एनपिएलमा लुम्बिनी लायन्सलाई हराउँदै विराटनगर किङ्सको पहिलो जित

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को आफ्नो तेस्रो खेलमा विराटनगर किङ्सले लुम्बिनी लायन्सलाई दुई विकेटले हराउँदै पहिलो जित हात पारेको छ ।

विराटनगरको तेस्रो खेलमा यो पहिलो जित हो । लुम्बिनीले पहिलो खेल गुमाएको छ । बुधबारको दोस्रो खेलमा १९२ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले लोकेश बमको अर्धसतकमा १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।

विराटनगरका लोकेशले सर्वाधिक ७१ रन जोडे । उनले ४७ बलमा ३ चौका र ६ छक्का प्रहार गरे । दोस्रो विकेटका लागि लोकेश र मार्टिन गप्टिलले ६२ रनको महत्वपूर्ण साझेदारी गरे । गप्टिलले १७ बलमा ६ चौकाको सहयोगमा २८ रन जोडे ।

गप्टिल दुर्गेश गुप्ताको बलमा बोल्ड आउट भए । पहिलो ओभरको अन्तिम बलमा रामोन्स सिमोण्डसको बलमा विराटनगरका ओपनर इस्मात आलाम रनको खाता नखोल्दै आउट भए । बसिर अहमदले २३ बलमा चौका र छक्काको सहयोगमा ४० रन जोडे । बसिर दुर्गेशको बलमा बेन कटिङबाट क्याच आउट भए ।

बसिरलाई १५औँ ओभरको अन्तिम बलमा १७ बलमा २८ रन बनाएको अवस्थामा साद विन जाफरको बलमा सन्दीप जोराले क्याच मिस गरे । राजेश पुलामीले १० बलमा ४ रन जोडे । राजेश साद विन जाफरको बलमा कट एन्ड बोल्ड भए । राजेश आउट भए लगत्तै क्रिजमा आएका निकोलस कीर्तनलाई दुर्गेशले पहिलो बलमा नै बोल्ड आउट गराए । प्रतिस जिसी ३ बलमा ६ रन बनाउँदै गुप्ताको बलमा बोल्ड आउट भए

क्रिस सोलले ४ बलमा नट आउट १४ रन बनाए । लुम्बिनीका लागि दुर्गेशले ३ तथा साद विन जाफर र रामोन सिमन्सले समान २ तथा विवेक यादवले १ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९१ रनको बलियो योगफल तयार गरेको थियो ।

लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । उनले २९ बलमा ४ चौका र २ छक्का प्रहार गरे । लामो सटको प्रयासमा रोहित राजेश पुलामी मगरको बलमा बाउन्ड्रीमा प्रतिस जिशीबाट क्याच भए । टोम मुर्सले १७ बलमा ३१ चौका र ३ छक्काको सहयोगमा ३० रन जोडे । दुई रन लिने चक्करमा मुर्स रन आउट हुन पुगे ।

पहिलो विकेटका रुपमा आउट भएका आशुतोष घिरैयाले १३ बलमा २ चौका र १ छक्काको सहयोगमा १५ रन जोडे । आशुतोष सिंगल लिने धुनमा रन आउट हुन पुगे । अर्जुन साउदले १९ बलमा १७ रन बनाए । अर्जुन इस्मात आलामको बलमा बोल्ड आउट भए ।

सन्दीप जोराले १३ बलमा १२ तथा साद विन जाफरले १३ बलमा १५ रन जोडे । जाफरलाई विराटनगरका कप्तान सन्दीप लामिछानेले गप्टिलद्वारा क्याच आउट गराए । त्यसको दुई बलपछि नै बेन कटिङ सन्दीपको बलमा इस्मात आलामबाट रन आउट भए ।

विवेक ७ बलमा ३ छक्काको सहयोगमा १९ रनमा नट आउट रहे । विराटनगरले अतिरिक्तमा २९ रन खर्चिएको थियो । विराटनगरका लागि इस्मात आलम, कप्तान सन्दीप र राजेश पुलामी मगरले समान १ विकेट लिए । विराटनगरले लुम्बिनीका ४ खेलाडीलाई रन आउट गरेको थियो ।

आजै भएको पहिलो खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्समाथि ३ विकेटको जित हासिल गरेको थियो । काठमाडौंले दोस्रो खेलमा पहिलो जित हात पार्दा कर्णालीले लगातार दोस्रो हार बेहोरेको हो । एनपिएलमा बिहीबार पनि दुई खेल हुनेछ । पहिलो खेल पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबीच हुनेछ भने दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ ।

प्रतिक्रिया