काठमाडौँ । गायक गोविन्द मधुर आचार्यले आफ्नै एकल आवाजमा ‘एक दिन उज्यालो छाउला’ बोलको अफिसयल म्युजिक भिडियो ल्याएका छन् । उक्त गीतमा आचार्यले नै संगीत भरेका छन् भने दिनेश अधिकारी र गोविन्द मधुर आचार्यको संयुक्त शब्द रचना रहेको छ ।
गीतको म्युजिक भिडियोलाई निर्देशक तथा कोरियोग्राफर बिक्रम चौहानले निर्देशन गरेका छन् । महेश महराको छायांकन, मिलन विश्वकर्माको सम्पादन रहेको गीतको कथामा सुशान्त कार्की र लक्ष्मी बर्देवा देखिएका छ्न् । उक्त गीतको भिडियोलाई गोविन्द मधुर युटुब च्यानलबाट हेर्न सकिन्छ ।
गायक आचार्यले आफू सांगीतिक यात्रा क्रमशः अघि बढाइरहेको भन्दै पछिल्लो समय यस गीतको भिडियो ल्याएको बताए । २०५९–६० सालतिर ‘कान्छीको रुमाल खस्यो पानीमा’ बोलको लोक दोहोरी गीतमा स्वर भरेर आफ्नो सांगीतिक यात्रा सुरू गरेका आचार्यले सोही गीतबाट केही सफलता र गायकको पहिचान प्राप्त गरेको जिकिर गरे ।
त्यसयता २ दशकदेखि आफू संगीत कर्ममा जुटिरहेको आचार्यको भनाइ छ । ‘मर्छु बरु छटपटीमा तिम्रो सामु पर्दिनँ म’ बोलको चर्चित गीतमा संगीत भरेपछि आफू संगीतकारको रूपमा अझ बढी चिनिएको उनको भनाइ छ । ‘निरिमयाको’ ,‘तिम्रो भइनँ भने’, ‘चोली फाट्यो कि मेरी आमाको’, ‘मलाई दुख्दा रुने त्यो मन’, ‘ओइलिएको फूल भयो’, ‘फूल भनुँ जिन्दगीलाई’, ‘जाउँला कान्छी जलजला’ लगायतका गीतहरू अग्रपंक्तिमा रहेको उनले बताए ।
सांगीतिक क्षेत्रमा जीवनको लामो अनुभव बटुलेका गोविन्दले जति गीतसंगीत सिर्जना गरे पनि या गीत सफल भए पनि ‘एक दिन उज्यालो छाउला’ बोलको गीतले गायकको रूपमा परिचय गराएको उनले सुनाए । सोहीअनुसार आफू यस पछिल्लो ‘एक दिन उज्यालो छाउला’ को म्युजिक भिडियो लिएर आएको उनले बताए ।
प्रतिक्रिया