अन्तिम खेलमा पनि कर्णाली याक्ससँग लुम्बिनी लायन्स पराजित

काठमाडौं । राजधानीमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार भएको पहिलो खेलमा आफ्नो अन्तिम खेलमा पनि लुम्बिनी लायन्स कर्णाली याक्ससँग हरेको छ ।

टस हारेर पहिला ब्याटङ गर्दै कर्णाली याक्सले दिएको १२९ रनको लक्ष्य पछ्याएको लुम्बिनी हारेको हो । कर्णालीले लुम्बिनीलाई ५ रनले हराउँदै रोमाञ्चक जित हात पारेको हो ।

यो जितसँगै कर्णालीले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ । कर्णालीले दिएको १२९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ रन बनाए ।

उनले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए । सन्दीप जोरा २१ बलमा २ छक्काको सहयोगमा २४ रन जोडे । सन्दीप विलियम बोसिस्टोको बलमा दीपक डुम्रेबाट समातिए । ओपनर आशुतोष घिरैयाले २१ बलमा १६ रन जोडे । घिरैया जिशान मक्शुदको बलमा बोसिस्टोबाट समातिए ।

अर्का ओपनर अर्जुन साउद कप्तान सोमपाल कामीको बलमा गुलशन झाबाट समातिए । कप्तान रोहित पौडेल १० रन बनाउँदै जिशान मक्शुदको एलबिडब्लु धरापमा परे । अन्तिम ओभरमा जितका लागि ९ रनको आवश्यकता भएकोमा कर्णालीका नन्दन यादवले ३ रन मात्र खर्चिएर टिमलाई प्लेअफ नजिक पुर्याए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रनको योगफल बनाएको थियो । कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन बनाए ।

उनले ३० बलमा ३ चौका र ३ छक्का प्रहार गरे । अन्तिम ओभरमा बोसिस्टो विकास आग्रीबाट बोल्ड आउट भए । अर्जुन घर्ती २५ बलमा २ चौका र १ छक्काको सहयोगमा २५ रन बनाउदै रेमन सिमण्ड्सको बलमा आउट भए ।

ओपनर बाबर हायातले २२ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन बनाए । ओपनर बाबर तिलक राज भण्डारीको बलमा साद विन जाफरबाट समातिए । अर्का ओपनर देव खनाल ३ रन जोड्दै साद विन जाफरको बलमा पेभिलियन फर्किए । तेस्रो नम्बरमा ब्याटिङमा आएका चालडिक वाल्टन १३ रन बनाउँदै तिलकराज भण्डारीको बलमा नै आउट भए ।

गुलसन झा ८ रन बनाउँदै लुम्बिनीका गुलशन झाको बलमा विकेटकिपर अर्जुन साउदबाट क्याच भए । कप्तान सोमपाल कामी २ बलमा ७ रन बनाउँदै विकास आग्रीबाट आउट भए । लुम्बिनीका लागि यसै खेलबाट एनपिएल डेब्यु गरेका विकास आग्रीले अन्तिम ओभरमा ३ विकेट लिए ।

तिलकराज भण्डारीले २ तथा साद विन जाफर र कप्तान रोहितकुमार पौडेलले समान १ विकेट लिए । कर्णाली ६ खेलमा ८ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ । लुम्बिनीले १ खेल जितेर पहिलो संस्करणको एनपिएलमा अन्त्य गरेको छ । आजै दोस्रो खेलमा विराटनगर किङ्स र चितवन राइनोज भिड्ने छन् ।

प्रतिक्रिया