काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले पहिलो हारको सामना गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदूरपश्चिमलाई चितवन राइनोजले ३३ रनले पराजित गरेको हो । चितवनको भने यो तेस्रो जित हो । उसले अघिल्ला ३ मध्ये १ खेलमा पराजय भोगेको थियो । सुदूरपश्चिम भने यसअघि लगातार ३ खेलमा विजयी भएको थियो ।
चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८ दशमलव २ ओभरमा १३१ रनमै अलआउट भयो । सुदूरपश्चिमका ओपनरद्वय सइफ जइब १८ रन र विनोद भण्डारी १० रनमा आउट भए । ब्रान्डन माक्मलेनले १३ रन र दिलप्रित बजवाले १२ रन जोड्न सके । यस अघिका खेलमा छाएका कप्तान दीपेन्द्रसिंह ऐरी चितवनसँगको खेलमा भने १ रनमै आउट भए । आरिफ शेख ४ रन र नरेश बुढाऐर पनि ५ रनमै आउट भएपछि सुदूरपश्चिम जितबाट टाढा रहेको थियो । इशान पाण्डेले ३५ रन जोड्न सके । पाण्डेले २८ बलमा ४ चौका र १ छक्का प्रहार गरे । नरेन राउद १० रन र स्कट कुगेलेइनले १६ रन बनाए ।
बलिङमा चितवनका रिजन ढकाल, कुशल मल्ल, लोफ्टी इटन र अमरसिंह रटेउलाले २–२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ५ विकेटको क्षतिमा १६४ रन जोड्यो । चितवनका लागि ओपनिङ ब्याट्सम्यान हसन इशाखिलले १६औँ ओभरमा स्कट कुगेलेइनको बलमा नरेश बुढाऐरबाट क्यान हुनुअघि ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ६५ रन जोडे ।
अर्का ओपनर सन्तोस कार्की भने ९ रनमै आउट भए । उनी चौथो ओभरमा ब्रान्डन माक्मलेनको बलमा बुढाऐरबाटै क्याच भएका थिए । विकेटकिपर विपिन रावलले १७ रन जोड्नसके । सइफ जाइब बलमा कुगेलेइनबाट क्याच हुँदा उनले २० बलमा २ चौका प्रहार गरे ।
१८औँ ओभरमा कप्तान कुशल मल्ल १३ रनमा कुगेलेइनबाट क्याच भए खेलमा कम योगफलतर्फ उन्मुख चितवनको पारीलाई उकास्ने क्रममा रवी वोपराले विस्फोटक ब्याटिङ गरे । अन्तिम ओभरमा दीपेन्द्रसिंह ऐरीको बलमा क्याच हुनुअघि रवी बोपाराले १८ बलमा २ चौका र २ छक्काको मद्दतमा ३६ रन बनाए । कुगेलेइनले २ विकेट लिए भने माक्मलेन, दीपेन्द्र र जइबले १–१ विकेट लिए ।
१ रनले हा¥यो लुम्बिनी
एनपिएलकै आइतबार भएको पहिलो खेलमा जनकपुर रोयल्सले लुम्बिनी लायन्समाथि १ रनको रोमाञ्चक जित हात पारेको छ । यो जनकपुरको लगातार चौथो जित हो । लुम्बिनी लायन्सको भने यो लगातार चौथो हार हो । जितसँगै जनकपुरको प्लेअफ सम्भावना बलियो हुँदा लुम्बिनीको सम्भावना न्यून बनेको छ ।
जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ८ विकेटको क्षतिमा १३५ रन मात्र जोड्न सक्यो । लुम्बिनीले अन्तिम ३ ओभरमा ५ विकेट गुमाउँदा २४ रन बनाउन सकेको थियो ।
अन्तिम ओभरमा लुम्बिनीलाई ९ रन चाहिएको थियो । क्यानडाका अलराउन्डर हर्ष थाकरले २ विकेट मात्र लिएनन्, विपक्षीलाई ७ रमा मात्र प्रहार गर्न दिए ।
अन्तिम ओभर सुरु हुँदा ब्याटिङमा सन्दीप जोरासँगै साद बिन जफर थिए । पहिलो बलमा जफर क्याच आउट भए । दोस्रो बलमा दुर्गेश गुप्ताले चौका प्रहार गरेपछि लुम्बिनीको जितको सम्भावना बलियो भएको थियो । तेस्रो बल डट भयो । चौथो बलमा १ रन लिएपछि लुम्बिनीलाई २ बलमा ४ चाहिएको थियो । पाँचौँ बलमा जोराले २ रन लिए । अन्तिम बलमा २ रन चाहिएको अवस्थामा उनी क्याच आउट भए । उनी ८ बलमा १६ रन प्रहार गर्न भने सफल रहे ।
उत्कृष्ट प्रदर्शन गरेका क्यानेडियन अलराउन्डर थाकरले ५ विकेट लिँदा २३ रन खर्चिए । त्यसअघि १९औँ ओभरको दोस्रो बलमा किशोर महतोले बेन कटिङलाई ३ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराएका थिए । कटिङ छक्का हान्ने चक्करमा आउट भएका थिए । १९औँ ओभरकोे अन्तिम २ बलमा सन्दीप जोराले छक्का र चौका प्रहार गर्दा लुम्बिनीले जितको सम्भावना प्रबल बनाएको थियो ।
लुम्बिनीका ओपनर आशुतोष घिरैयाले १४ बलमा ८ रन मात्र जोड्दा अर्जुन साउदले २० रन जोडे । उनले २३ बलमा २ चौका हिर्काए । अर्जुन १०औँ ओभरमा शेर मल्लबाट बोल्ड भए । कप्तान रोहित पौडेल ३० रन र टम मुर्स ३१ रनमा आउट भए । रोहित १६औँ ओभर र मुर्स १८औँ ओभरमा आउट भएका थिए । दुवैलाई जनकपुरका हर्ष थाकरले आउट गरेपछि एकाएक खेलको दिशा फेरिएको हो ।
मुर्स आउट भएको २ बलपछि थाकरले विवेक यादवलाई शून्यमा आउट गरेका हुन् । सो ओभरमा थाकरले २ विकेट लिँदा ३ रन मात्र खर्चिए । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले ९ विकेट गुमाएर १३६ रन मात्र बनाउन सकेको हो ।
जनकपुरका लागि कप्तान तथा ओपनर अनिलकुमार साहले ४५ रन जोडे । १२औँ ओभरमा सन्दीप जोराको बलमा विवेककुमार यादवबाट क्याच हुनुअघि उनले ३९ बलमा १ चौका र ४ छक्का प्रहार गरे ।
अर्का ओपनर आसिफ शेखले १६ रन जोड्दा लाहिरू मिलन्थाले २४ रन बनाए । त्यसपछिका ब्याटर भने चल्न सकेनन् । हर्ष थाकर र जिमी निशम १–१ रनमै आउट भए । दुवैलाई डेब्यु खेलाडी अभिसेष गौतमले आउट गरे ।
मोहमद मोसिन ३ रन र शेर मल्ल शून्यमा आउट भए । दुवैलाई कप्तान रोहितकुमार पौडेलले एलबिडब्लुको धरापमा पारेका थिए । अन्तिम ओभरमा शाद बिन जफरले हेमन्त धामीलाई ९ रनमा आउट गरे । जफरले नै ललित राजवंशीलाई अन्तिम बलमा रनआउट गरे । शुभ कंसाकरले नटआउट २२ रन जोडे । लुम्बिनीका अभिशेष गौतमले ३ विकेट लिए भने रोहित पौडेल र शाद बिन जफरले २–२ विकेट हात पारे ।
भारत फर्कंदै धवन
भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वओपनर शिखर धवन सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा ४ खेल खेलेपछि स्वदेश फर्किंदैछन् ।
१ खेलबापत ३० हजार अमेरिकी डलर पाउने गरी कर्णाली याक्समा सम्झौता गरेका धवनले कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार आफ्नो चौथो खेल खेले । उनले कम्तिमा ४ खेल खेल्ने गरी सम्झौता गरेका थिए ।
शनिबार विराटनगर किंग्सविरूद्धको खेलको बीचमा टेलिभिजन लाइभमा बोलेका धवनले आफ्नो घुँडाले साथ दिएमा अर्को सिजन खेल्न आउने बताए । उनले एनपिएलमा नेपाली खेलाडीको प्रदर्शनको पनि प्रशंसा गरेका थिए । उनले बाँकी खेलमा घुँडाकै समस्याका कारण खेल्न नसक्ने बताइएको छ ।
गत सिजनको आइपिएलमा उनले पञ्जाब किंग्सबाट खेलेका थिए । त्यतिबेला पनि उनको काँधमा चोट लागेको थियो । उनले गत सिजन पञ्जाबका लागि ५ खेल मात्र खेलेका थिए ।
आइपिएलपछि अन्तर्राष्ट्रिय तथा घरेलु क्रिकेटबाट संन्यास लिएका धवनले आफू चोटबाट शतप्रतिशत निको हुन नसकेको बताएका थिए । उनले सन्यास लिनुको कारण आफ्नो उमेरसमेत बताएका थिए । उनले ३८ वर्षको उमेरमा सन्यास लिएका थिए ।
प्रतिक्रिया