काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आज भएको दोस्रो खेलमा विराटनगर किङ्सलाई कर्णाली याक्सले जितका लागि १३४ रनकोलक्ष्य दिएकोछ । शनिबार कीर्तिपुरमा रहेको टियु क्रिकेट मैदानमा दोस्रो खेलमा कर्णालीयाक्सले विराटनगरलाई जितका लागि १३४ रनको मध्यम लक्ष्य दिएको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरको अन्तिम बलमा अलआउट हुँदै १३३ रन मात्र बनाउन सक्यो । कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ६६ रन जोडे । उनले ४९ बलमा ५ चौका र ५ छक्का प्रहार गरेका थिए । ६६ रन जोडेका बोसिस्टो क्रिस सोलले एलबिडब्लु धरापमा पारे ।
ओपनर देव खनालले ४८ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५३ रन जोडे । एनपिएलमा आफ्नो पहिलो अर्धशतक देवले ४० बलमा पूरा गरेका थिए । ८ बलमा ३ रन जोडेका देव खनाल पाँचौ ओभरको पहिलो बलमा प्रतिस जिशीको बलमा सुवास भन्डारीले क्याच मिस गरेका थिए । ५३ रन जोड्दै खनाल बसिर अहमदको बलमा क्रिस सोलबाट क्याच आउट भए ।
कर्णालीका ओपनर तथा पुर्व भारतीय टोलीका ओपनर शिखर धवन ५ बलमा ५ रन बनाउँदै आउट भए । धवनलाई प्रतियोगितामा पहिलो पटक नेपाली बलरले आउट गरे । धवनलाई प्रतिस जिशीले दोस्रो ओभरको तेस्रो बलमा बोल्ड आउट गराए ।
कर्णालीका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । विराटनगरका लागि अन्तिम ओभरमा ४ विकेट लिदै मेडन ओभर गरेका प्रतिस जिशीले ४ ओभरमा १७ रन खर्चिएर ४ विकेट लिए । बसिर अहमद, क्रिस सोलले समान २ तथा अकिब इल्यासले १ विकेट लिए । आजै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले हराएको छ ।
प्रतिक्रिया