिजन ढकालले २ तथा बासिल हमिद, कुशल मल्ल र सोहेल तन्भिरले समान १ विकेट लिए ।
यो जितसँगै विराटनगरको ६ खेलमा २ जित र ४ हारका साथ ४ अंक भएको छ । जितपछि विराटनगरको प्लेअफ सम्भावना कायमै रहेको छ । पराजित चितवनको ६ खेल खेलमा ३ जित र ३ हारका साथ ६ अंकमा रहेको छ । चितवनले आफ्नो अन्तिम खेलमा शनिबार जनकपुर बोल्ट्सको सामना गर्नेछ ।
चितवनलाई जनकपुरविरुद्धको खेल जित्नै पर्ने दबाब रहेको छ । शुक्रबार नै भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्समालाई ५ रनले हराउँदै विजयी भएको थियो ।
प्रतिक्रिया