लुम्बिनी लायन्सलाई जनकपुर बोल्ट्सले दियो १३७ रनको लक्ष्य

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) कोआज भएको पहिलोखेलमा लुम्बिनी लायन्सलाई जनकपुर बोल्ट्सले जितका लागि १३७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज बिहानको पहिलो खेलमा जनकपुरले लुम्बिनीलाई १३७ रनको लक्ष्य दिएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३६ रनको योगफल बनायो ।

जनकपुरका कप्तान अनिल शाहले सर्वाधिक ४५ रन जोडे । उनले ३९ बलमा १ चौका र ४ छक्का प्रहार गरे । अनिल सन्दीप जोराको बलमा विवेक यादवबाट समातिए ।

लाहिरु मिलन्थाले २३ बलमा २ चौकाको सहयोगमा २४ रन बनाए । यसै खेलमा डेब्यु गरिरहेका अभिशेष गौतमको बलमा उनी आउट भए । शुभ कसांकरले २४ बलमा नट आउट २२ रन जोडे ।

मिलन्था आउट भए लगत्तै दुई बलमा पछि अभिशेषले नै हर्ष ठाकरलाई आउट गरे । त्यसको दुई बल पछि नै अभिशेषले अर्का विदेशी खेलाडी जिमी निशमलाई आउट गराए । अभिषेशले १३औँ ओभरमा महत्वपूर्ण ३ विकेट लिँदै लुम्बिनीलाई खेलमा फर्काए ।

१६औँ ओभरको दोस्रो बलमा विदेशी खेलाडी मोहसिन खानलाई कप्तान रोहितकुमार पौडेलले एलबिडब्लु धरापमा पारे । मोहसिन आउट भएपछि क्रिजमा आएका शेर मल्ल त्यसको २ बलपछि रोहितको एलबिडब्लु धरापमा नै परे ।

पहिलो विकेटका रुपमा जनकपुरका ओपनर तथा मार्की खेलाडी आसिफ शेख १० बलमा १६ रन बनाउँदै साद विन जाफरको बलमा विवेकबाट क्याच आउट भए । लुम्बिनीका लागि यसै खेलबाट डेब्यु गरेका अभिशेष गौतमले ४ ओभरमा २० रन खर्चिएर महत्वपुर्ण ३ विकेट लिए ।

कप्तान रोहित र साद विन जाफरले समान २ तथा सन्दीप जोराले १ विकेट लिए । लुम्बिनीले सुरुवाती ३ खेलमा हार बेहोरेर दबाबमा छ । आजको खेलमा गुमाएमा लुम्बिनीको प्लेअफ सम्भावना कठिन बन्नेछ । लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।

जनकपुर लगातार चौथो जित निकाल्दै प्लेअफ सम्भावना थप बलियो बनाउन चाहान्छ । जनकपुरले विराटनगर, कर्णाली याक्स र पोखरालाई पराजित गरेको थियो । आज हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै छन् ।

प्रतिक्रिया