एनपिएल – प्लेअफ प्रवेशको बाटो नजिक सुदूरपश्चिम

काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सको प्लेअफ प्रवेशको सम्भावना बलियो बनेको छ भने लुम्बिनी लायन्सको प्लेअफ प्रवेशको सम्भावान क्षीण बनेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा लुम्बिनीलाई सुदूरपश्चिमले ४५ रनले पराजित गर्यो ।

सुदूरपश्चिम तेस्रो खेलसम्म शतप्रतीशत जित हात पार्न सफल भयो भने लुम्बिनीको पराजयको शृङ्खला पनि तेस्रो खेलसम्म कायम रह्यो । जितसँगै सुदूरपश्चिम ६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ३ खेल नै जितेको जनकपुर बोल्ट्स रनरेटका आधारमा अंक तालिकाको दोस्रो स्थानमा झरेको छ ।
शनिबार सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी कुनै पनि बेला सम्हालिन सकेन । सुदूरपश्चिमको बलिङसामु निरिह बनेको लुम्बिनीले ४ ओभरभित्रै ५ विकेट गुमाएको थियो । सुरुमै दबाबमा परेपछि ब्याटिङमा आएका विवेककुमार यादवले लुम्बिनीको इनिंग्स उकास्न खोजे पनि उनको मात्र प्रयास पर्याप्त भएन ।

लुम्बिनीले विवेकको नटआउट ७७ रनको मद्दतमा ९ विकेटको क्षतिमा १४२ रन जोड्यो । विवेकले ५४ बलमा ३ चौका र ७ छक्का प्रहार गरे । लुम्बिनीका प्रारम्भिक ब्याट्सम्यान र अर्जुन साउद पहिलो बलमै स्कट कुगेलेइनको डलबिडब्लूको धरापमा परेका थिए । सोही ओभरको अन्तिम बलमा उन्मुक्त चन्द पनि एलबिडब्लू आउट भए ।

कप्तान रोहित पौडेल ५ रनमा दोस्रो ओभरको पाँचौँ बलमा ब्रान्डन माक्मलेनको बलमा ईशान पाण्डेबाट समातिए । चौथो ओभरमा टम मुर्स ७ रनमा आउट भए । माक्मलेनले मुर्सलाई ईशानबाट क्याच गराएको अर्को बलमा सान बिन जफरलाई एलबिडब्लू धरापमा पारे । पाँचौँ विकेट गुमाउँदा लुम्बिनीले १९ रन मात्र जोडेको थियो ।
त्यसपछि सन्दीप जोराले २० रन जोडे । उनले छैटौँ विकेटका लागि विवेक यादवसँग ३७ रनको साझेदारी गरे । दिनेश अधिकारी १४ रनको योगदान गरे भने रेमन्ड सिमन्स शून्यमा आउट भए । दुवैलाई सइफ जइबले १६औँ ओभरको तेस्रो र चौथो बलमा आउट गरेका थिए । सूर्य तामाङ ७ रनमा आउट भए । बलिङमा सुदूरपश्चिमका माक्मलेन र सइफ जबइले ३–३ विकेट लिए । स्कट कुगेलेइनले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४ विकेटको क्षतिमा १८७ रन जोड्यो । सुदूरपश्चिमका लागि ओपनर सइफ जइबले ९० रनको योगदान गरे । १८औँ ओभरमा रेमन्ड सिमन्सको बलमा उन्मुक्त चन्दबाट क्याच हुनुअघि उनले ६१ बलमा ६ चौका र ५ छक्का प्रहार गरे ।

अर्का ओपनर विनोद भण्डारी १७ रन जोडेर आउट भए । सइबसँग ४९ रनको ओपनिङ साझेदारी गरेका भण्डारीले १७ रन जोडे । त्यसपछि ब्रान्डन माक्मलेन २० बलमा २३ रन जोडेर आउट भए ।
तेस्रो विकेटको रुपमा सइब आउट भएको अर्को बलमा आरिफ शेखलाई शून्यमा सिमन्सले साद बिन जफरबाट क्याच गराएका थिए । कप्तान दीपेन्द्रसिंह ऐरीले नटआउट ३९ रन र स्कट कुगेलेइनले नटआउट ११ रन जोडे। दीपेन्द्रले १९ बलमा ४ चौका र २ छक्का प्रहार गरे । कुगेलेइनले ६ बलमा १ छक्का हिर्काए । बलिङमा लुम्बिनीका रेमन्ड सिमन्सले २ विकेट लिए । उनले ४ ओभरमा ३२ रन दिए ।

कमजोर ब्याटिङले विराटनगरको हार

शनिबार नै भएको अर्को खेलमा कर्णाली याक्सले विराटनगर किंग्समाथि ७ रनको रोमाञ्चक जित निकालेको छ । ४ खेलमा कर्णालीले दोस्रो जित निकालेको हो । विराटनगर भने ४ मध्ये ३ खेलमा पराजित भइसकेको छ । कर्णालीले दिएको १३४ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगरले ८ विकेटको क्षतिमा १२६ रन मात्र जोड्न सक्यो ।

विराटनगरले राम्रो ओपनिङ गर्न सकेन । ओपनिङ ब्याट्सम्यान मार्टिन गुप्टिल दोस्रो ओभरमा विपिन शर्माको बलमा ४ रनमै आउट भए । अर्का प्रारम्भिक ब्याट्सम्यान लोकेश बमलाई पनि १९ रनमा विपिनले नै आउट गरे ।

त्यसपछि अकिब इल्यास ८ रन र नरेन भट्ट ७ रनमा आउट भए । इल्यासलाई नन्दन यादवले बोल्ड गर्दा नरेन विलियम बोसिस्टोको एलबिडब्लूको धरापमा परे । बसिर अहमदलाई युनिश ठकुरीले ८ रनमा आउट गरे ।

१८औँ ओभरमा नन्दन यादवले २ विकेट लिए । उनले निकोलास किर्टोनलाई ४० रन र दीपक बोहरालाई १८ रनमा बोल्ड गरे । १९औँ ओभरको दोस्रो बलमा सोपमाल कामीले क्रिस सोललाई शून्यमा पेभिलियन फर्काए ।

अन्तिम ओभरमा विराटनगरलाई जितका लागि १५ रन चाहिएको थियो । विराटनगरका कप्तान सन्दीप लामिछाने र प्रतीश जिसी ब्याटिङ गरिरहेका थिए । कर्णालीका लागि नन्दन यादवले बलिङ गरेका थिए । पहिलो बलमा सन्दीपले १ रन लिए । दोस्रो बलमा प्रतीशले २ रन लिए । तेस्रो बलमा पनि २ रन नै लिए । चौथो बल डट भयो । पाँचौँ बलमा प्रतीशले १ रन लिए । अन्तिम बलमा सन्दीपले पनि एक रन लिए ।

कर्णालीका नन्दनले ४ ओभरमा ३ विकेट लिँदै १९ रन खर्चिए । विपिन शर्माले २ विकेट लिए भने कप्तान सोमपाल कामी, बोसिस्टो र युनिश ठकुरीले १–१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीका देव खनाल र विलियम बोसिस्टोको अर्धशतक जोडे पनि कर्णाली २० ओभरमा १३३ रनमै अलआउट भयो । कर्णालीलाई सस्तोमा रोक्ने क्रममा विराटनगरका प्रतीश जिसीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । देवले ५३ रन जोड्दा बोसिस्टोले ६६ रन बनाए । देवले ४८ बलमा ४ चौका र २ छक्का प्रहार गरे । बोसिस्टोले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।

प्रारम्भिक ब्याट्सम्यान शिखर धवन भने ५ रनमा आउट भए । उनलाई दोस्रो ओभरको तेस्रो बलमा विराटनगरका प्रतीश जिसीले बोल्ड गरे । त्यसअघि उनले १ चौका प्रहार गरे । यसअघिका ३ मध्ये १ खेलमा धवनले अर्धशतक प्रहार गरेका थिए । उनले काठमाडौँ गुर्खाजविरूद्ध ७४ रन जोड्दा चितवन राइनोजसँग ४५ रन र जनकपुर बोल्ट्ससँग १४ रन जोडेका थिए ।

कम्तीमा ४ खेल खेल्न कर्णालीसँग सम्झौता गरेका भारतीय राष्ट्रिय टोलीका पूर्वओपनर धवनले ४ खेलमा १३६ रन जोड्न सके । धवन आउट भएपछि अर्को ओभरमा चाडविक वाल्टन १ रनमा क्रिस सोलको बलमा आउट भए । त्यसपछि देव र बोसिस्टोले कर्णालीको पारी सम्हालेका थिए । २ जनाबीच तेस्रो विकेटका लागि १०२ रनको साझेदारी भयो ।

जिसीको बलमा २ रन मात्र जोडेको अवस्थामा देवले जीवनदान पाएका थिए । विराटनगरका फिल्डरले सहज क्याच छाडेका थिए । १६औँ ओभरमा बसिरको बलमा देव आउट भएपछि अर्को ओभरमा कर्णालीका अर्जुन घर्ती अकिब इल्यासबाट १ रनमा बोल्ड भए । बोसिस्टो १९औँ ओभरको अन्तिम बलमा क्रिस सोलको एलबिडब्लूको धरापमा परेका थिए ।

अन्तिम ओभरको पहिलो बलमा जिसन मक्सुदलाई प्रतीश जिसीले २ रनमा बसिर अहमदबाट क्याच गराए । ३ बलपछि नन्दन यादव एलबिडब्लूको धरापमा पर्दा अर्को बलमा युनिश ठकुरी रनटआउट भए । अन्तिम बलमा प्रतीशले विपिन शर्मालाई पनि क्याच गराए ।
अन्तिम ओभरमा प्रतीशले ३ विकेट लिँदा रन दिएनन् । कर्णालीले अन्तिम ओभरमा १ रनआउटसहित ४ विकेट गुमायो । अघिल्लो ओभरको अन्तिम बलमा पनि विकेट गुमाउँदा कर्णालीले ७ बलको अन्तरमा ५ विकेट गुमाएको हो ।

प्रतीशले ४ विकेट लिँदा १७ रन दिए । क्रिस सोल र बसिर अहमदले २–२ विकेट लिए । कप्तान सन्दीप लामिछाने फेरि विकेटविहीन बने । उनले एनपिएलको ४ खेलमा १ विकेट मात्र लिन सकेका छन् ।

प्रतिक्रिया